PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते



पहिलोपोस्ट

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सुन्दरहरैंचा ६ नम्बर वडास्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाइते भएका साइकल पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पश्चिमबाट पूर्वतर्फ आइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल चालक सुन्दर हरैंचा बस्ने २८ वर्षीय नवराज बराइली, साइकल पछाडी सवार ४५ वर्षीय डम्बर बहादुर श्रेष्ठ घाइते भएका थिए। त्यस्तै, मोटर साइकल चालक बाराको सिमरा ८ का ४५ वर्षीय राजकुमार पुलामी पनि घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको र साइकल पछाडि सवार श्रेष्ठको मृत्यु भएको जिप्रका मोरङले जानकारी दिएको छ। घाइते साइकल चालकको अवस्था गम्भीर भएको र मोटर साइकल चालक सामान्य अवस्थामा उपचाररत रहेको पनि जिप्रका मोरङले जनाएको छ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell