PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना हटस्पट काठमाडौँ: १० दिनमा थपिए दुई हजारभन्दा बढी संक्रमित



सहयोग रञ्जित

कोरोना हटस्पट काठमाडौँ: १० दिनमा थपिए दुई हजारभन्दा बढी संक्रमित

काठमाडौँः उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा उपत्यकाको तीन जिल्लामा समुदाय स्तरमा नै कोभिड १९ संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको छ। लकडाउन खुकुलो भएयता चहलपहल सुरु भएको उपत्यका गएको एक हप्तादेखि फेरि शान्त बनेको छ।

संक्रमण थप फैलिनबाट रोक्न भन्दै काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ ४ गतेदेखि निषेधाज्ञा लागू गरेका थिए। तर, संक्रमणको दर बढ्दै गएपछि प्रशासनले उपत्यकामा थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। अब भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा कायमै रहने छ। तर संक्रमणको अवस्था घट्ने हालै नरहेकोले निषेधाज्ञा त्यसपछि अन्त्य हुने सम्भावना पनि कमै रहेको बताइन्छ।

१० दिनमा थपिए २ हजारभन्दा बढी संक्रमित   

उपत्यकामा लकडाउन खुकुलो भएयता कोरोना संक्रमितको संख्या बढ्दै गएको थियो। लकडाउन अन्त्य भएपछि बाहिरबाट मानिस आउने क्रम बढेसँगै संक्रमणको जालो फैलियो। जस कारण यात्रा विवरण नभएका स्थानीयमा समेत संक्रमण देखिन थाल्यो।

साउनमा बढेको संक्रमणको रफ्तार भदौको १० दिनमा नै उच्च विन्दुमा पुग्यो। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भदौ १० गतेसम्म उपत्यकामा तीन वटै जिल्लामा गरी कूल ४ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ। 

उपत्यकामा नै गत वर्ष माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित पहिचान भएको थियो। ७ महिनाको अन्तरालमा उपत्यकामा सबैभन्दा बढी संक्रमित पछिल्लो १० दिनमा थपिएका छन्।

माघ ९ देखि असार ३२ गतेसम्म उपत्यकामा मा १ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको थियो। गएको १० दिनमा मात्रै २ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ। यस अनुसार उपत्यकामा भदौ १ देखि १० गते सम्ममा कूल संक्रमितको ५० प्रतिशत भन्दा बढी संक्रमित पहिचान भएको छ।

हाल उपत्यकाको तीन वटै जिल्लामा ४ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमा काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित छन्। काठमाडौँमा हालसम्म ३ हजार १८५ जनामा संक्रमण देखिएको छ। यस्तै, ललितपुरमा ५१० जनामा संक्रमण देखिँदा भक्तपुरमा ३२४ जनामा संक्रमण देखिएको छ।

कहिले कति थपिए?

काठमाडौँ उपत्यकामा पहिलो संक्रमित पहिचान भएको ७ महिनापछि भदौ १० गते हालसम्म सबैभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँमा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै ७७ जिल्लामध्ये काठमाडौँ ३ हजारभन्दा बढी संक्रमित हुने एक मात्र जिल्ला भएको छ। काठमाडौँमा भदौ १० गतेसम्म ३ हजार १८५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। काठमाडौँ जिल्लामा सबैभन्दा बढी संक्रमित काठमाडौँ महानगरमा रहेका छन्।

यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म ललितपुरमा ५१० जना र भक्तपुरमा ३२४ जनामा संक्रमण देखिएको छ।

उपत्यकामा भदौ १ गते १६८ जनामा संक्रमण देखिएको थियो। त्यसपछि भने संक्रमितको संख्यामा कमी आएको छैन।

उपत्यकामा १५ हजार संक्रमित!

उपत्यकामा हालसम्म ४ हजारभन्दा बढी कोरोना संक्रमित मात्र पहिचान भएका छन्। तर स्वास्थ्य मन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीका अनुसार उपत्यकामा करिब १५ हजार कोरोना संक्रमित रहेको हुन सक्ने अनुमान गरेका छन्।

उपत्यकाका मेयरहरूसँगको छलफलमा उनले भने,

‘काठमाडौँभित्र कम्तिमा १५ हजार संक्रमित रहेको हुनसक्ने अनुमान छ। हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुनसक्छ।’

तर उनले के आधारमा कोरोना संक्रमित १५ हजार हुन सक्छ भन्ने बारेमा भने खुलाएका छैनन्।

यता संक्रमितको अवस्था थपिँदै गएपछि उपत्यकाका नगरपालिका अहिले ‘एक्टिभ’ भएका छन्। हाल पहिचान भएका संक्रमितहरुको मध्यमबाट २८ हजारभन्दा बढी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम उपत्यकाका नगरपालिकाले गर्न लागेको उपत्यका नगर फोरमका सचिव एवं भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

हाल उपत्यकामा रहेका कयौँ नगरपालिकाहरुले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसेकेका छन्। तर कयौँले झुटो विवरण टिपाएको हुँदा ट्रेसिङमा समस्या भएको जनाइएको छ।

यस्तै,  नगरपालिकाहरुले धेरै संक्रमित पहिचान भएका क्षेत्रमा स्वास्थ्य मन्त्रालयको सहकार्यमा पीसीआर परीक्षण पनि सुरु गरेको छ। टोखा नगरपालिकाले त प्रत्येक वडामा १०० व्यक्तिको पीसीआर परीक्षण गर्ने निर्णय समेत गरिसकेको छ। उपत्यकाका अन्य नगरपालिकाहरुले पनि प्रत्येक वडामा पीसीआर परीक्षणको दायर फराकिलो बनाउन पर्ने माग उठ्दै आएको छ।

आइसोलेसन सेन्टर

काठमाडौँ उपत्यकामा संक्रमित बढेसँगै अस्पतालको कमी हुने भनेर स्वास्थ्य मन्त्रालयले नै जनाइसकेको छ। तर, १५ हजार संक्रमित हुनसक्ने अनुमान गरेको मन्त्रालयले हालसम्म उपत्यकामा नै कोभिड अस्पतालको संख्या बढाउन सकेको छैन। न त भेन्टिलेटर, आइसियुसँगै अन्य स्वास्थ्य सामाग्रीको संख्या नै बढाउन सकेको छ।

यता उपत्यकामा संक्रमण देखिएको पहिलो दिनदेखि बनाउन पर्ने माग उठेको आइसोलेसन सेन्टर र क्वारेन्टाइन अझै बनेको छैन। निषेधाज्ञापछि मात्रै केन्द्र, प्रदेश र स्थानीय सरकारले उपत्यकामा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।

ढिलै भए पनि तीनै तहका सरकारले राजधानी काठमाडौँ र उपत्यकाका अन्य जिल्ला ललितपुर र भक्तपुरमा देखिएको संक्रमणलाई गम्भीरतापूर्वक लिएको देखिन्छ। त्यसैले केही दिनयता उपत्यकामा आइसोलेसन सेन्टर बनाउनेदेखि अन्य स्वास्थ्य क्षमता बढाउने बारेमा विशेषगरि स्थानीय सरकारले काम गरिरहेको देखिएको छ।

तर याद रहोस्, काठमाडौँ उपत्यकाबाहिर पनि देश छ। काठमाडौँलाई हेर्दै गर्दा अन्य जिल्लाहरूमा समेत संक्रमणको अवस्था नियन्त्रण गर्न सरकार, प्रदेश र स्थानीय तहले प्रयास गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell