काठमाडौँ: शुक्रबार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी कोरोना भाइरस संक्रमितको संख्या पहिचान भयो। उपत्यकामा एकैदिन ४१५ जना कोरोना संक्रमित थपिए।
सबैभन्दा बढी संक्रमित काठमाडौं थपिए। काठमाडौँमा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुरमा ५४ जनामा संक्रमण देखियो भने भक्तपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार थपिएका कोरोना संक्रमितसँगै उपत्यकामा कोभिड १९ संक्रमितको संख्या ४ हजार ८११ पुगेको छ।
उपत्यकामा सबैभन्दा बढी संक्रमित काठमाडौंमा छन्। काठमाडौँमा मात्रै ३ हजार ८०५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ललितपुरमा ५८७ र भक्तपुरमा ४१९ जनामा संक्रमण देखिएको छ।
१२ दिनको रिपोर्ट
७७ जिल्लामध्ये ३ हजारभन्दा बढी संक्रमित हुने जिल्ला काठमाडौँ मात्रै हो। राजधानीमा आउने केही दिनमा नै संक्रमितको संख्या ४ हजार नाघ्ने देखिएको छ। यहाँ कोरोना संक्रमितको संख्यामा भदौ लागेपछि हवात्तै वृद्धि भएको छ।
काठमाडौँमा मात्रै भदौ १ देखि १२ गतेसम्म २ हजार १३९ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो दुई हप्तामा काठमाडौं कोरोनाको हटस्पट बन्न पुग्यो।
यस्तै १२ दिनमा ललितपुरमा ३५७ जना र भक्तपुरमा २४९ जना संक्रमित थपिए। भदौमा मात्रै उपत्यकामा कूल २ हजार ८४५ जनामा संक्रमण पुष्टि भएको छ।
