
खस्यौली : रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नम्बर १ स्थित लौसामा एकै घरका चार सहित २३ जनामा कोरोना संक्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ।
सीमा क्षेत्रका विभिन्न वडाको विपद् व्यवस्थापन समितिको बैठकपछि सूचना जारी गर्दै रेस्टुरेण्ट, होटेल, गाइभैसी किनबेच, खेल गतिविधि, ठेला, झोलापोका व्यापारी र आवतजावत गर्न रोक लगाइएको छ।
वडा नम्बर ११ का वडाध्यक्ष सनिल मरासिनीले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्य बन्द गरी सहयोग गर्न आग्रह गरका छन्। वडा नम्बर ११ को दक्षिण सीमामा पर्ने कञ्चन गाउँपालिका र पश्चिममा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना संक्रमण भएकोले सो वडाको गाउँ र टोल जोखिममा रहेका छन्।
नगरपालिकाको वडा नम्बर ८ को विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा कोरोना भाइरसको संक्रमण देखिएकोले कञ्चन गाउँपालिकाको सीमामा पर्ने शान्तिनगर टोलमा रहेका सबैलाई होम क्वारेन्टाइइनमा बस्न निर्देशन गरेको छ।
सो वडाका वडाध्यक्ष रामशरण न्यौपानेले आज सूचना जारी गरी बाँसगढी टोल संस्थामा रहेको बाँसगढी बजार क्षेत्रलाई बन्द गरिएको बताएका छन्। नगरपालिकाको वडा नम्बर ९ को वडास्तरीय विपद् व्यवस्थापन समितिले कञ्चन गाउँपालिका वडा नम्बर १ स्थित लौसामा कोरोना संक्रमण देखिएकाले छिमेकी गाउँपालिकाबाट आवजावत गर्न रोक लगाएको छ।
वडा नम्बर ९ का वडाध्यक्ष डोलराज भण्डारीले आज सूचना जारी गर्दै होटेल, खाजा घर, मासुजन्य पसल पसल पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ। नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष डिलाराम बेल्वासेले आज सूचना जारी गर्दै संक्रमित क्षेत्र हुँदै आवतजावत गर्न रोक लगाइएको बताएका छन्। भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालकमा समेत कोरोना पुष्टि भएपछि सैनामैनामा पनि त्रास बढेको छ।
सो गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ मा होम क्वारेन्टाइनमा बसेकामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमित १८ देखि ४५ वर्षसम्मका छन्। संक्रमणसँगै गाउँपालिकाको वडा नम्बर १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ। रुपन्देहीका विभिन्न स्थानीय तहमा मंगलवार मात्रै ६९ कोरोना संक्रमित फेला परेका थिए।