PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

मेस्सी भित्र्याउने होडमा म्यानचेस्टर सिटी अगाडि



पहिलोपोस्ट

मेस्सी भित्र्याउने होडमा म्यानचेस्टर सिटी अगाडि

विश्व खेलकुदमा पछिल्ला दिनमा सबैभन्दा चासो लिइएको विषय हो मेस्सीले अब के गर्लान्? उनी बार्सिलोना छाड्न इच्छुक भएको विवरण नै सार्वजनिक हुँदा उनले बार्सिलोना छाडे कहाँबाट खेल्लान् - मुख्य चासो यही छ।

बार्सिलोना छाड्ने मनस्थितिमा रहेको भन्दै मेस्सीले ब्युरोफ्याक्स क्लबमा पठाएसँगै विभिन्न क्लबहरुले उनलाई भित्र्याउन प्रयास गरिरहेका छन्, जसमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी अगाडी छ।

म्यानचेस्टर सिटी अगाडि हुनुको केही मुख्य कारणहरु छन्। पहिलो त उनी र इङलिस क्लबबीच यस विषयमा संवाद भइसकेको छ। दोस्रो अहिले म्यानचेस्टर सिटीको प्रशिक्षकमा पेप ग्वार्डओला छन् जोसँग मेस्सीले आफ्ना सफलताका दिनमा सहकार्य गरेका थिए। त्यस्तै उनका साथी सर्जियो अग्युरो पनि त्यहीँ छन्।

यद्यपि यस बीचमा अरु क्लबहरु नजोडिएका भन्ने चाहीँ होइनन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), इटालियन क्लब इन्टर मिलान, इङलिस क्लब म्यानचेस्टर युनाइटेड तथा उनको पुरानो अर्जेन्टिनी क्लब नेवेल्स ओल्ड बोइज छन्। यसबाहेक कतारी क्लब अल सादले पनि प्रयास गरिरहेको बताइएको छ।

पिएसजी पनि मेस्सीका लागि केही कारणले आकर्षण बन्न सक्छ। जस्तैकी उनी नेइमार र एन्जेल डी मारियालगायतका खेलाडीसँग उनी खेल्न रुचाउने छन्। यद्यपि फ्रेन्च क्लबका लागि यो सजिलो हुने छैन किनभने उसले यसअघि नै पनि अधिक लगानी गरिसकेको छ।

त्यस्तै इटालियन क्लब इन्टरमिलान उनको आकर्षणमा नपर्न सक्छ किनभने सिरि ए मा भन्दा लिग वानमा वा प्रिमियर लिगमा प्रतिस्पर्धाको लागि उनलाई राम्रो मौका मिल्नेछ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको पनि सम्भावना कम भएको बताइन्छ किनभने हालसम्म उनको युनाइटेडसँग त्यस्तो गम्भीर छलफल चलेको छैन। त्यस्तै अर्जेन्टिनी क्लबमा फर्कन पनि उनको गम्भीर छलफल नभएको बताइन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा त बार्सिलोनाले नै उनलाई छाड्न चाहेको छैन।

‘बार्सिलोनाले मेस्सीलाई पठाउने भन्ने सोचेको छैन। हामी चाहन्छौं: उनी यहीँ रहुन्,’ बार्सिलोनाका नयाँ स्पोर्ट्स डाइरेक्टर रमोन प्लान्सले बुधवार मिडियहरुसँग भनेका थिए।

अझै मेस्सी र क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउबीच संवादको सम्भावना छ। यद्यपि दुबै पक्षले यसको जानकारी भने दिएको छैन।

बार्सिलोनाले अझै पनि उनलाई क्याम्प नाउमै राख्नको लागि प्रयास गर्ने छ नै। यद्यपि उनी निस्किने नै भएमा म्यानचेस्टर सिटी त्यसको नजिकमा देखिन्छ जसले मेस्सीलाई लिन ठूलो लगानी गर्नुपर्नेछ।

इएसपिएनको एक रिपोर्टका अनुसार सिटीले मेस्सीसँग प्रिमियर लिगमा ३ वर्षे करारको तयारी गरेको बताइएको छ।

मेस्सीले बार्सिलोना छाड्न चाहेको अफिसियल विवरण च्याम्पियन्स लिगमा बार्सिलोनाले लज्जास्पद हार ब्यहोरेको ११ दिनपछि आएको हो। जहाँ च्याम्पियनसमेत बनिसकेको बायर्न म्युनिखसँग बार्सिलोनाले ८-२ ले पराजय भोगेको थियो। यो सिजन बार्सिलोनाले बिना कुनै उपाधि टुंगाएको थियो।

६ पटकको बालोन डि ओर जितेका मेस्सीले सन् २००४ मा बार्सिलोनामा डेभ्यु गरेका थिए। उनको क्लबसँगको कन्ट्राक्ट सन् २०२१ मा सकिँदैछ। उनको आउट क्लज ७ सय मिलियन युरो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell