PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनलाइन डेलिभरी सेवामा प्रहरीको रोक, व्यवसायीको विरोध, भन्छन् ‘बन्देज लगाउनु समाधान होइन’



वसन्तराज उप्रेती

अनलाइन डेलिभरी सेवामा प्रहरीको रोक, व्यवसायीको विरोध, भन्छन् ‘बन्देज लगाउनु समाधान होइन’

काठमाडौँ: अनलाइनमार्फत अत्यावश्यक सामाग्री ढुवानी गर्ने कम्पनीलाई कारोबार गर्न प्रहरीले रोक लगाएकोमा व्यवसायीहरुले आपत्ति  जनाएका छन्। निषेधाज्ञाको अवस्थामा स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै उपभोक्तालाई सेवा दिँदै आएका कम्पनीमाथि बन्देज लगाउनु समाधान नहुने उनीहरुले दाबी गरेका छन्।

दैनिक घरायसी प्रयोजनका लागि आवश्यक सामाग्री ढुवानी गर्दै आएका कम्पनीका प्रतिनिधिलाई दिउँसो प्रहरीले रोक लगाएपछि अर्डर भइसकेका सामान उपभोक्तासमक्ष पुर्‍याउन नसकेको व्यवसायीले जनाएका छन्।

बिहीबार प्रहरीले एक्कासी ‘माथिको आदेश’ भन्दै डेलिभरीमा परिचालित जनशक्तिलाई रोक्ने, सञ्चालकलाई प्रहरी कार्यालयमा लाने, विभिन्न  कम्पनीको प्रमुखलाई कार्यालयमै आएर व्यवसाय बन्द गर्न निर्देशन दिएको व्यवसायीहरुले बताएका छन्।

‘सरकारले निषेधाज्ञाको सर्कुलर जारी गर्दाखेरि नै स्पष्ट गर्नुपर्थ्यो। अति आवश्यक सामाग्री ढुवानीका लागि बन्देज लगाउने निर्णय भएको थिएन। स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै हामी उपभोक्ताको सेवामा थियौँ। एक्कासी यसरी बन्देज लगाउँदा हामीभन्दा पनि उपभोक्तालाई अप्ठ्यारो सिर्जना भएको छ।’ फुडमाण्डूका ब्राण्ड मार्केटिङ सेल्स हेड श्यामरत्न मालीले भने।

हालको अवस्थामा पसलमा हुने भीडभाड भन्दा ई-कमर्समार्फत दैनिक उपभोग्य सामाग्री ढुवानी नै उपयुक्त रहेको बताउँदै उनले भने, ‘भीडभाड कम गर्नका लागि ई-कमर्समार्फत सामाग्री खरिद हुँदा संक्रमण नियन्त्रण हुनका साथै उपभोक्ताले सहजै सेवा पाइराखेका थिए। सेवा बन्देज लगाउनु समाधान होइन।’ उनले भने।

स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै डिजिटल माध्यमबाट गरिँदै आएको खाद्यान्न ढुवानी सेवामा एक्कासी रोक लगाउँदा अर्डर गरिएका सामाग्री ढुवानी गर्न नसकिएको फुड मारियोका सञ्चालक रोहित तिवारीले बताए।

‘कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सतप्रतिशत स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै उपभोक्तालाई सेवा दिँदै आएका थियौँ। अर्डर पेमेन्ट डिजिटल्ली हुनका साथै ढुवानी गर्ने कर्मचारीलाई पीपीई, मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सुरक्षा निर्देशिका अनुसार परिचालन गर्दै आएका थियौँ। यसरी उपभोक्ता लक्षित सेवा दिँदा पनि किन रोक लगाइयो भन्ने कुरा बुझ्न सकिएको छैन।’ सञ्चालक तिवारीले भने।

बिहीबार फुडमाण्डू, भोज डिल्स, फुड मारियो, युजी केक लगायत विभिन्न ई-कमर्समार्फत होम डेलिभरी सुविधा दिँदै आएका कर्मचारी, सञ्चालक लगायतलाई नेपाल प्रहरीले सेवा बन्द गर्न निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell