
खोटाङ : कोरोना संक्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालबाट रिफर गरिएकी एक किशोरीमा कोरोना संक्रमण देखिएपछि यहि भदौ ९ गतेदेखि बन्द गरिएको अस्पतालको नियमित सेवा आज साँझ संक्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पुनः सञ्चालनमा ल्याइएको हो।
यहि भदौ २ गते जिल्ला अस्पताल भर्ना भएकी किशोरीको जिल्लामा उपचार सम्भव नभएपछि भदौ ४ गते थप उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल रिफर गरिएको थियो। काठमाडौंको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पाटन अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएकी किशोरीको भदौ ९ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
झाडापखाला तथा ज्वरोका कारण बिरामी परेर रिफर गरिएकी किशोरीलाई कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालले सूचना जारी गर्दै आकस्मिकबाहेक आफ्ना सबै सेवा बन्द गरेको थियो। तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट निस्किएर काठमाडौंमै रहेकी संक्रमित भनिएकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ।
किशोरीको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीसहित ५६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका कार्यालय प्रमुख रवीनकुमार फुयाँलले बताए। सबै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले सूचना प्रकाशन गरेर बन्द रहेको सेवा पुनः शुरु गरिएको जनाएको छ।