PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोरङमा एक साताको लागि निषेधाज्ञा जारी : निषेधाज्ञामा के गर्न हुने, के नहुने?



फूलमाया पुरी

मोरङमा एक साताको लागि निषेधाज्ञा जारी : निषेधाज्ञामा के गर्न हुने, के नहुने?

विराटनगर : कोरोना संक्रमण थप फैलन नदिन मोरङका सबै स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा गरिएको छ। विराटनगर महानगरपालिकासहित मोरङ जिल्लाभर एक साता निषेधाज्ञा गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए।

प्रजिअ निरौलाका अनुसार बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। बैठकले यसअघि विराटनगरसहित मोरङका ४ स्थानीय तहमा ५ दिने कडा निषेधाज्ञा गरेको थियो। तर, हाल जिल्लाभर गरिएको निषेधाज्ञामा भने केही खुकुलो प्रावधान राखिएको छ।

संक्रामक रोग ऐन, २०२० अनुसार भदौ १० गते राति १२ बजेदेखि भदौ १६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।

जसमा मध्यान्न १२ बजेसम्म बजार खुल्ला गर्न दिने र त्यसपछि सबै बन्द गर्ने निर्णय भएको छ। तर, गुद्रीसहितका तरकारी हाट बजार भने सञ्चालन गर्न नपाउने प्रजिअ निरौलाले बताए।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको र हालसम्म मोरङमा एक हजार चार सय जना संक्रमित देखिएका छन् भने १४ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।

त्यसो त निरन्तर लकडाउन र निषेधाज्ञाले दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्ने न्यून वर्गीय व्यक्तिहरुको जीवनयापनमा कठिनाई भइरहेकोले जीवनयापनलाई सहज गर्दै जाने र कोरोनाको जोखिम बढाउने कार्य गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्ता छन् निषेधाज्ञामा गर्न हुने र नहुने :

  • अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवामा बाहेकका सवारी सञ्चालन नगर्ने।
  • खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, डेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल(व्यवसाय सञ्चालकले ग्राहकहरुको तापक्रम नाप्ने, २ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने तथा नेपाल सरकारबाट जारी भएको सुरक्षा मापदण्ड, जनस्वास्थ्य मापदण्ड, उद्योग व्यापार आपूर्ति सम्बन्धी मापदण्ड लगायत अन्य मापदण्डहरु समेतको पालना गरी अर्को सूचना नभएसम्मका लागि दिउँसो १२ बजेसम्म मात्र पसल सञ्चालन गर्ने। अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु शनिवार पूर्ण रुपमा बन्द गर्ने तर औषधि पसलहरु नियमित रुपमा सञ्चालन गर्ने।
  • होटेल तथा रेस्टुरेन्टले अनलाइन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयं आएर प्याकिङ गरी लैजाने टेक अवे विधिलाई प्रयोग गरी सञ्चालन गर्ने। होटेलमा भेटघाट तथा जम्मा हुने गरी सेवा प्रदान गर्न नपाउने।
  • सैलुन, ब्युटीपार्लर, गुद्री बजार, हटिया, सब्जीमण्डी, जिमखाना, कभर्ट हल हाललाई सञ्चालन नगर्ने
  • दैनिक रुपमा गरिने नित्य पुजा(प्रार्थना बाहेकका धार्मिक तथा साँस्कृतिक कार्यहरु, मेला, चाडपर्व, जात्रा, हाट(बजार, महोत्सव, भेला तथा अन्य सामूहिक गतिविधिहरु गर्न गराउन नपाउने।
  • सबै सरकारी कार्यालयरनिकायहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी राखी अत्यावश्यक सेवा मात्र प्रदान गर्ने।
  • उद्योगहरुले नेपाल सरकारबाट निर्धारित वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड, जनस्वास्थ्य मापदण्ड, यातायात मापदण्ड लगायत अन्य मापदण्डहरु समेतको पालना हुने गरी उद्योग सञ्चालन गर्ने।
  • जिल्लाभरीको कुनैपनि स्थानमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडु नगर्ने। अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरुलाई बजारमा खरिद(बिक्री गर्न लगायतका अन्य काममा घरबाहिर आवतजावत गर्न नदिने।
  • आइसीपीबाट हुने निकासी, पैठारी र नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम छिमेकी मित्रराष्ट्र भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिक बाहेक अन्य आवागमन गर्न नपाउने।
  • आइसीपीबाट आएका मालबाहक ट्रकलाई उद्योग परिसर बाहेक बाटोमा अन्यत्र नरोक्ने। उद्योगमा अनिवार्य रुपमा निसंक्रमण गर्ने।
  • अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्न, मूल्यबृद्धि गर्न, जम्माखोरी, लुकाउने वा आपूर्ति अवरोध गर्न नपाउने।
  • सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पासबाहेक अन्य कुनै पनि जिल्लाको सवारी साधन यस जिल्लाभित्र प्रवेश गर्न नपाउने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell