PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

वामदेव गौतमको गीती यात्रा : नयाँ गीत ‘यो बुद्ध भूमि’ र गीति संग्रह सार्वजनिक



पहिलोपोस्ट

वामदेव गौतमको गीती यात्रा : नयाँ गीत ‘यो बुद्ध भूमि’ र गीति संग्रह सार्वजनिक

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतम रचित नयाँ गीत सार्वजनिक भएको छ। उनको ‘यो बुद्ध भूमि’ बोलको गीत सामाजिक सञ्जालमार्फत् रिलिज भएको हो। गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङले स्वर दिएका छन् भने शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्।

गीतलाई मनोहर सुनामले संयोजना गरेका हुन्। गीतको भिडियोलाई दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका हुन्।

वामदेव गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याएका छन्। जसमा सार्वजनिक भएका हुन बाँकी सबै समावेश गरिएको छ।

राजतन्त्रको अन्त्य पछि राष्ट्रगान फेरिने भयो। जसका लागि गीत आह्वान गरियो। साहित्यकार मोदनाथ प्रश्रित निर्णायक समितिमा रहेका थिए। उक्त प्रतिष्पर्धाका लागि गौतमले पनि ‘प्राण प्यारो देश नेपाल’ बोलको गीत लेखेर पठाएका थिए। तर, उक्त गीत छनौटमा भने परेन। त्यस समयदेखि गौतमको गीति यात्रा शुरु भएको थियो। विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताएका छन्। 


 

शुक्रवार सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ। आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।

गीतबारे गौतमले भनेका छन् : छन्द कविता र गीति लेखन– यी दुई विषय मेरो जीवनको प्रारम्भकालीन रुचीका विषय थिए। विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो। तर, त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन। २०४६ सालमा हासिल भएको प्रजातान्त्रिक उपलब्धीपछि हामी संसदीय अभ्याससहित राजनीतिक यात्रामा तल्लिन रह्यौँ। यसक्रममा राष्ट्र, राष्ट्रियता र जनजीविकाका अनेकन सवालमा हामीले पार्टी नीतिको अधिनमा रहेर भरमग्दुर भूमिका निर्वाह गर्यौं। तर, २०५८ सालमा राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रजातान्त्रिक सरकार अपदस्थ गरे। यसपछि हामी राजाबाट भएको प्रतिगमनविरोधी आन्दोलनमा जुट्यौँ।


जनआन्दोलन २०६२/०६३ पछि हामीले राजतन्त्रसँगै सामन्तवादी सत्ता र संस्कृतिमाथि विजय हासिल गरयौँ । वर्षौंदेखि पुरानो सत्ता, विशेष गरी राजा–महाराजाको स्तृतिमा आधातिर भाका र भाषामा आधारित राष्ट्रिय गान चलन चल्तीमा थियो। तर, परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गानको विकल्प खोजियो। नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो। यो सन्दर्भमा मभित्र रहेको काव्य चेत वा गीति चेत प्रष्फुटन गर्ने मौका मिल्यो। मैले उक्त प्रतिष्पर्धामा भाग लिएँ। नेपाली साहित्यका धरोहरका रुपमा समेत सुपरिचित आदरणीय क.मोदनाथ प्रश्रित उक्त प्रतिष्पर्धाको छनौट समितिमा हुनुहुन्थ्यो।


मैले ‘प्राण प्यारो देश नेपाल’ शीर्षकमा गीत लेखेर पठाएँ। उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन। तर, त्यही गीत मेरो गीति यात्राको प्रारम्भ बन्न पुग्यो। यसै सन्दर्भमा ‘मेरो गीति यात्रा’ नाममा एउटा सानो पुस्तिका पनि प्रकाशित भएको छ। त्यसमा ४३ गीत संकलित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell