PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मेलम्ची नकुरी हितिमा प्राण भर्न यसरी जुटेका छन् याद्दवलालहरु



अमित मचामसी

मेलम्ची नकुरी हितिमा प्राण भर्न यसरी जुटेका छन् याद्दवलालहरु

काठमाडौँको प्यास मेटाउन मेलम्ची ल्याउने वाचा नगर्ने सरकार सायदै कम छन्। तर वर्षौँ बित्यो, मेलम्चीको सपना अधुरै छ। यो वर्ष पनि मेलम्चीको पानी घर-घरमा पुर्‍याउने सपना पूरा भएन। सायद अर्को साल पनि कुनै कारण आइलाग्ला।

एकातिर काकाकुल काठमाडौँ उपत्यकामा सरकार मेलम्ची कुर्दैछ। अर्कातिर केही युवा पानीको प्राकृतिक स्रोत संरक्षण र उत्खननमा लागिरहेका छन्। ती मध्ये एक हुन् याद्दवलाल कायस्थ।

काठमाडौँका रैथाने कायस्थ सरकारले मेलम्ची ल्याउँछु भनेर भनेर वर्षौँ बिताएको तर त्यति नै समय हिति (ढुंगेधारा) संरक्षणमा लगाएको भए अहिलेको जस्तो पानीको हाहाकार नहुने मत राख्छन्।

कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउन र हालको निषेधाज्ञामा पनि उनी हितिसहित अन्य सम्पदा संरक्षणमा लागिरहेका छन्। उनलाई साथ दिइरहेका छन् सम्पदाको महत्त्व बुझेका युवायुवतीले।

याद्दवलाल भन्छन्, ‘लकडाउनको समयमा पानीको महत्त्वबारेमा हामीले झन् धेरै बुझ्यौँ। यदि हिति संरक्षण गर्न सकिएको भए पानीको लागि तिर्खाउनु पर्दैन थियो होला।’

याद्दवलालसहित अन्य साथीहरू हाल भक्तपुरमा हिति र फल्चा जस्ता सम्पदा संरक्षणमा लागिरहेका छन्।

भन्छन्, ‘मेलम्ची आउँछ मात्रै भन्यो। तर हितिको संरक्षण गर्न पानीको निकासलाई सहज बनाउन राज्यले पहल नै गरेन। त्यसैले लकडाउनको समयमा आँखा खुल्छ कि भनेर पनि हामी लागिपरेका छौँ।’

+++

याद्दवलाल काठमाडौँमा जन्मिए। असन वरिपरि हुर्किए। नेवा: समुदाय बाहुल्य क्षेत्रमा जात्रा पर्वबीच बजिरहने बाजाले उनलाई आफ्नो संस्कृति र सम्पदाप्रति लगाव बढायो।

स्वयम्भूको आनन्दकुटीमा पढेका उनी घरबाट विद्यालयसम्म हिँड्दै जाँदा बाटोमा धेरै हिति देख्थे। त्यस बेलासम्म प्रायः हितिहरुमा पानी बगिरहन्थ्यो। मनमोहक लाग्यो उनलाई त्यो दृश्य। साथै घरबाहिर निस्कने बित्तिकै देखिने सम्पदाले उनलाई यस क्षेत्रको संरक्षणका लागि प्रेरणा दियो।

एसएलसी दिएपछि सेनामा भर्ती भए। एक दशक सेवा गरे। पछि स्वेच्छिक अवकाश लिए।

त्यसपछि के गर्ने। सम्पदामा नै उनको ध्यान गयो। सम्पदा संरक्षणसहित सम्पदा मैत्री व्यवसाय गर्ने निधो गरे र खोले सम्पदा मैत्री रेस्टुराँ पनि। रेस्टुराँमा आउने ग्राहकहरूलाई सम्पदाको बारेमा बुझाउने समेत गरे।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक विस्तारले काठमाडौँ उपत्यकामा रफ्तार लियो। धेरै घर भत्किए। सम्पदा मासियो। त्यस बेला सडक विस्तारविरुद्धको आन्दोलनमा उनी पनि सामेल भए।

+++

लगनखेलबाट सातदोबाटो जाने बाटोको बायाँ भागतिर बटुक भैरवको मन्दिर छ। अर्कोतिर सेनाको पेट्रोल पम्प। बाटो विस्तारको क्रममा मन्दिरको क्षेत्रलाई समेत भत्काउने तयारी गरियो। उक्त योजनाको स्थानीयले विरोध गरे। स्थानीयलाई सहयोग गर्न पुगे याद्दवलाल पनि। पछि सबैको मेहनतमा मन्दिरको अस्तित्व बचाउन सफल भए उनीहरू।

याद्दवलाल भन्छन्, ‘हामी सबैको प्रयासपछि सम्पदा जोगाउन सफल भयौँ। त्यसपछि यस्तो समस्या धेरै ठाउँमा होला भन्ने लाग्यो। त्यहीबाट मेरो सम्पदा आन्दोलन सुरु भयो।’

हिति आन्दोलनको सुरुवात

सडक विस्तार आन्दोलनकै क्रममा किमडोलमा पुगेको थिएँ उनी। त्यहाँ एउटा हिति देखे। त्यसलाई बचाउन स्थानीयसँग याद्दवलाल र अन्य साथी पनि लागे।

यता हिति बचाउन संघर्ष सुरु के गरिरहेका थिए उता सोह्रखुट्टे पाटी सडक विस्तारकै क्रममा भत्काइयो। त्यसको विरोधमा स्थानीयले नै आन्दोलन गरे। याद्दवलाल कायस्थसहित अभियन्ताहरूले पनि पाटी भत्काएकोमा विरोध गरे।

पछि आन्दोलन सफल भयो। फेरि सोह्रखुट्टे पाटी बन्ने सहमति भयो। त्यसका लागि करिब ३० लाखको बजेट पनि छुटेको याद्दवलाल बताउँछन्।। तर वडाको अगुवाइमा पहिला जहाँ पाटी थियो अहिलेको योजनामा त्यहाँ पाटी नबनाइकन अर्कै स्थानमा बनाइने निर्णय भयो। याद्दवलालसहित अन्यले त्यसको विरोध गरे।

‘वडाले जहाँ पाटी बनाउन लागेको थियो। त्यहाँ भोतुपाण्डे हिति थियो। नयाँ सोह्रखुट्टे हितिमाथि बनाउन लागेपछि हामीले विरोध गर्‍यौँ,’ उनी भन्छन्, ‘त्यसपछि पाटीसहित हिति बचाउने आन्दोलन सुरु भयो।’

किमडोलमा उत्खनन गरिएको हिति भने सेनाकै सहयोगमा संरक्षण गर्न सफल भएको उनी बताउँछन्।

हाल भोतुहिति निर्माण सम्पन्न भइसकेको छ भने नयाँ सोह्रखुट्टे पाटी निर्माण चरणमा छ।

जनसहभागिता आवश्यक

'अहिले सक्ने जति सबै सम्पदा संरक्षण गर्नेतर्फ लागेका छौँ। ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्वका सम्पदा संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ।'

'केही समयअघि मात्रै वसन्तपुरमा सेनाको नियन्त्रणमा रहेको फल्चालाई सर्वसाधारणको लागि खुल्ला गर्न सफल समेत भयौँ।'

'२५० वर्षअघिको फल्चामा सेनाले ६० वर्षदेखि प्रयोग गरिरहेको थियो। त्यहाँ सानो पसल सञ्चालनमा थियो। पछि हामीले निवेदन दियौँ। जुन प्रयोजनका लागि बनेको हो त्यो भएन भन्यौँ। उहाँहरूले पहिला आनाकानी गर्नुभयो। तरपछि फल्चा छोड्नुभयो। त्यसमा रंगरोगन गरेर हामीले सबैका लागि खुल्ला गरेका छौँ।'

'अहिलेसम्म संगठित समूह भने छैन। त्यो सम्भव पनि छैन। हामीले फेसबुकबाट फोन गरेर साथी भाइलाई बोलाउँछौँ। उहाँहरू आउनु पनि हुन्छ। मिल्नेसम्म मानिस आउनुहुन्छ।'

'एक दिन आउनुहुन्छ। तर भोलि उहाँहरू नै आउने सम्भावना रहँदैन। जे होस् साथी भाइ मिलेर जति सक्छौँ त्यति काम गरिरहेका छौँ।'

+++

लकडाउन होस् या निषेधाज्ञा अनुकूल समयमा याद्दवलाल र सम्पदा अभियानमा लागेका केही युवा भने सम्पदा संरक्षणमा लागिरहेका छन्। सुरक्षा सतर्कता अपनाउँदै बिहानै निस्कन्छन् र हिति, फल्चा लगायतका सम्पदा संरक्षण गरिरहन्छन्।

याद्दवलाल भन्छन्, ‘राज्यले सम्पदा संरक्षण गर्छु भनेर नीति त बनायो। तर कार्यान्वयन भएको छैन। जबसम्म सरकार आफैँले सम्पदा संरक्षण गर्दै आफूले बनाएका नीति कार्यान्वयन गर्दैन हामी यस अभियानमा लागि नै रहन्छौँ।’

रानीपोखरीमा पानी प्रवाह गर्ने हितिहरुको खोजी होस् कि दरबारमार्गमा रहेको स्वह्रा हिति संरक्षण याद्दवलाल अगाडि बढ्दै गएका छन्।

हात्तीसारमा समेत एउटा हिति रहेको प्रमाण भेटिए त्यहाँ पनि हिति उत्खनन गरिएको थियो। हाल निजी भइसकेको उक्त जग्गामा पुरातत्त्वकै संलग्नतामा उत्खनन पनि भयो। हिति नभेटिए पनि हिति रहेको अवशेष भेटिएको थियो। तर पछि पुरातत्त्वले उक्त क्षेत्रको फाइल नै बन्द गरेको उनी बताउँछन्।

‘धेरै ठाउँमा गयौँ। शेरबहादुरदेखि झलनाथसम्मकहाँ पुग्यौँ हिति बचाउन पर्‍यो भनेर। तर, निकै गाह्रो हुने रहेछ,’ उनी सुनाउँछन्।

हितिसहित अन्य सम्पदा संरक्षणमा लाग्दा चुनौती नआउने कुरै भएन। कतै स्थानीयको अवरोध त कतै प्रशासनको। कहिले भने आर्थिक पक्षमा प्रश्न। याद्दवलाल भने यी सबै सामान्य परिस्थिति रहेको सम्पदा संरक्षणमा पैसा बढी नलाने तर सहभागिता भने आवश्यक रहने मत राख्छन्।

‘असहज परिस्थिति छन्। किन यस्तोमा लागेको भन्ने पनि छन्। अलि थ्रेट पनि छ। पैसा कहाँबाट आउँछ पनि भन्छन्। कसले स्पोन्सर गरेको भनेर पनि सोध्छन्,’ यादव भन्छन्, ‘यहाँ स्वतःस्फूर्त रूपमा मानिसहरू आउने हुन्। कति न पैसा लाग्ने हो र एउटा खाजा खाने हो। पैसा भए खाइन्छ। नभए खाइन्न। खासै भन्ने हो भने सम्पदा संरक्षणमा धेरै पैसा लाग्दैन।’

याद्दवलालका अनुसार हालसम्म उनले सुरु गरेका सम्पदा संरक्षण अभियान धेरै खर्चिलो भएको छैन। हिति उत्खनन् नै गर्नुपरे चाहिँ केही बढी पैसा लाग्छ। त्यस बेला साथी भाइ र सम्पदा प्रेमीहरूले सहयोग गर्ने गरेको उनी बताउँछन्।

भन्छन्, ‘दाताहरू छन्। योगेश्वर अमात्य दाइले सम्पदा संरक्षणका लागि सहयोग गरिरहनुहुन्छ। हामी सबैलाई भनेर पारदर्शी भएर नै काम गरिरहेका छौँ।’

well done 👍 thank you 🙏🙏🙏🙏🙏

Posted by Yogeshwar Amatya on Thursday, August 27, 2020

उनले थपे, 'सम्पदा संरक्षणमा धेरै पैसा लाग्दैन। मानिसको मिहिनेत र सहभागिता महत्त्वपूर्ण कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell