PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बीपी प्रतिष्ठानमा झापा र मोरङका एक/एक जनाको मृत्यु



फूलमाया पुरी

बीपी प्रतिष्ठानमा झापा र मोरङका एक/एक जनाको मृत्यु

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जनाको मृत्यु भएको छ। एक ८४ वर्षीय पुरुष र ५६ वर्षीय महिलाको मृत्यु भएको हो। मोरङ बेलवारी वडा नम्बर ५ घर भएकी ५६ वर्षीय महिलाको आज बिहान सवा ३ बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

मृतक महिला मृगौला रोगी थिइन्। उनी उपचारको क्रममा अस्पताल पुगेपछि कोभिड १९ परीक्षण गर्दा भदौ ९ गते कोभिड १९ पुष्टि भएको थियो। अत्यधिक खोकी, सास फेर्न समस्या, ज्वरो आएर कोशी अस्पताल गएकी महिलालाई अस्पतालले बीपी प्रतिष्ठान धरान रिफर गरेको थियो।

'उहाँ ४/५ वर्षदेखि नै बिरामी हुनुहुन्थ्यो। पछिल्लो चरणमा मृगौलाको समस्या देखिएको रहेछ। एक साता अघि बिराटनगरस्थित मोरङ सहकारीमा उपचारका लागि गएका जानकारी छ। त्यहाँ मृगौला खराब भएकोले डायलसिस गर्नुपर्छ भनेपछि पाँच दिन अघि कोशी अस्पताल जानु भएको थियो,' बेलवारी नगरपालिका ५ वडा नम्बरका वडाध्यक्ष विश्वबन्दु बस्नेतले भने।

कोशी अस्पतालले भदौ ९ गते बीपी प्रतिष्ठान धरान पठाएको थियो। उनको कोशी अस्पतालमा नै पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको थियो।

परिवारका सदस्यमा श्रीमान् दुई छोरी एक छोरा बुहारी र नाती रहेका छन्। उनीहरुको आगामी आइतवार स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने वडाअध्यक्ष बस्नेतले जानकारी दिए।

त्यस्तै, बीपी प्रतिष्ठानमा उपचार गराइरहेका संक्रमित एक ८४ वर्षीय पुरुषको पनि मृत्य भएको छ। बिहीवार रात ११ बजेतिर कमल गाँउपालिका वडा नम्बर ३ बस्ने ८४ वर्ष बृद्धको मृत्यु भएको हो। एक साता अघि कोभिड १९ पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान धरानमा उपचारका लागि लगिएको थियो।

'उहाँ प्रेसरको रोगी पनि हुनुहुन्थ्यो। उपचारको लागि केही समयदेखि अस्पताल गइरहनुभएको थियो। हिजो राति मृत्यु भएको जानकारी आयो,' कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्।

उनी केही समयदेखि स्वास्थ्यमा समस्या देखिएर उपचारको लागि अस्पताल धाइरहेका थिए। विर्तामोडस्थित विएण्डसी अस्पताल समेत उपचारको लागि पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell