- फूलमान तामाङ -
बाँसखर्क : बिहीवार दिउँसो ४ बजे सिन्धुपाल्चोकको बाँसखर्क पुग्दा सिमसिम पानी परिरहेको थियो। बाटो हिलाम्मे र चिप्लो।
पहिरो पीडितलाई राहत दिनेहरुको आउजाउ देख्न सकिन्थ्यो।
जिल्लाकै पाँचपोखरी थाङपाल गाउँपालिका वडा ४ का वडाध्यक्ष ६३ वर्षीय रामबहादुर लामा पनि लिदी पहिरो पीडितका लागि दालचामलसहित नगद लिएर पुगेका थिए त्यहाँ।
बाटो अप्ठ्यारो देखिएपछि माथि डाँडामै ओर्ले लामा। लिदीका वडा अध्यक्ष प्रताप लामालाई बोलाएर राहत बुझाउन तम्सिए उनी।
म भने नीलो रङको पाल हालेको खर्कतिर ओर्लेँ।
ओरालो बाटो चिप्लोमात्रै होइन, खाल्डो उस्तै। पानीले बगाएर बाटोको स्वरुपै बिगारेको। खर्कमा लगभग सय भन्दा बढी पाल हालिएको रहेछ।
भूकम्पपछि बाँसखर्कमै बसाई, एक वर्षअघि पुगेका थिए लिदी
लिदी पहिरोले विस्थापित सुनमाया दोङ भन्दै थिइन्, 'हामी त पहिला पनि यहाँ आएर बसेका थियौं। यहाँको बासिन्दाले बस्न पाउँदैन भनेर हामलाई उतै धपाए।'
४० वर्षीया सुनमायाका अनुसार भूकम्पछि यहाँ आएर उनीहरुले जस्ताको टहरो बनाएका थिए। लिदीमै फर्कनु परेपछि टहरो पनि भत्काइयो। अहिले पालमै दिन बिताउनुपरेको छ।
अहिले उनीहरुको मुख्य समस्या खानाको समयमा हुने उनले बताइन्।
'केमा पकाएर खाने चुल्हो छैन, झुरझुर पानी पारिरहेको छ। दाउरा छैन,' सुनमायाले भनिन्, 'जस्ताको टहरो भएको छिमेकीको मा पालो कुरेर खाना पकाएर खानुपर्ने अवस्था छ।'
सुनमायाले चुल्हो नै सबैभन्दा ठूलो समस्या रहेको सुनाइन्।
उनको टेन्टभित्र चामल, म्याट, नुन, दाल, चिनी, साबुन, सोलर र भाँडाकुँडा यत्रतत्र छन्।
३२ वर्षे शेरबहादुर दोङले ओढ्ने, ओछ्याउने नभएको गुनासो पोखे। 'आफ्नो ठाउँमा पहिरो गयो। बिचल्ली भयो बाबु,' दोङका आँखा रसाए।
'गाईवस्तु लिदीमै छ। कोही त्यतै छन्,' उनले भने, 'ढुक्कले सास फेर्न पाएको छैन। परिवार कताकता पुगेको छ।'
भाग्दाभाग्दै सकिन्छ होला हाम्रो जीवन
प्रत्येक पालमा पीडितको नाम र नम्बर लेखिएको रहेछ। फुर्साङ दोङ लेखिएको पालभित्र पसेँ म।
१५ वर्षीय छोरा गुमाएको पीडाले उनी एकोहोरिएकी रहिछिन्। जेठानी, देउरानी पनि पहिरोमै पुरिए।
'हामी त भाग्दाभाग्दै मर्छौं होला। कति भाग्नु? थकिसकेँ,' फुर्साङले सुस्केरा हालिन्, 'एक वर्षअघि यतै थियौं। यहाँ बस्न पाउँदैन भनेपछि फेरि लिदीमै गएर बसियो। अहिले यस्तो भयो।'
उनको याचना छ सरकारसँग – 'ढुक्कले सास फेर्न पाउने गरी सुरक्षित ठाउँमा घर बनाइदिए हुन्थ्यो।'
त्यसो त नेताहरु आएर अनेकथरी आशा देखाएर फर्केका छन्। 'खै के गर्लान्? पहिला नै गुहारेको त सुनेनन्,' थोरै आशासहित प्रश्न गरिन् उनले।
४५ वर्षीय जुनमाया दोङ लौरो टेक्दै यताउति गर्दै थिइन्।

पहिरोमा घाइते भएकी हुन् उनी।
'म त बेहोस भएछु। माथिबाट घर भत्केर ढुङ्गाले थिचेछ। कतिखेर कसले निकाल्यो याद नै भएन,' पीडाकै बीच अनुहारमा मुस्कान भरिएको थियो उनको।
चिकित्सकले धेरै हिँडडुल नगर्नु भनेका छन्। तर, उनको मन भने मान्दैन।
'खोइ कता हड्डी भाँचेको छ रे! डाक्टरले नहिँड भनेको थियो। आफूलाई बस्नु मन लाग्दैन,' जुनमायाले भनिन्।
जुनमायाको श्रीमान लिदीमै छन् - खेती र गाईबस्तु हेर्न।
समस्या सहन बाध्य
लिदीबाट ११ घन्टा पैदल हिँडेपछि बल्ल पुगिन्छ बाँसखर्क। लिदीमा गाइबस्तु हेर्न र खेतीपाती धान्न आउजाउ भइरहन्छ।
बिस्थापितलाई अहिले सौचालयको खाँचो छ। कोभिड-१९ कहरमा सुरक्षाका उपायहरुको अभाव उस्तै छ। खानपिनको मात्र हैन ढुक्कले सुत्न सक्दैनन्। कारण हो झरी।
पालभित्र दाउरा बालेर खान पकाउन नमिल्दा, सुकेको दाउरा नहुनु समस्या बनेको छ। राहत वापत् ३ घर बराबर एक सोलार पाएका रहेछन्। घाम त्यति नलाग्दा त्यसले धान्न मुस्किल छ। अन्धकारमा नै बस्नुपर्ने अवस्था छ। सरकारले अझै २ महिना टेण्टमा बस्न भनेको छ उनीहरुलाई।
गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार सुरक्षित ठाउँ पहिचान गरी घर बनाइदिने अभियानमा छ सरकार। भन्छिन्, 'सबै सरकारसँग समन्वय हुन्छ। हामी सुरक्षित ठाउँमा घर बनाउने अभियानमै छौं।'
माटोभित्रै हराइरहेका छन् ६ जना
जिल्लाको जुगल गाउँपालिकास्थित वडा २ को लिदीमा गत साउन ३० गते पहिरो खस्दाधेरैले आफन्त र सम्पत्ति गुमाए।
पहिरोमा पुरिएर ३३ जनाको ज्यान गयो। ६ जना अझै बेपत्ता छन्। स्काभेटर लगाएर खोज्दा पनि नभेटिएपछि बगाएर खोलतिरै पुर्याएको हो कि भन्ने अनुमान छ स्थानीयको।
६ वटा स्काभेटर लगाएर खोज्दा पनि नभेटेपछि त्यहाँ खटिएको टोली फर्कने सुचना पाएको गाउँपालिका उपध्यक्ष सिर्जना तामाङले बताइन्।
लिदीमा पहिरोले घर बगाएपछि पीडितलाई जुगल गाउँपालिकाकै सेलाङस्थित बाँसखर्कमा स्थानान्तरण गरिएको छ।
