PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

के रोग थियो उनमा जसले पद त्याग्‍न प्रेरित गर्‍यो? पूरा गर्न नसकेका बाचा सम्झिँदै मागे माफी आवेले



पहिलोपोस्ट

के रोग थियो उनमा जसले पद त्याग्‍न प्रेरित गर्‍यो? पूरा गर्न नसकेका बाचा सम्झिँदै मागे माफी आवेले

काठमाडौं : जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट बाहिरिने घोषणा गरेका छन्। जुन महिनापछि पहिलो पटक पत्रकार सम्मेलनमा उपस्थित हुँदै गर्दा उनी भावुक रुपमा प्रस्तुत भए।

'यो एउटा भावानात्मक निर्णय हो कि आफ्नो लक्ष्य पूरा नहुँदै पदबाट बाहिरिने घोषणा गर्दै छु,' उनले पत्रकार सम्मेलनमा भनेका छन्, 'यदि मैले जनताको लागि उत्कृष्ट निर्णय लिन सक्दिन भने म प्रधानमन्त्री पनि हुन सक्दिन। मैले मेरो पदबाट बाहिरिने निर्णय गरेको छु।'

पछिल्लो पटक सोमवार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए आवे। दुई सातामा दुई पटक प्रधानमन्त्री अस्पताल पुगेपछि जापानमा उनको स्वास्थ्यको विषयलाई लिएर टिप्पणी हुन थालेको थियो।

प्रधानमन्त्री आवे र उनको दलका उच्च अधिकारीबीच शुक्रवार नै आपतकालीन बैठक बसेको थियो। पछिल्लो कोभिड-१९ पान्डेमिक नियन्त्रणका लागि लगातार व्यस्त देखिएका उनी यही व्यस्ततासँगै खराब स्वास्थ्य सँग जुध्दै पनि थिए। 

६५ वर्षका उनमा अलसरेटिव कोलाइटिस थियो। यो रोग भएका मानिसहरु सामान्य जस्तै देखिन्छन्। तर, पनि कतिपय अवस्थामा ज्यान जोखिममा पनि हुन्छ। पछिल्लो पटक उनी अस्पतालमा पुगेसँगै उनको मन्त्रिपरिषद र उनकै पार्टीबाट उनको स्वास्थ्यप्रति चिन्ता ब्यक्त भएको थियो। उनले अधिक काम गरेको र आरामको जरुरी रहेको उनीहरुले बताउँदै आएका थिए।

पत्रकार सम्मेलनमा आवेले नियमित स्वास्थ्य जाँजका क्रममा जुनमा अलसरेटिव कोलाइटिसको संकेत देखापरेको र मध्य जुलाइदेखि शारीरिक रुपमा कमजोर हुँदै गएको महसुस गरेको बताए। अगस्ट सुरुमा चिकित्सकहरुले पुरानो रोग बल्झिएको पुष्टि गरेको उनले जानकारी दिए।

आवेले आफूलाई पहिला सेवन गरिरहेको भन्दा फरक खालको औषधी दिइएको समेत बताए। सोमवारको 'फलोअप चेक'मा नयाँ औषधीले काम गरेको देखिएको तर यसलाई नियमति रुपमा सेवन गर्नुपर्ने आवश्यकता समेत रहेको बताए।

उनले आफ्नो स्वास्थ्य अवस्था रोग, उपचार तथा शारीरिक क्षमताका कारण राजनीतिक गलत निर्णय लिन छुट नभएको समेत बताए। उनले आफूले अब धेरै जनताको म्यान्डेट लिइरहन नसक्ने भन्दै पदमा रहिरहन नहुने बताए।

कोभिड-१९ का कारण यो निर्णय लिन सकस भएको भन्दै उनले कोभिड-१९ आउट ब्रेक ओरालो लागेको यो समयलाई लिएर सो निर्णय गरेको सुनाए।

उनले विदाइ हुने घोषणा गर्दा जनतासँग हृद्य देखिनै क्षमा मागे। त्यस्तै उत्तर कोरिया सँग जापानी नागरिक फिर्तीको मुद्दालाई समाधान गर्न असफल भएकोमा पछुतोसमेत ब्यक्त गरे।

रुससँगको शान्ति सन्धीलाई निष्कर्षमा पुर्‍याउन नसकेको र जापानको संविधान संशोधन नगर्दै बाहिरिन पर्दा नराम्रो लागेकोसमेत बताएका थिए। उनले आफ्नो जिम्मेवारी अर्को प्रधानमन्त्री नआउँदासम्म बहन गरिरहने बताए।

उनी पछिल्लो समय कोभिड-१९ नियन्त्रणमा असफल भएकोदेखि विभिन्न राजनीतिक स्क्यान्डलमा फस्दै आएका थिए।

सन् २००६ मा ५२ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बनेका आवे जापानको इतिहासमा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्तिको रुपमा रहेका छन्। २००७ मा यही रोगले गाज्दै गएपछि उनले राजिनामा दिएका थिए।

सन् २०१२ मा देशको पुन:उत्थान र आर्थिक उन्नती हासिल गर्ने भन्दै 'आवेनोमिक्स' लिएर पुन सत्तामा फर्किएका जापान टुडेले लेखेको छ।

यसबीच आवेको सबैभन्दा ठूलो असफलता भनेको आफ्ना हजुरबुबाले देखेको लामो सपना अमेरिकाले मस्यौदा तयार गरेको संविधानको पुन:लेखन गर्न नसक्नु हो। आवे र उनका समर्थकहरुले अमेरिकाले मस्यौता तयार पारेको संविधानलाई दोस्रो विश्व युद्धमा पराजयको अपमानजनक दस्तावेजको रुपमा मान्दै आएका छन्। उनी यो अपमानलाई मेट्न सकेनन् र युद्धताकाको लिगेसीलाई व्यवस्थापन गर्न सकेनन्। साथै उत्तर कोरियासँगै तिक्ततालाई कम गर्न सकेनन्।  

उत्तराधिकारी को?

आवेको घोषणासँगै विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नेतृत्व कसले गर्ने भन्ने चर्चा सुरु भइसकेको छ। उनको बहिर्गमनसँगै सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)मा उनको उत्तराधिकारी चयनका लागि निर्चावन हुने छ।

जापान टुडेले आवेको मन्त्रिपरिषद नयाँ प्रधानमन्त्री चयन नहुँदासम्‍म कायम हुने छ। तर, नयाँ नीतिहरु भने बताउन पाउने छैन। एलडीपीको आन्तरिक निर्वाचनमा विजयी हुनेले सेप्टेम्बर २०२१ सम्मको कार्यकाल सम्हाल्ने छ।

उनको बहिर्गमनपछि नयाँ प्रधानमन्त्रीका लागि केही नामहरु अगाडि आएका छन्। जसमा अगाडि अर्थमन्त्री तारो आसोको नाम रहेको जापान टुडेले जनाएको छ। उनी दुई पटक उपप्रधानमन्त्री भइसकेका र आवे प्रशासनका प्रमुख व्यक्तिका रुपमा रहेका थिए। उनी पूव प्रधानमन्त्रीका नातिसमेत हुन्।

त्यस्तै, ६३ वर्षका पूर्व रक्षामन्त्री सिगेरु इसिवाको पनि चर्चा छ। उनी आफ्नो दल भन्दा पनि बाहिर लोकप्रिय छन्। उनी आवेका कट्टर आलोचकसमेत हुन्।

आवेको मन्त्रिपरिषदमा सन् २०१२ देखि १७ सम्म परराष्ट्र मन्त्री रहेका फूमियो किसिदा पनि अर्को नाम हो। उनले दोस्रो विश्वयुद्पछि बनेको संविधान संशोधनको एजेन्डा सार्ने व्यक्ति हुन्।

योसिहिडे सुगा पनि अर्का सम्भावित उम्मेद्वार हुन्। ७१ वर्षका उनी संकटको बेला आवेलाई साथ दिने पात्रका रुपमा चिनिन्छन्।

३१ वर्षका सिनजिरो कोइजुमीलाई पनि भावि प्रधानमन्त्रीको रुपमा हेरिएको छ। हालका वातावरण मन्त्री रहेका उनी पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन्। तर उनलाई प्रधानमन्त्री हुन अझै उमेर नपुगेको भन्ने गरिन्छ।

त्यस्तै, सेइको नोडालाई पहिलो जापानी महिला प्रधानमन्त्रीको रुपमा समेत हेरिन थालेको छ। पूर्व आन्तरिक मामिला मन्त्रीसमेत रहेकी उनी आवेकी कट्टर आलोचक समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell