कैलाली : कोरोना महामारीले आत्तिएकाहरु स्वदेश फर्किरहेका छन्।
तर, स्वदेशको ढोका खुल्ला भनेर सीमामै कुरी बसेकी बझाङकी पूजा नेपालीले सीमावर्ती क्षेत्रमै बच्चा जन्माउनुपर्यो। स्वदेशमा टेकेपछि सुरक्षित हुनुपर्ने हो। तर, क्वारेन्टिनमै मध्यराती कैलालीकी एक महिलाले बलात्कृत हुनुपर्यो।
लकडाउनका कारण सीमावर्ती क्षेत्रमा अलपत्र परे मानिसहरु।
असुरक्षित क्वारेन्टाइन। संक्रमणको जोखिम उस्तै। महिलाहरुलाई बसाईको चिन्ता उतिकै। यस्तो अवस्था देखेपछि हिरा भण्डारीले आफूले सञ्चालन गर्दै आएकी बि(विद्या) पोलिटेक्निक इन्स्टिच्युटलाई महिलाका लागि आइसोलेसन सेन्टर बनाउने तयारीमा लागिन्।
केही समयमै इन्स्टिच्युट्लाई बदलिन् महिला होल्डिङ सेन्टर र क्वारेन्टाइन सेन्टरमा।
‘पुरुषको तुलनामा महिलाहरूलाई विशेष खालको खाना, सरसफाइ, सुरक्षा चाहिन्छ,’ उनी भन्छिन्, ‘अनि भारतबाट एकै दिनमा एउटै नाकाबाट ६ हजार मासिनको भीडमा आउने महिलाहरूको अवस्था कस्तो हुन्थ्यो होला? यसैलाई ख्याल गरी इन्स्टिच्युटलाई होल्डिङ सेन्टर बनाउने आँट गरें।'
बैतडीमा जन्मेर डोटीमा बाल्यकाल बिताएकी हिराले १२ कट्ठा जमिन भाडामा लिएर २०६८ सालबाट झन्डै डेढ करोड ऋणमा सञ्चालन गर्दै आएकी थिइन् इन्स्टिच्युट।
तीन वटा तालिम हल समेतमा गरेर १ सय १० जनासम्म अट्न सक्ने भौतिक संरचना रहेको इन्स्टिच्युटमा चैत २१ देखि असारसम्म ३ सय हाराहारीमा महिलाहरू बसेर घर फर्किए। त्यो समयमा उनले आर्थिक र अरू व्यवस्थापन व्यक्तिगत तर्फबाटै ब्योहोरिन्।
त्यसपछि भारतबाट आउनेहरूको भिड केहीमात्रामा कम भइसकेको थियो।
जहाँ उनले गत चैत २१ गतेबाट असारसम्म तीन महिनामा तीन सयभन्दा बढी भारतबाट आउने महिलाहरूलाई निःशुल्क खाना बस्न व्यवस्था मिलाइन्।
अहिले त्यहाँ २४ जना कोरोना सङ्क्रमित महिलाहरू कोरोनाविरुद्धको लडाइमा छन्। आमा–छोरी गरेर दुई जना डोटीका र अरू २२ जना कैलालीका। उनीहरूले तीज त्यही मनाए। गौरा पर्व त्यही मनाए।
साउन यता उक्त महिला आइसोलेसनबाट २ गर्भवतीसहित १४ जनाले कोरोना जितेर घर फर्किसके।
कस्तो लाग्यो आइसोलेसनको बसाई?
कोरोना जितेर घर फर्किँदै गरेकी कैलालीकी धनमाया लुहारको जवाफ थियो, ‘निकै राम्रो लाग्यो। चाडबाडमा माइतीघर गएर बसेजस्तै लाग्यो। सुरक्षित र राम्रो हेरचाह पाइयो।’
काखमा छोरीलाई च्यापेर धनमायासँगै घर फर्किन थालेकी रञ्जिता कोलीले पनि यस ठाउँसँग अजम्बरी नारा रहने बताइन्। ‘कोरोना संक्रमित बनेर यहाँ आउनुपर्यो, अब स्वस्थ भएर घर गइसकेपछि पनि यो ठाउँसँगको नाता अजम्मरी रहिरहोस् भन्ने चाहना छ,’ उनले भनिन्।
उनको काम देखेर धनगढी उपमहानगरपालिकासहित विभिन्न दातृ निकायले सहयोग गर्न थाले। ‘जिल्ला प्रहरी कार्यालयबाट छ जना सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीबाट दुई नर्स, विभिन्न दातृ निकायबाट बालबालिकाका लागि आवश्यक पर्ने खेलौना, महिलाका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीलगायत खाद्यान्न र अरू सहयोग गर्ने मनकारीहरूको सहकार्यले अहिले एक्लै खर्च धान्नुपर्ने अवस्था छैन,’ उनले भनिन्।
केही समय पहिले सहारा खोज्न हिँडेकी ज्ञानु जोशीले अहिले सीप सिकेर उक्त आइसोलेसनको बाहिरी व्यवस्थापनसमेत हेर्ने गरेपछि अब उनले पटक–पटक आइसोलेसन सेन्टरमा पनि पुगिरहनु पर्दैन। तर कोरोना भाइरसलाई आत्मबलले नै परास्त गर्न सकिन्छ भन्ने लागेर उनी महिलाहरूको आत्मबलका लागि त्यहाँ पुगिरहन्छिन्।
अहिले आइसोलेसन बनाउन उपमहानगरपालिका, युएनडिपी, पत्रकार दीपक उपाध्यायलगायतले सहयोग र प्रेरणा प्रदान गरेको उनको भनाई छ।
डोटीको बुडरकी एक संक्रमित महिलाले दिदीबहिनीहरूको ऊर्जा, हौसला र आइसोलेसनको व्यवस्थापनले कोरोनालाई छिट्टै परास्त गरेर घर फर्किन पाइनेमा ढुक्क रहेको बताइन्।