PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सांसद बोगटीले १० दिनमै जिते संक्रमण, 'त्यस्तो केही पनि हैन रहेछ कोरोना'



प्रकाश भण्डारी

सांसद बोगटीले १० दिनमै जिते संक्रमण, 'त्यस्तो केही पनि हैन रहेछ कोरोना'

काठमाडौं : सांसद यज्ञबहादर बोगटीले १० दिनमा कोभिड-१९ संक्रमणमुक्त भएका छन्। भदौ २ गते कोभिड-१९ संक्रमणको रिपोर्ट पोजेटिभ आएपछि कीर्तिपुर आयुर्वेदिक तालिम केन्द्रको आइसोलेसनमा भर्ना भएका उनी १० दिनमै डिस्चार्ज भएका हुन्।

साउन ३० गते परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब दिएका बोगटीको ३२ गते नेगेटिभ रिपोर्ट आएकोमा भदौ २ गते भने पोजेटिभ रिपोर्ट आएको थियो। उनका परिवारका सबै सदस्यको भने रिपोर्ट नेगेटिभ आएको थियो। बोगटीको शुक्रवार परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।

कस्तो रह्यो आइसोलेसन बसाई?

बोगटीले आइसोलेसन बसाइ एकदम सुखद रहेको बताए। उनले चिकित्सक र नर्सले राम्रो सहयोग गरेको बताए। पीए र आफूलाई संक्रमण भएपछि आइसोलेसन भर्ना भएका बोगटीले अस्पतालको बसाइ उत्साहपूर्ण भएको बताए। 'अस्पतालमा रहँदा कुनै बोर फिल भएन। एकदमै राम्रो रह्यो। सांसद र अरु मानिसको उपचारमा फरक थिएन,' उनले भने।

अदुवार र गुर्जोले जितियो कोरोना

बोगटीले अस्पताल बसाइका बेला आयुर्वेदिक औषधि सेवन गरेको बताए। उनले आयुर्वेदका साथै अरु औषधि प्रयोग गरेको भए पनि आफूलाई भने आयुर्वेदले नै ठीक भएको दाबी गरे। 'हुन त अरु औषधि पनि खाइयो। तर मलाई चाहि भर आयुर्वेदको लाग्यो,' उनले भने।

१० दिनसम्म गुर्जो र अदुवाको रस पिएको उनले बताए।

अदुवापानी, गुर्जो। बेसार, लसुनका दुई पोडा। सबै एक ठाउँमा मिक्स गरेर खाँदा आफूले चाँडै कोरोना जितेको उनको भनाई छ। साधारण खानामा खाइने मसलाहरु नै औषधिको रुपमा खादा स्वास्थ्यमा सुधार भएको उनको भनाई छ।

'सुरुमा डर लाग्यो'

कोभिड १९ संक्रमण भएपछि आफूलाई डर लागेको बोगटीले बताए। अस्पताल बसाइका क्रममा आफ्नो डर हराएको उनको भनाई छ। 'सुरुमा ओ हो! के होला है भन्ने भयो। तर, सबै डर हरायो पछि त,' उनले भने। कोराना जित्नका लागि आफूले आत्मबल बलियो बनाएको उनको भनाई छ। कतिपयले कोरोनाको डर देखाउने भएपनि कुनै डर नहुने उनको सुझाव छ। 'कतिले त कोरोनाको डर देखाउछन् नी। त्यस्तो केही पनि हैन रहेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell