काठमाडौं : झापामा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि गोली चलेको छ। गोरु काटेको अभियोगमा समातिएका व्यक्तिलाई म्याद थपका लागि अदालत लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो। झडपमा दुबै पक्षका केही घाइते भएका छन्।
झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि स्थानीय आक्रोशित बनेका थिए।
नियन्त्रणमा लिएकालाई विर्तामोड ल्याउने क्रममा स्थानीयको समूहले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको जानकारी दिएको छ।
‘म्याद थप गर्न लैजाने क्रममा अवस्था बुझ्न गएका प्रहरीमाथि आक्रमण तथा गाडी तोडफोड भएपछि हवाइ फायर भएको हो,’ जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले भने।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड गोली प्रहार गरेको थियो। झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन्। त्यस्तै, एक स्थानीय गम्भीर घाइते भएका छन्। स्थानीय ३८ वर्षीय रसिकुल आलम घाइते भएका हुन्।
