PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बत्ती निभेपछि उठ्ने प्रश्न : आज कुलमानलाई के भएछ?



पहिलोपोस्ट

बत्ती निभेपछि उठ्ने प्रश्न : आज कुलमानलाई के भएछ?

  • विमल गौतम -

चार वर्ष पहिले नेपाली समाजलाई कुलमानका बारेमा जानकारी थिएन। अहिले कुलमान घिसिङ को हुन् भनेर हरेक परिवारलाई थाह छ। कुलमान भन्ने नाम 'उज्यालो' भएको छ। कुलमानका कारणले नेपाल उज्यालो भएको छ। आजकल बिजुली गएमा मानिसहरू भन्ने गर्छन् - 'आज कुलमानलाई के भएछ?'

२०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका कुलमानको कार्यकाल यो २०७७ सालको भदौ २९ गतेसम्म मात्रै छ। त्यसपछि यो पदमा को आउने हुन्? जनतको मनमा कौतुहल रहेको छ। बहुसंख्यक जनता कुलमानलाई उक्त पदमा नदोर्‍याइए फेरि पनि लोडसेडिङको पीडा भोग्नुपर्ने पो हो कि भन्ने भयले त्रस्त छन्। एउटा सामान्य कर्मचारी जनताको मनमा बस्न सफल हुनु स्वभाविक नै हो तर नेपालको सन्दर्भमा सामान्य भने होइन। नेपालमा प्राय हरेक क्षेत्रमा नकारात्मक टीका टिप्पणी भइरहेको हुन्छ तर कुलमान मात्रै यस्तो शब्द (नाम) बनेको छ जुन सुन्नासाथ नेपाली मनमा सकारात्मक उर्जा प्रवाह हुन्छ।

कुलमान त्यो जादूको नाम हो जसले वर्षौँदेखि चलेको र वर्षौँसम्म चल्ने आँकलन गरिएको लोडसेडिङको पीडा आफू नियुक्ति हुनासाथ नियन्त्रण गर्दै विस्तारै शून्यमा झारे। बिजुली नदिने तर न्यूनतम २० युनिटसम्म खपत गर्दा लाग्ने शुल्क भने उठाएर जनतालाई ठग्ने नेपाल विद्युत् प्राधिकरणलाई सही बाटोमा ल्याउने काम कुलमानले नै गरे। लोडसेडिङको तालिका बनाउने प्रबन्ध निर्देशक होइन विद्युत् प्राधिकरणको विस्तार र विकासको योजना बनाउने योजनाकार हुन् कुलमान। कुलमानले नै लोडसेडिङका कर्मचारीलाई इज्जतिलो संस्थान विद्युत प्राधिकरणका कर्मचारी बनाए। कुलमान कुशल व्यवस्थापक ठहरिएका छन्।

जादू भए झैँ लोडसेडिङ अन्त्य हुन्छ भनेर हामी कसैलाई लागेको थियो त? पक्कै थिएन। हामीसँग नकारात्मक उर्जा थियो। हुँदैन, कसैले गर्न सक्तैन, सबै खानै पल्केका छन्, नेताले गरेनन् आदि भनिरहन्थ्यौँ। कुलमानले लोडसेडिङ हटाउने भन्दा हामीले पत्याएनौँ। उनले तिहारमा काठमाडौमा लोडसेडिङ नगर्ने भने। हामीलाई गफ लाग्यो। पछि कार्यान्वयन हुँदा अचम्म मान्यौँ। अनि विश्वास जाग्यो। विद्युत् असमान वितरण भएको रहेछ। कुलमानले त्यो असमान वितरणको अवस्थालाई अन्त्य गरे।

साँझको समयमा ज्यादा विद्युत् खपत हुने समय हो‍। यो समयमा उनले उद्योगलाई विद्युत् दिन कटौती गरेछन्। त्यसो भएपछि सर्वसाधारणले आफ्नो आवश्यक समयमा बिजुलीको उपभोग गर्न पाए‍। विस्तारै जनताले विद्युत् खपत बढाउने उपकरण इन्भर्टर आदिको प्रयोग गर्न छोडे। यसले गर्दा ‘पिक आवर'मा हुने विद्युत् खपत् घटेर गयो। समग्रमा विद्युत् उपभोग बढ्दै गयो। विविध उपकरण चार्ज गर्न खर्च हुने विद्युत् बचत पनि भयो। उद्योगहरू पनि ‘पिक आवर'भन्दा अन्य समयमा निर्बाध सञ्चालन हुने अवस्था बनेछ। अपुग बिजुली भारतबाट खरीद गरियो। कतै लिइयो र कतै दिइयो। नयाँ विद्युत् गृहको निर्माणमा पनि उनी तदारुक भएर लागे। विस्तारै लोडसेडिङको अन्त्य भयो। कुलमानले लोडसेडिङ अन्त्य गर्न सबैभन्दा पहिले नेपालीसँग भएको नकारात्मक उर्जा फालेर फालेर सकारात्म उर्जा भरिदिएछन्।

एकजना कर्मचारी लागि परेर काममा लागिदिने हो भने सानो काम गरेर ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण हुन् कुलमान। कुलमानको नियुक्ति गरेर तत्कालीन सरकार र उर्जामन्त्रीले नेपालीलाई ठूलो गुन लगाएकै हुन्। कुलमान एक्लैले यो उज्यालो अभियान पूरा गरेका होइनन्। कुलमानसँगै लागि परेको उनको समूह र प्राधिकरणका कर्मचारी धन्यवादका पात्र हुन्। कुलमान असल अभिभावक बने र अन्य कर्मचारीहरूले असल अभिभावकत्व स्वीकार गरे। नाम चर्चामा नआए पनि कुलमान जत्तिकै स्तुत्य छन् कुलमानसँग सहकार्य गर्नेहरू पनि। मार्गदर्शन अभिभावकको नै हुने भएकाले गुणदोष कुलमानकै हुने भयो। त्यसैले कुलमान चर्चामा आए भनेर कसैले मुन्टो बटार्नु आवश्यक छैन।

कुलमानले सम्मान पाउनु विद्युत् प्राधिकरण र यसका सम्पूर्ण सदस्यले सम्मान पाउनु हो। कुलमानको नाम आइरहँदा प्राधिकरणका सम्पूर्ण कर्मचारी खुसी हुन्छन् भन्ने मेरो बुझाइ छ किनकि कुलमानको सफलतामा सबै कर्मचारीको योगदान छ। कुलमानका प्रस्तुतिहरू हेर्दा उनी सामूहिक भावनालाई महत्त्व दिने व्यक्ति हुन् भन्ने बुझ्न पनि गाह्रो छैन। आफूले पाएको जसको हिस्सा उनले प्राधिकरणका सदस्यसँग पनि बाँडिरहेको देखिन्छ।

विद्युत् प्राधिकरणजस्ता सरकारको लगानीमा थुप्रै संस्थान, बोर्ड र उद्योग रहेका छन्। हामीलाई तिनका प्रमुखको नाम थाह छैन। सरकारको लगानीमा रहेका कतिपय उद्योगहरू बन्द भइसकेछन् र कतिपय रुग्ण अवस्थामा रहेका छन्‍। कुशल व्यवस्थापकको अभावमा नै त्यस्ता सरकारी लगानीका संस्थान र उद्योगको बेहाल भएको स्पष्ट छ। घाटामा गएको प्राधिकरणलाई कुलमानले सुधारेको नजिर अन्य त्यस्तै प्रकृतिका सङ्गठनका लागि उदाहरण बनेको छ तर ती सङ्गठनका निर्लज्ज प्रबन्धकहरू संस्थान घाटामा गए पनि कुर्सीमा सुतेर तलब मात्रै होइन कुर्सी ‌ओगटेबापत उपहार (कमिसन, घुस)समेत पड्काइरहेका छन्। यदि त्यसो नभएको भए त्यस्ता संस्थानमा सुधार नहुनुको कारण के त? बहाना अनेक हुनसक्छन्। विद्युत् प्राधिकरणमा पनि बिजुलीको उत्पादन कम भएकाले नै लोडसेडिङ गर्नुपरेको कारण दिइन्थ्यो तर यो त पूर्ण सत्य त होइन रहेछ। ब्यवस्थापक राम्रो हुने हो भने राम्रो हुनेरहेछ भन्ने प्रमाण त देखियो। अब ती निकम्मा ब्यवस्थापकलाई टिप्तै फाल्दै गर्न सरकारलाई कुन काँडेतारले छेकेको रहेछ?

पहिलोपटक प्रधानमन्त्री बनेको अनुभव पाएपछि प्रचण्डले काम गर्न खोज्दा आफूलाई कर्मचारीको असहयोग भएको कुरा बताएका थिए। उनको प्रसङ्ग के थियो, उनै जानून् तर एउटा कर्मचारी इमानदार भए धेरै हुन्छ भन्ने उदाहरण कुलमान हुन्। कर्मचारीले चाहे मात्रै पनि धेरै हुने रहेछ। त्यसो भए विभिन्न कार्यालय सम्हालेर बसेका कर्मचारीका नेतृत्व के गरिरहेका छन् त? अन्दाज गर्न सकिन्छ तर स्पष्ट उत्तर पाउन गाह्रो छ।

कोरोनाको महामारी चलिरहेको छ। भारतबाट धेरै नेपालीहरू जोखिमपूर्ण यात्रा गरेर नेपाल आए। धेरै युवाहरू नेपाल आए, अब नेपालमा बसेर नै केही गर्नुपर्छ भन्ने आदर्श भावनाका समाचारहरू पनि छाए। धेरै भागमा धान रोपिएका समाचार पनि आए। अहिले नेपालमा र नेपालभन्दा भारतमा कोरोना आतङ्क झन् उच्च भएर गएको छ। कयौँ दिन खाली खुट्टा हिँडेर आफ्नो घर फर्किएका तिनै नागरिक खेतीले मात्रै खान नपुग्ने भएकाले जोखिम मोलेरै मजदुरी गर्न भारततर्फ जान थालेका खबर आएका छन्। यो अवस्थालाई कसरी हेर्ने? धानका लागि मल किन्न पनि क्रमस सरकारले कृषिमा लगानी गरेकै छ, अझ अनुदान पनि दिएको छ। कृषि प्राविधिकहरूको दरबन्दी पनि छ। जमिन पनि छ। कोरोना महामारीले गर्दा देखिएको अवस्था नियाल्दा कृषिको लगानी अन्य कुनै मजदुरीभन्दा दिगो हुने पनि धेरैले बुझेका छन्। तब किन मानिसहरू जोखिम मोलेर नै भारत जाँदै छन् त? उत्तर पनि सहज छ, हेरेर मर्नुभन्दा छेरेर मर्नु नै जाती।

मलाई कसैले सुनाएका थिए कि काठमाडौँमा कोही यस्ता कृषिविज्ञ छन् जो अवकाश पाउने समयसम्म पनि काठमाडौँ छाडेर अन्त कतै गएकै छैनन्। कुनैबेला चिया विकास बोर्ड धनकुटामा नयाँ नियुक्ति भएर गएका एकजना आफन्त थिए। उनले त्यहाँको हाकिमलाई चियामा काम गर्ने मजदुरलाई अलिकति पैसा बढाएर दिनुपर्छ, खुशी भएर काम गर्छन्, अनुसन्धान पनि बढाउनुपर्छ भन्ने सल्लाह दिएछन्। हाकिमले पैसा नभएको उत्तर दिएछन्। अर्को वर्ष उक्त कार्यालयमा पैसा बढेर आएछ र ती कर्मचारीले फेरि त्यही प्रस्ताव राखे। हाकिमले हुँदैन भन्ने उत्तर दिएछन्। भनेछन्, 'माथि हाकिमसा'बले यसपालि तपाईँहरूकोमा अलि पैसा धेरै पारिदिएको छु। हामीलाई पनि हेर्नु है भनेका छन्। यस पटक त झनै सकिन्न।'

अहिले बोयर जातको बोका भन्दै डेढदेखि दुईलाखमा गाउँगाउँमा बाँड्ने काम भएको छ। वास्तवमा एउटा बोका वा खसीको मूल्य कति हुनुपर्ने हो? कसले निगरानी गर्ने? दुई लाख पर्ने बाख्राबाट कति आम्दानी हुन्छ? यो कति जायज हो? म बस्ने नगरपालिकाले पावरटिलरको अनुदानका लागि निवेदन माग गरेको थियो। एक लाख कृषकले जुटाउनु पर्ने र बाँकी नगरपालिकाले अनुदान दिने। मेरो परिवारबाट निवेदन दिइएको थियो। छनोट प्रक्रिया के थियो, थाह भएन। दिइएका कागजात चेकजाँच गर्न, खेती गरिरहेको कि नगरेको भन्ने बुझ्न नगरपालिकाबाट कोही आएको पनि थाह भएन। पछि त्यही विषयमा नगरपालिकाले अनियमितता गरेको भन्ने खबर पढेँ। नगरपालिकाले दिनासाथ कुनै एक अनुदान लिने व्यक्तिले अर्कैलाई दुई लाखमा बेचेछन्। उनलाई एकलाख चोखो फाइदा भयो। यी सबै उदाहरणमा यदि सम्बन्धित कर्मचारीले आफ्नो इमान्दारी देखाएको भए कुलमानकै जतिको चर्चामा नआए पनि सकारात्मक काम पक्कै हुने नै थियो। यी केही उदाहरण मात्रै हुन्। स्थानीय निकायदेखि माथिसम्मै कर्मचरीको निकम्मापनको कारण नै देश यो अवस्थामा पुगेको जाहेर नै छ। असल अभिभावकको अभावमा तड्पिएर बसेका थुप्रै असल कर्मचारीहरू पनि नभएका होइनन् तर त्यस्ता कर्मचारी कुनैबेला कुलमान नदेखिएझैँ नदेखिएका मात्रै हुन्। अब अरू थुप्रै कुलमानहरू अगाडि आउनु र ल्याइनु आवश्यक छ।

हाम्रो दिमागमा सरकारी कार्यालय (सरकारी लगानी वा स्वामित्वभएका संस्थान उद्योग समेत) र सरकारी कर्मचारी भन्नासाथ अनियमिता र भ्रष्टाचार भन्ने आइहाल्छ। कुलमानले काम पनि हुन्छ भन्ने बुझाउन सफल भएका छन्। त्यसैले पनि होला मानिसहरू अर्को कार्यकाल पनि प्राधिकरणमा कुलमानकै नेतृत्व चाहिरहेका छन्। कुलमानका पक्षमा सामाजिक सञ्जालमा जनदबाब आइरहेको छ। अहिले नेपाल विद्युत प्राधिकरणमा कुलमानकै नेतृत्वमा बनेका केही योजनाहरू रहेकाले अर्को कार्यकालका लागि पनि कुलमान नै नेतृत्वमा रहनुपर्छ भन्ने विचार अनुपयुक्त पनि होइन। अर्को आउँदा कस्तो आउने हो थाह छैन तर कुलमान नै रहिरहे अहिले भइरहेको अवस्थाबाट प्राधिकरण तल झर्दैन भन्ने विश्वास पनि छ जनसमुदायको। यो विचार सही पनि हो। बल्ल तङ्ग्रन लागेको प्राधिकरणलाई अरू आएर फेरि बिगार्लान् भन्ने चिन्ता हुनु स्वभाविक नै हो। यी सबै विषय विचार गर्दा कुलमानले नै प्राधिकरणमा निरन्तरता पाउनुपर्छ भन्ने मतलाई नै समर्थन गर्नु जरुरी देखिन्छ। यो भनिरहँदा अरू योग्यहरूले पनि अवसर पाउनुपर्छ भन्नेमा पनि हामी सचेत रहनुपर्छ। कुलमानलाई शुभकामना, साथमा सबै नेपालीलाई।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell