PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर हटाई विद्यालयमा सिकाई सञ्चालन गर्ने प्रदेश १ सरकारको तयारी



फूलमाया पुरी

क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर हटाई विद्यालयमा सिकाई सञ्चालन गर्ने प्रदेश १ सरकारको तयारी

विराटनगर : लामो समयदेखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी शुरु गरेको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण ५ महिनादेखि विद्यालय बन्द छन्। र, शैक्षिक गतिविधि पुरै ठप्प छन्।

 प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरी विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएका छन्।

मन्त्री घिमिरेका अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव संकलन गरेको छ।

 मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए। मन्त्रालयले प्राप्त गरेको सुझावअनुसार चाँडै बैठक बसेर निश्कर्षमा पुगिने मन्त्री घिमिरेको भनाइ छ।

 त्यस्तै सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख-उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख,शिक्षक महासंघ,प्याब्सन, एनप्याब्सन,अभिभावक संघसँग छलफल गरी संकलन गरिएको सुझाव शिक्षा मन्त्रालय समक्ष पेश गरेको छ।

मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाई सञ्चालनको सुझाव दिएको छ। सिकाई सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने छ। विद्यालयमा रहेका क्वारेन्टाइन,आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने मन्त्रालयको सुझाव छ।

त्यसैगरी कक्षा सञ्चालनपूर्व विद्यालयमा निर्मलिकरण गर्नुपर्ने,लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाईनुपर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ।

त्यसो त सामाजिक विकास मन्त्रालयले बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ। जोरविजोर विद्यार्थी (रोल नम्बरका आधारमा),जोरबिजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको हो।

स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड टास्क टिम तयार गर्ने र टिमको सुझावअनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिईएको छ।

सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्व सञ्चालन गर्न पनि सुझाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलीकरण गरेर छिटोभन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठनपाठन शुरु गर्नुपर्नेमा जोड दिएको छ।

प्रदेश १ का १ सय ३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाईन रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ वटा विद्यालयमा होल्डिङ सेन्टर, ३ वटा विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालनमा रहेका छन्। त्यस्तै प्रदेश १ का ७ हजार १ सय ३७ विद्यालयमा करिव १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell