PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

गीतमार्फत् विचार जन्माउन खोज्दा पक्राउ परे इरानी गायक : ‘महिला कलाकारलाई समेट्नु गल्ती’



पहिलोपोस्ट

गीतमार्फत् विचार जन्माउन खोज्दा पक्राउ परे इरानी गायक : ‘महिला कलाकारलाई समेट्नु गल्ती’

इरानी संगीतकर्मी मेहदी राजावियान पक्राउ परेका छन्। महिला कलाकारहरू सँग सहकार्य गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो।

दुई साता अघि मात्र ३० वर्षीय मेहदीलाई अदालत लगिएको थियो। त्यहाँ उनको पछिल्लो गीतबारे सोधपुछ गरिएको थियो। न्यायाधीशले उक्त गीतले देह व्यापारलाई प्रोत्साहित गरेको ठहर्‍याए।

उत्तरी इरानको सारीका यी गायकलाई त्यस समय परिवारले धरौटीमा रिहा गर्‍यो।

बीबीसीका अनुसार उनको आउँदो एल्बमको काम पनि रोकिएको छ। कारण - महिला गायकहरूको आवाज रेकर्ड गर्न नपाउनु। यस विषयमा मेहदी राजावियानले बीबीसीमा अन्तर्वाता दिएका थिए। लगत्तै उनी पक्राउ परेका हुन्।

‘यो शासन मेरो आवाज दबाउन चाहन्छ। उनीहरू चाहन्छन् म गाउनै छाडिदिउँ,’ उनले भने। उनी हाल अदालतको अन्तिम निर्णय पर्खिरहेका छन्।

यस विषयमा इरानको संस्कृति एवं इस्लाम निर्देशिका मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन।

इरानको सजाय संहिता अनुसार कानुन अधिकारीहरूले ‘अभद्र’ र ‘अनैतिक’ ठहराएको खण्डमा गायक तथा नर्तकहरूलाई कारवाही हुन्छ। महिलाहरूलाई सैद्धान्तिक रूपमा एकल प्रस्तुति दिने लिखित अनुमति छ। तर, व्यवहारिक रुपमा अझै कडाइ गरिन्छ।

राजावियानलाई पहिलो पटक सन् २०१३ मा तीन महिनाका लागि कारावासमा आँखामा पट्टी बाँधेर राखिएको थियो।

पछि उनलाई तेहरानको कुख्यात इभिन जेलमा ६ वर्ष राख्न आदेश दिइएको थियो। अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै उक्त निर्णयविरुद्ध अनशन बसेपछि उनलाई छाडिएको थियो।

रिहाईपछि पनि उनका गतिविधिलाई निगरानी गरिएको थियो।

हाल राजावियान आफ्नो कलाका कारण कानूनी लडाईमा एक्लो छन्। उनका कलाकार साथीहरू उनको पक्षमा बोल्न डराउँछन्। यसै महिनाको सुरुवातमा महिला संगीतकर्मीको पक्षमा लेख्ने पत्रकारसमेत पक्राउ परेका छन्। उक्त लेखमा राजावियानको पनि भनाइ समावेश गरिएको थियो।

‘अब मलाई थप कलाको निर्माण नगर्न दवाव छ। यसको अर्थ मेरो पूर्ण मृत्यु हुनु हो। शासकहरूको योजना नै मलाई मार्नु हो,’ उनले भनेका छन्।यस्ता दवावले उनलाई निरुत्साहित भने पारेको छैन। गत वर्ष उनले टर्कीमा सोनी संगीतको साथमा एक नयाँ एल्बम विमोचन गरे। गोप्य रूपमा रेकर्ड गरिएको उक्त एल्बममा सिरिया, यमन, जोर्डन, लेबनान र इराकसहित अन्य १२ देशका करिव एक सय कलाकारहरूले स्वर दिएका छन्। तीमध्ये धेरै कलाकारले राजावियानलेजस्तै कानूनी समस्या भोग्नु पर्‍यो।

उनले इरानका अधिकारीहरूको ध्यानाकर्षणका लागि चालेको कदम थियो त्यो। उनी चाहन्थे एल्बममा मध्यपूर्वी देशहरूका महिला गायकहरूको आवाज समेटियोस्।

‘इरानी सरकार किन यति डरायो?’, उनले प्रश्न गर्दै भने, ’सायद कलाले उनीहरूलाई सोच्न बाध्य बनाउँछ। उनीहरू सोचसँग डराउँछन्।‘

गीतले मनोरञ्जन बाहेक सन्देश र दर्शन बोक्नु पर्ने तर्क राख्छन् उनी।

‘म चाहन्न कि शासकहरूले मेरो कलाबाट आनन्द उठाउन्। म त संगीतमार्फत् पीडा अभिव्यक्त गर्न चाहन्छु। दर्शन बुझाउन चाहन्छु। मानवताको पक्षमा उभिन चाहन्छु,’ उनले भनेका छन्। आफ्नो उद्देश्य पूरा गर्न आफू महिला कलाकारहरूलाई समेट्न र सयौं पटक जेल जान तयार रहेको बताउँछन् उनी।

‘जब मलाई विचारसहितको गीत आवश्यक लाग्छ म निर्माण गर्छु,’ उनले भने।

गत मेमा महिला गायक नेजर मोजाजामलाई पनि परम्परागत पोशाक लगाएर पर्यटकहरूका लागि गीत गाएको आरोपमा अदालत धाउन पर्‍यो। केही महिना अघि संगीतकार अली घमसारीलाई तेहरानमा कन्सर्टको लाइन अपबाट महिला गायकलाई हटाउन नमानैकै कारण ‘अर्को सूचना नआएसम्म’ प्रदर्शनका लागि रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell