PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संक्रमणबाट बचौं पहिले, 'स्टार्ट अप' बिजनेसको नाममा अपव्याख्या नगरौं



विधुर ढकाल

संक्रमणबाट बचौं पहिले, 'स्टार्ट अप' बिजनेसको नाममा अपव्याख्या नगरौं

हिजो सामाजिक सञ्जालमा हल्लिखल्ली मचियो - वर्थ डे केक होम डेलिभरी गर्न हिँडेकालाई प्रहरीले पक्राउ गर्‍यो भनेर। 'स्टार्ट अप कम्पनी' मास्ने नियत राखेर धरपकड नै गर्‍यो भनेर सामाजिक सञ्जालमा रोइलो देखियो।

कार्यालय आउजाउ गर्दा हेरक दिन पारदर्शी पोलिथिनको झोलामा एकाध किलो तरकारी बोकेर हिँडेका मान्छेलाई प्रहरीले सडकमै बनाएको 'होल्डिङ सेन्टर'मा उभ्याइरहेको दृश्य देख्दा टिठ लागेन। तै पनि तिनीहरुलाई चेतावनी दिएर पठाइदिए त घरमा तरकारी पाक्थ्यो होला भन्ने चाहिँ लाग्थ्यो।

हिजोको सामाजिक सञ्जालमा देखेको रोइलो देख्दा मलाई विचरा भन्न चाहिँ मन लागेन। उनीहरुलाई राति बरु छाडिएछ। मान्छे छाडिए पनि लकडाउन उल्लंघन गरेकोमा कारवाही गर्नुपर्थ्यो, लकडाउन अवधिभर सवारी साधन नियन्त्रणमा राखेर।

अब कुरा गरौं होम डेलिभरीको। बाइकमा पछाडि बक्स बोकेर डेलिभरी गर्दै हिँड्नेलाई मात्र 'स्टार्ट अप' भन्ने हो भने साइकल र गाढामा घरघरमा बिहानबिहानै तरकारी डेलभरी गर्दै हिँड्ने खुद्रा ब्यापारी पनि त 'स्टार्ट अप' हो नि।

सरकारले निषेधाज्ञा जारी गर्दैगर्दा साइकलमा तरकारी फलफूल बेच्दै हिँड्ने ब्यापारीलाई पनि रोक लगाएको स्पष्ट रुपमा उल्लेख छ। साइकलमा नदिनुको अर्थ मोटरसाइकलमा दिन पाउने भन्ने तर्क कसरी हुनसक्छ?

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले दोस्रो पटक निषेधाज्ञा जारी गर्दा २० बुँदे निर्देशन दिएका थिए। त्यसको बुँदा नम्बर ११ मा फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यापार/व्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न निषेध भनिएको छ। त्यस्तै, बुँदा नम्बर १२ मा होटल रेस्टुरालाई पनि सञ्चालनमा रोक लगाइएको छ।

स्टार्टअप कम्पनी मास्न लाग्यो भन्नेहरुलाई प्रश्न - साइकलमा तरकारी बोक्न रोक लगाउँदा किन नबोलेको?

संक्रमणकालीन अवस्थामा अनेक व्यापार व्यवसायहरु ठप्प छन्। ती सबै आफ्ना ठाउँमा स्टार्टअप नै हुन्। एकल लगानीमा थालनी गरिएका ब्यवसाय ठप्प हुँदा पनि उनीहरु सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञा पालना गरेर बसेका छन्।

हो, सरकारबाट कमजोरी भएको छ। खाद्यान्नको अभाव हुन नदिनु सरकारको दायित्व हो। सरकार त्यसमा असफल भएको छ। एक किलो चामल किन्न नसकेर गाउँ फर्किनेको हालत देखेका छौं हामीले। परिवारलाई पकाएर खाने अन्न सकिएर पकाउनै नसक्ने अवस्था भएको हो र दाल चामल ओसारेको भए ठिक भन्न पनि सकिन्थ्यो। यस्तो बेलामा पिज्जा डेलिभरी गराउनु कत्तिको ठीक? रेस्टुराँ बन्द हुने अनि पिज्जा डेलिभरी चाहिँ कहाँबाट?

चुलो नबल्ने ठाउँमा डेलिभरी गर्दा उनीहरु समातिएका हुन् भने सरकारले गलत गरेकै हो। तर, यहाँ त्यस्तो देखिँदैन।

मसँग एक छाकको सय रुपैयाँको हैसियत छ। मैले डेलिभरी मगाउन पनि पाउँदिन किन कि थ्रेस होल्ड हुन्छ हजार भन्दा माथिको। अब सामान्य हैसियत भएकाहरुको घरमा न त डल्लेबाट डेलिभरी हुन्छ न त सस्तो मेलाबाट।

सरकारले बिहान ९ बजेसम्म अत्यावश्यक खाद्य सामाग्रीका पसललाई खोल्न दिएको छ। नियमित खाद्य सामाग्रीको आपूर्ति रोकिएको छैन। यसबीच सरकारले 'टेक अवे' चलाएको थियो, होटेल चलेका थिए। अब 'टेक अवे' बन्द गरेपछि यो डेलिभरी पनि बन्द हुनु थियो नै। एक सातासम्म निर्वाध चले, सुरुमै नियन्त्रणमा गर्नुपर्थ्यो। यसमा प्रशासनको कमजोरी रह्यो।

बिहान ९ बजेसम्म पसल खुल्छन् - भौतिक दुरी कायम गरौं माक्स लगाउँ समान किन्न जाउँ। पसलमा पनि सबैले प्रयोग गर्न मिल्ने ठाउँमा स्यानिटाइजर राखिदिउँ।

घरमा खाद्यान्न पुगेपछि डल्ले होस् या सस्तो डिल होस् या सस्तो मेला कहिँ कतैबाट पनि पिज्जा खरिद गर्नु आवश्यक पर्दैन्। फेरि यो सधैंका लागि पनि होइन। संक्रमणको जोखिम नियन्त्रणका लागि गरिएको हो न कि कसैको व्यवसायलाई निस्तेज पार्न।

प्रशासनले बिहीवार नै स्पष्टिकरण दिइसकेको छ- अत्यावश्यक औषधी बोक्ने गाडीलाई रोकिएको छैन। त्यो रोक्नु पनि हुँदैन। सहि छ। अहिलेको अवस्थामा पिज्जा र वर्थडे केक अत्यावश्यक सामाग्री हुन कि होइनन्?

अब 'स्टार्ट अप'को कुरा गरौं। हो, हिजो जुनजुन कम्पनीका कर्मचारी नियन्त्रणमा आए ती सबै हिजोका 'स्टार्ट अप' कम्पनी हुन्। लकडाउन लागिसकेपछि नविन सोचका सुरु भएका कम्पनीहरु पक्कै होइनन्। लकडाउनमै नयाँ सोचसहित सरकारले दिएको निर्देशन र आदेशको पालनासहित गर्न सक्ने काम गरे पो आजको 'स्टार्ट अप' त। फुड बैंक खोल्नुस्, सार्वजनिक स्थानमा 'फूड एटिएम' बनाएर राख्नुस्, मान्छे आउँछ। प्रविधिको प्रयोग गरी सामाग्री लिएर जान्छ त्यो पनि बिहान ९ बजेसम्म।

अस्पताल, बैंक जहाँ मानिसहरुको चहलपहल छ, पसल नखुल्ला विरामी कुरुवा भोकै होलान्, भेन्डिङ मेसिन राखेर खाना वितरण गर्ने सिस्टम ल्याउनुस्। त्यो 'स्टार्ट अप' हुनसक्छ नेपालका लागि। अलिकति सकरात्मक सोच राखौं - प्रहरीले सोधपुछ गर्दा, नियन्त्रणमा लिँदा धरपकड त हुँदै होइन। नसोधिकन लाठी हानेको भए - डेलिभरीका लागि हिँडाएको सामाग्री खोसेर फालिदिएको भए वा खाइदिएको भए पो धरपकड।

निषेधाज्ञा संक्रमणबाट जोगिन हो, हाम्रै लागि चालिएको कदम हो भन्ने सोचौं। अत्यावश्यक बाहेक बाहिर ननिस्कौँ। निस्किन परे सुरक्षाका उपाय अपनाएर निस्कौं। कोभिड-१९ नियन्त्रणका लागि लागू भएका नियम कानुनको पालना गरौं। सुरक्षित रहन सक्यौं भने न गर्ने हो - व्यवसाय।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell