काठमाडौं : झापामा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ।
बिहीवार रात ११ बजेतिर कमल गाँउपालिका वडा नम्वर ३ बस्ने ८४ वर्ष बृद्धको मृत्यु भएको हो। एक साता अघि कोभिड १९ पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहेका पुरुषको मृत्यु भएको हो।
'उहाँ प्रेसरको रोगी पनि हुनुहुन्थ्यो। उपचारको लागि केही समयदेखि अस्पताल गइरहनुभएको थियो। हिजो राति मृत्यु भएको जानकारी आयो,' कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्।
उनमा एक साता अघि बिर्तामोडको बीएण्डसी अस्पतालमा परीक्षण गर्दा कोभिड १९ संक्रमण देखिएको थियो। उनका कोरोना कहाँबाट सर्यो भन्ने ट्रेसिङ हुन सकेको छैन।
'उहाँ विरामी भएर अस्पताल उपचारमा गइरहनु भएको थियो। सायद अस्पतालबाट नै सरेको हुनुपर्छ,' अध्यक्ष काफ्लेले भनिन्।
बिहीवार मात्र देशभर कोभिड १९ संक्रमणको कारण ८ जना मानिसको मृत्यु भएको छ।
