PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

निको भएको डेढ महिनामै नर्सलाई दोस्रो पटक कोरोना संक्रमण



राधेश्याम पटेल

निको भएको डेढ महिनामै नर्सलाई दोस्रो पटक कोरोना संक्रमण
फाइल फोटो

वीरगंज : वीरगंजमा निको भएकी एक जना ३६ वर्षीया नर्स डेढ महिनाकै अवधिमा दोस्रो पटक संक्रमित भएकी छिन्।

नारायणी अस्पतालको आइसियू वार्डमा कार्यरत स्टाफ नर्सको भदौ १० गते राति दोस्रो पटक संक्रमित भएको पुष्टि भएको हो। उनी डेढ महिना पहिले नारायणी अस्पतालमा काम गर्ने क्रममा पनि संक्रमित भई एक सातापछि निको भएकी थिइन्।

उनका ४० वर्षीय श्रीमान स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक हुन्। श्रीमानश्रीमती स्वासथ्यकर्मी भएको हुदाँ कोबाट कसमा संक्रमण फैलियो भन्ने यकिन गर्न गाह्रो छ। उनीहरुको एक १४ वर्षीय छोरा पनि संक्रमित भएका छन्। तीनै जना नारायणी अस्पतालकै क्वाटरमा बस्दै आएका थिए।

दोस्रो पटक संक्रमित नर्सले भनिन्, ‘मलाई आफैं विश्वास लागेको छैन, कसरी दोस्रो पटक पोजेटिभ भएकी छु, पहिले लक्षण थिएन भने अहिले छाती दुख्ने समस्या छ।’

विश्व स्वस्थ्य संगठनका अनुसार एक जना संक्रमित निको भएको तीन महिना अर्थात ९० दिनसम्म दोस्रो पटक संक्रमित हुने सम्भावना एकदमै न्यून रहेको विभिन्न अध्ययनको अधारमा बताउँदै आएको थियो। तर अहिले निको भएको संक्रमित डेढ महिनाकै अवधिमै दोस्रो पटक संक्रमित हुदाँ नेपालमै यो पहिलो घटना भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए। ‘हामीलाई आफै अचम्म लागेको छ, कोरोना सम्बन्धी अहिले धेरै तथ्य बाहिर आउन बाँकी छ,’ उनले भने, ‘निको भएका र सामान्य व्यक्ति कुन बेला को ठीक छ, कुन बेला संक्रमित भइहाल्छ, कुनै ग्यारेन्टी भएन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell