PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

निषेधाज्ञामा पनि काठमाडौं उपत्यकामा किन बढिरहेको छ संक्रमण?, कसरी थामिएला जोखिम?



प्रकाश भण्डारी

निषेधाज्ञामा पनि काठमाडौं उपत्यकामा किन बढिरहेको छ संक्रमण?, कसरी थामिएला जोखिम?

काठमाडौं : चार महिना लामो लकडाउन साउन ७ मा हट्यो। लकडाउनकै बेला कोही बाध्यताले त कोही बाहना बनाएर काठमाडौं आउजाउ गरिरहे। तर, लकडाउन नै हटेपछि भने काठमाडौं उपत्यका आउनेको संख्या ह्वात्तै बढ्यो।

उपत्यकाको चहलपहल बढेसँगै कोभिड-१९ संक्रमणको ग्राफ पनि बढदो क्रममा छ। संक्रमण व्यापक हुन थालेपछि उपत्यकामा संक्रमण नियन्त्रण बाहिर जाने भन्दै भदौ ३ मा निषेधाज्ञा गरियो। तर, निषेधाज्ञापछि मात्रै बुधवारसम्म १ हजार ६ सय ७९ जना संक्रमित उपत्यकामा थपिएका छन्। हालसम्म उपत्यकामा ४ हजार ७९ जना संक्रमित छन्। निषेधाज्ञा अघिसम्म २३ सय ४० जना मात्रै उपत्यकामा संक्रमित थिए।

सरकारले फेरि एक हप्ता (भदौ १७) सम्मका लागि निषेधाज्ञा थप गरेको छ।

निषेधाज्ञाकै बेला पनि बढ्दो संक्रमण

निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा झण्डै दैनिक २ सय संक्रमित थपिइरहेका छन्। उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा संक्रमित थपिने दर उच्च छ। बुधवार रातिदेखि गरिएको निषेधाज्ञाको पहिलो दिन बिहीवार उपत्यकामा २ सय जना संक्रमित थपिएका थिए। त्यो पछिल्लो दिन शुक्रवार १ सय ८२ र शनिवार १ सय ६० जना संक्रमति थपिएका थिए। आइतवार १ सय ६६, सोमवार २ सय ४४ र मंगलवार २ सय ३२ जनासंक्रमित थपिएका थिए। बुधवार संक्रमित संख्या बढेर ३ सय १ पुगेको छ। हाल सम्म देशभर ३४ हजार ४ सय १८ छ भने १ सय ७५ जनाको मृत्यु भएको छ।

किन बढ्यो संक्रमण?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिले देखिरहेको संक्रमित निषेधाज्ञाअघि नै संक्रमण भएको ब्यक्तिहरु हुनसक्ने बताए। लकडाउन खोलेपछि मानिसहरुको चहलपहल बढ्दा अहिले संक्रमित संख्या बढेको उनको भनाई छ।

'लकडाउन खोल्ने बितिकै मानिसहरु एकै पटक बाहिर आए। त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन,' उनले भने।

जनस्वास्थ्यका मापदण्ड पालना नभएमा संक्रमण केही समयका लागि रोकिने र फेरि पिकमा पुग्ने खतरा हुने उनले बताए। निषेधाज्ञा प्रभावकारी भए नभएको कम्तीमा पनि दुई हप्तापछि मात्रै थाहा हुने पुनको भनाई छ।

'निषेधाज्ञा कस्तो रह्यो भनी थाह पाउन पनि दुई हप्ता कुर्नुपर्छ। १४ दिनसम्म त पुरानै संक्रमण देखिने भो नि, ' उनले भने। तर, दुई हप्तापछि पनि संक्रमित संख्यामा कमी नआएमा निषेधाज्ञाकैबीच पनि संक्रमण फैलिएको हुने उनले बताए।

पुनले लकडाउन खोल्दा जनस्वास्थ्यका मापदण्ड पालनाबारे समीक्षा नभएको बताए। निषेधाज्ञा भनेर सरोकारवाला निकाय ढुक्कसँग बस्न नहुने उनको सुझाव छ। जति धेरै जनस्वास्थ्यका मापदण्ड पालना गरियो त्यति नै निषेधाज्ञा सफल हुने उनले बताए।

लकडाउन र निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

म्याइक्रोबायोलोजिष्ट प्रा डा प्रकाश घिमिरेको लकडाउन पछि गर्नैपर्ने काममा सरकार चुक्दा संक्रमण बढिरहेको धारणा छ। घिमिरे लकडाउन र निषेधाज्ञाको भरमा संक्रमण नरोकिने दाबी गर्छन्।

'लकडाउन पछि जे गर्नुपर्ने हो त्यो नभएपछि संक्रमण बढेको हो। ३ हप्तासम्म लकडाउन या निषेधाज्ञा ठीकै हो। त्यसपछि के गर्ने भन्ने प्लान नै छैन,' उनले भने। घरका एक जनलाई संक्रमण भएको भएमा निषेधाज्ञाकै बेला पनि उसले परिवारमा संक्रमण सार्ने भएकाले संक्रमण उल्लेख्य मात्रामा नघट्ने उनको तर्क छ। सरकारले हालसम्म समुदयामा संक्रमण नभएको बताए पनि घिमिरेले भने समुदायमा संक्रमण फैलिनै सकेको र अब मृत्युदर दिनदिनै बढ्ने बताए। 'मन्त्रालयका ड्राइभरका परिवारमा देखिएको छ, संक्रमण त्यो समुदाय संक्रमण नभएर के हो? घरका परिवारको त ट्राभल हिस्ट्री छैन नि। समुदायमा संक्रमण छैन भन्नु बेकारको कुरा हो,' उनको तर्क छ।

गर्नैपर्ने काम पनि गरिरहेको छैन सरकारले

सरुवा रोग विशेषज्ञ पुनले लकडाउन र निषेधाज्ञा गर्न सरकार अग्रसर भए पनि जनस्वास्थ्यको मापदण्ड पालनमा गराउनमा भने चुकिरहेको बताए। लकडाउन गर्ने र ह्वातै खोल्ने सरकारको निर्णय आत्मघाती भइरहेको उनको भनाई छ।

'म के चाहन्छु भने यसअघिको जस्तो निषेधाज्ञा हटाउँदा पनि सबै मानिसहरु एकैपल्ट बाहिर आउने र भिडभाड गर्ने काम नहोस,' उनले भने।

घिमिरेले केस ट्र्याकिङ र ट्रेसिङमै सरकार चुकिरहेको बताए। राम्रोसँग ट्रेसिङ नहुदा नै अहिले संक्रमणको दर बढिरहेको उनी बताउँछन्। उनी रिपोर्ट ढिलो आउँदा पनि संक्रमण ब्यापक भएको बताउछन्। आजको आजै रिपोर्ट नदिएसम्म संक्रमण फैलिनै रहने उनको तर्क छ।

'५ दिनपछि रिपोर्ट आउँछ। यसले एकदमै संक्रमण बढिरहेको छ। संक्रमित मानिस त निर्वाध घुमफिर गरिरहेको हुन्छ नि रिपोर्ट नआउन्जेलसम्म,' उनले भने।

समुदायमा संक्रमण गइसकेकाले अब मृत्युदर बढ्नसक्ने भएकाले सरकारले तत्कालै स्वास्थ्य संस्थाहरुको क्षमता बढाउनुपर्ने बताए। हालसम्म उल्लेख्य मात्रामा स्वासप्रस्वासमा सहयोग गर्ने उपकरण जडान नभएकाले पनि अब मृत्युदर बढ्न सक्ने उनको भनाई छ।

'आइसीयू, भेन्टिलेटर त धेरै संख्यामा थप्नु पर्छ। समुदायमा संक्रमण गइसकेको छ। अबको मुख्य चुनौती भनेको बुढापाका र दीर्घ रोगीलाई बचाउनु हो,' उनले भने।

परीक्षण बढाउनै पर्छ, नभए सधैभरी लकडाउनको अवस्था

जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले अहिलेको परीक्षण अपर्याप्त भएको बताए। १० हजारको हाराहारीमा मात्रै परीक्षण गरेर संक्रणको अवस्था पत्ता लाउन नसकिने उनको भनाई छ।

'अरु देशमा दैनिक लाखौंको संख्या परीक्षण भइरहेको छ। भारतमै पनि दैनिक १० लाख भन्दा धेरै छ। परीक्षण जति धेरै भयो त्यति नै हामीले संक्रमणको अवस्था थाह पाउन सक्छौं,' उनले भने।

लकडाउन र निषेधाज्ञा जति लब्याए पनि परीक्षण नबढाउँदा संक्रमण फैलिने सम्भावना कायमै रहेकाले परीक्षण बढाएर निगरानी गर्नुको विकल्प नभएको उनको तर्क छ। परीक्षण नबढाएमा सधैभरी लकडाउनमै बस्ने स्थिति रहने उनले चेतावनी दिए।

'कति दिनसम्म लकडाउनमा बस्ने। यसको भ्याक्सिन नबनेसम्म लकडाउनै गर्न पनि सम्भव छैन होला। अहिले संक्रमण बढिरहनुको कारण के पनि हो भने संक्रमित नै निकै ढिलो गरी पत्ता लाग्छ र उसले धेरैलाई सारी सक्छ,' उनको तर्क छ। निषेधाज्ञाका बेला संक्रमितहरु जतिलाई पत्ता लगाइसक्नुपर्ने उनले बताए। संक्रमितलाई पत्ता लगाएर उपचार गर्नतर्फ ढिलाई गरेमा संक्रमण दर बढ्दै जाने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell