PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

चर्को ज्वरोले लियो ८ जनाको ज्यान, रोगको चाहिँ भएन पहिचान



कमलराज भट्ट

चर्को ज्वरोले लियो ८ जनाको ज्यान, रोगको चाहिँ भएन पहिचान

काठमाडौं : महाकाली पारीको गाउँ दोधारा-चाँदनीमा अज्ञात रोगका कारण ८ जनाको ज्यान गएको छ।

महाकाली नगरपालिकामा पर्ने यी गाउँमा १० दिनको अवधिमा ८ जनाको मृत्यु भएको मेयर बीरबहादुर सुनारले जानकारी दिए।

‘एक्कासी उच्च ज्वरो आउने र दुई/तीन दिनभित्रै मर्ने समस्या देखियो,’ मेयर सुनारले भने।

उनका अनुसार विरामी भएर नगरपालिकाको स्वास्थ्य केन्द्रमा सम्पर्कमा आएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ। १ जना निको भएर फर्किएका छन् भने एक जना स्वास्थ्य केन्द्र र एक जना धनगढीको माया मेट्रोमा उपचाररत छन्। मृतक अन्य २ जना भने स्वास्थ्य केन्द्रको सम्पर्क बाहिरका हुन्।

नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले नगरको स्वास्थ्य केन्द्रबाट रिफर गरिएका ६ जना र आफै उपचारमा गएका २ जना गरी ८ जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा वडा नम्बर ७ का १३ वर्षीया पूजा बोगटी, वडा नम्बर पाँचका ६५ वर्षीय गम्भीर भण्डारी, वडा नम्‍बर चारका २१ वर्षीय प्रेमबहादुर चन्द, वडा नम्बर एकका १५ वर्षीय प्रकज चन्द, २५ वर्षीय मोहन दमाई, वडा नम्बर तीनका ३० वर्षीय मानबहादुर सुनार, ७५ वर्षीय तुलसिंह थापा, ३८ वर्षीय रतन बुढामगर रहेका छन्।

नगरपालिकामा दोधारा स्वास्थ्य केन्द्र छ। त्यहाँ उपचार हुन नसकेपछि सबै विरामीलाई सदरमुकाम महेन्द्रनगरको महाकाली उप प्रादेशिक अस्पताल, धनगढीको माया मेट्रो तथा सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो।

‘यहाँ अस्पताल छैन। स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि महेन्द्रनगर र धनगढी रिफर गरेका थियौं,’ मेयर सुनारले भने, ‘उपचारकै क्रममा ६ जनाको मृत्यु भयो। एक जना निको भएका छन्। तर, रोग पत्ता लागेको छैन।’

उनले दोधारामा सहज यातायात र चिकित्सक नहुँदा पनि समस्या भएको बताए।

‘साधन छैन। रिफर गर्न झोलुङ्गे पुलबाट मोटरसाइकलमा पारी लग्नुपर्छ। भारततिरबाट जान अहिले महामारीले बाटो बन्छ छ,’ मेयर सुनारले भने, ‘उपचार गर्न डाक्टर छैन। एक जना चिकित्सक छन्। कोही विरामी भए धनगढी, नेपालगञ्जसम्म रिफर गर्नुपर्छ।’

समस्या विकराल बन्दै गएपछि नगरपालिकाले बिहीवार बैठक राखेर जिल्ला, प्रदेश र केन्द्र सरकारलाई पत्राचार गरेको छ।

‘कोरोना हो कि लामखुट्टेले टोकेर हुने इन्सफ्लाइटिस (मलेरिया) हो? लक्षणहरु मिल्दो जुल्दो छन्। परीक्षणका लागि निर्णय गरेर सबै निकायमा पत्र पठाएका छौं,’ मेयर सुनारले भने।

नगर प्रवक्ता सिजालीका अनुसार स्वास्थ्य केन्द्रमा ज्वरोका विरामी आउनेक्रम जारी छ।

‘रगत जाँच गरेर तुरुन्तै धनगढीस्थित प्रादेशिक अस्पताल र निजी अस्पतालमा रिफर गरिरहेका छौं,’ उनले भने, ‘रोगको पत्ता नलाग्दा यहाँ त्रासको अवस्था सिर्जना भएको छ।’

नमूना विश्व स्वास्थ्य संगठनमा पठाइयो

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन चौधरीले विरामीको नमूना विश्व स्वास्थ्य संगठनको कार्यालय काठमाडौं पठाइएको बताए।

‘जापानिज इन्फ्लाइटिसको परीक्षणका लागि धनगढीको डब्लूएचओ क्षेत्रीय कार्यालयमार्फत स्याम्पल काठमाडौं पठाएका छौं,’ डाक्टर चौधरीले भने, ‘डब्लूएचओबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन्छ।’

डाक्टर चौधरीले कोभिड १९ महामारी भए पनि आफूहरुले विरामीमा देखिएका लक्षणबाट मेनिन्जाइटिस र जापानिज इन्फ्लाइटिसको आशंका गरेको बताए।

‘कोरोनामा सस्फेक्ट (शंकास्पद) लागेन। त्यसैले परीक्षणका लागि स्याम्पल पनि कलेक्सन गरेका छैनौं,’ उनले भने, ‘अकस्मात मृत्युले पीसीआर परीक्षणमा हाम्रो कमजोरी रह्यो। स्वाब कलेक्सनमा कोर्डिनेसन गर्न सकेनौं। मृतक सबैको अन्त्येष्टि भइसकेको छ। अब आउने सबै विरामी स्याम्पल लिन जनशक्ति खटाएका छौं।’

डाक्टर चौधरीले यहाँ साउन- भदौ ज्वरोको सिजन नै भएको बताए।

‘दिनमा १२० देखि १५० सम्म बिरामी हेर्छौं। ५० प्रतिशत ज्वरोका छन्। दुई सातायता यो वर्ष १०४ डिग्री भन्दा माथि उच्च ज्वरोका विरामी धेरै देखिए। १०/१२ जनालाई रिफर गर्‍यौं। ४ जना मृतक हाम्रो रेकर्डमा छन्। बाँकीको रेकर्ड प्राप्त हुन सकेको छैन। कूल मृतक ८ जना पुगेको भन्ने छ,’ उनले भने।

उनका अनुसार पछिल्लो तीन दिनयता थप दुई जनालाई धनगढी रिफर गरिएको छ। गम्भीर अवस्थामा रहेका उनीहरुको आइसीयूमा उपचार भइरहेको छ। त्यसैगरी स्वास्थ्य केन्द्रमा उपचाररत एक जनाको स्वास्थ्य सुधारोन्मुख छ। एक जना डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell