भारतसँग सीमा जोडिएको प्रदेश २ का जिल्लाहरुमा तैनाथ सशस्त्र प्रहरी बलको बीओपीका नयाँ कमाण्डरहरूलाई कोभिड- १९ रोकथाम एवम् सुरक्षा परिचालनमा निभाउन पर्ने भूमिकाबारे जानकारी दिइएको छ। बुधबार लाइभ स्ट्रिमिङमार्फत् सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, कार्य तथा सीमा सुरक्षा विभागका एआईजी रामशरण पौडेल र बाहिनीपति डिआईजी कृष्णभक्त ब्रम्हचार्यले उनीहरुलाई निर्देशन दिएका हुन्।
प्रदेश २ कोभिड-१९ का कारण सर्वाधिक प्रभावित प्रदेश हो। त्यसैले संक्रमण र निषेधाज्ञाको चपेटामा परेका त्यहाँका जनतासँग संयमित भइ व्यवहार गर्ने एआईजी पौडेलले निर्देशन दिएका छन्। उनले छिन्नमस्ता बाहिनीमा उपस्थित कमाण्डरहरुलाई सीमामा हुने आवतजावतमा कडाई गर्न समेत निर्देशन दिएका छन्।
‘खुल्ला सीमामा आम नागरिकको आवतजावत बल पुर्वक रोक्नु समस्याको समाधान होईन। नागरिकमा कोरोना संक्रमण त्यसको असर र सम्भावित क्षतिका बारेमा चेतना जगाई स्वस्फूर्त रुपमा आफै रोकिने व्यवस्था मिलाउनुस्’, उनले भने।
.jpg)
कार्यक्रममा छिन्नमस्ता बाहिनीका डिआईजी कृष्णभक्त ब्रम्हचार्यले सीमामा खटिने नयाँ कमाण्डरहरुलाई चुनौतिपुर्ण समयमा कुनै पनि प्रकारको विवाद नआउने गरी कार्यसम्पादन गर्न निर्देशन दिए। साथै सीमापारबाट हुने अपराध,लागुऔषध तथा हातहतियारको अवैध ओसारपसार र राजश्व छली हुने तस्करीजन्य क्रियाकलापलाई नियन्त्रणका लागि खट्न समेत निर्देशन दिए।
भने,’दशकौं देखि सीमामा निर्वाध आवतजावत गरिरहेका दुवै देशका नागरिकलाई हामीले ६ महिना देखि रोकिरहेका कारण उहाँहरु हामीसँग रिसाउनु भएको हुनसक्छ। उहाँहरूको रिसलाई मुस्कानले जित्नुस्। भद्र अवरोधसँगै महामारी र संक्रमणको सम्भावयता बोध गराउनुहोस्।‘
प्रदेश सरकारले परिक्षणको दायरा फराकिलो बनाएसँगै त्यहाँ संक्रमण पहिचान हुनेको संख्या बढ्दो छ। कोरोना सचेतना बढाउँदै केन्द्र, प्रदेश तथा स्थानीय सरकारद्धारा जारी गरिएका निषेधाज्ञा पालना गराउने र सीमामा हुने निर्वाध आवागमनलाई नियन्त्रण तथा रोकथामका लागि खटिएका सुरक्षाकर्मीबीच पनि संक्रमण फैलिएको छ।
.jpg)
प्रदेश २ मा हालसम्म पीसीआर परिक्षण गरिएका १ हजार २ सय ९३ सशस्त्र प्रहरी मध्ये ८१ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै १६ जना संक्रमण मुक्त भइ क्वारेन्टाइनमा छन्। ६५ जना आइसोलेसनमा रहेका छन्।
सशस्त्र प्रहरीले प्रदेश २ को २० स्थानमा ५ सय ५१ बेड क्षमता रहेको क्वारेन्टाइन समेत निर्माण गरेको छ। महामारी नियन्त्रणकै लागि आवश्यक परे सीमा ईलाकामा आवत जावतको अनुगमन गर्न प्रदेश सरकारसँगको समन्वयमा प्राप्त ८ वटा ड्रोन समेत परिचालित गरिने बताइएको छ।
यस्तै, भारतसँग सीमा जोडीएका जिल्लाका १ सय ३३ वडाहरूमा सम्बन्धित वडाका वडा अध्यक्षको अध्यक्षतामा गठित सीमा निगरानी समितीको ‘सुरक्षा नागरिक समन्वयात्मक सहभागिता अभियान’मा थप कडाई गरिने सशस्त्र प्रहरीले जनाएको छ।
.jpg)
छिन्नमस्ता बाहिनीले कोरोनासँग सम्बन्धित सूचना, असर तथा अवस्थाका बारेमा अध्यावधिक रहन एवम् सुरक्षा परिचालनको रणनीतिक योजना तय गरी सोही अनुरुप परिचालन प्राथमिकता निर्धारण गर्न जिल्लाका प्रत्येक गण र बाहिनीमा ‘क्राइसिस रेस्पोन्स सेल’ खडा गरी कार्य गर्दै आएको छ।
आर्थिक वर्षको गत १ महिनामा आचरणविरुद्ध कार्य गर्ने ५ अधिकृत १ जुनियर अधिकृत र ९ अन्य दर्जा गरी १५ जनालाई कारवाही गरिएको पनि छिन्नमस्ता बाहिनीले जनाएको छ।
