PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

सुदूरपश्चिममा शुक्रवार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा शुक्रवार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रवार थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ४४ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका-१०, महाकाली नगरपालिकाका चार, पुनर्वास नगरपालिकाका दुई र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कैलालीको गौरीगंगा नगरपालिकाका ६, बर्दगोरीका पाँच, चुरे गाउँपालिकाका चार, धनगढी उप-महानगरपालिकका दुई, घोडाघोडी नगरपालिकाका एक जना र स्थानीय तह नखुलेका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

उता, डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन्।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भने एक सय एक जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

४५ जना संक्रमित थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ३९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell