PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

४ जना बैंकका कर्मचारीसहित सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि



एम बम

४ जना बैंकका कर्मचारीसहित सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा नौ सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १५, टीकापुर नगरपालिकाका तीन र एक जना स्थानीय तह नखुलेका महिलालाई संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन, कृष्णपुरका दुई र बेल्डाँडीका एक जनामा संक्रमण पुष्टि भएको छ।

उता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको छ। ९१ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका दुवै जना अछामका हुन।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ८३ पुगेको छ।

४ जना बैंकका कर्मचारी पनि संक्रमित

पछिल्लो पटक सर्वजनिक गरिएको तथ्यांक अनुसार प्रदेशमा ४ जना बैंकका कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

धनगढीमा शाखा रहेका सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो।

यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित ग्लोबल आइएमई बैंकमा कार्यरत तीन जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। डडेल्धुरामै गरिएको परीक्षणमा बैंकमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको हो।

गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टका अनुसार ३६ वर्षीय महिला, २६ र ३३ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। उनीहरुमध्ये एक जना गोदावरी नगरपालिकाको वडा नम्बर १ का, एक जना धनगढीका र एक जना कञ्चनपुरका हुन्। अहिले तीनै जना होम आइसोलेसनमा रहेको बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell