काठमाडौं : भदौ ७ गते त्रिभुवन विश्वविद्यालयले एक विज्ञप्ति निकाल्दै विद्यार्थीहरुलाई भर्चुअल शिक्षाका लागि तयार रहन निर्देशन दियो। उक्त विज्ञप्तिमा त्रिविले कतिपय विद्यार्थीहरु अझै अनलाइन कक्षा चलिरहँदा पनि विश्वविद्यालयको सम्पर्कमा नआएको भन्दै परीक्षा ब्यवस्थापनमा समस्या भएको उल्लेख गरेको थियो।
‘महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्षलाई आंकलन गरी विश्वविद्यालयले चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई इमेल आइडी तयार गर्दै अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘तर हालसम्म पनि कतिपय विद्यार्थीहरु आफू अध्ययनरत क्याम्पस तथा विभागहरुको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापनमा समस्या आएको छ।’
सोही विज्ञप्तिमा विश्वविद्यालयले विद्यार्थीलाई पठनपाठनमा सहभागी हुन आव्हान गरेको छ भने विभाग क्याम्पस प्रशासनलगायतलाई पनि विद्यार्थीलाई सम्पर्कमा ल्याउन आग्रह गरेको छ।
त्रिविको यस पत्रको प्रतिकृया नआउने कुरा नै भएन। त्यसपछि विभिन्न क्याम्पसहरुले विद्यार्थीलाई सम्पर्कमा आउन भनेर विज्ञप्ति निकाले। तर कतिपय क्याम्पसका उच्च अधिकारीहरुहरु भने त्रिविको सूचनालाई लिएर असन्तुष्ट पोखे।
कारण- त्रिविको सम्बोधन।
‘त्रिविले सिधै विद्यार्थीलाई सम्बोधन गरेर विज्ञप्ति निकाल्ने हो कि! मातहतको क्याम्पसमा समन्वय गराउने हो?’ एक जना असन्तुष्ट प्राध्यापकले भने।
+++
विश्वविद्यालको सूचनापछि कति थप विद्यार्थीहरु क्याम्पसको सम्पर्कमा आए? के ती विद्यार्थीहरु पढ्न नचाहेकाले नै क्याम्पसको सम्पर्कमा नआएका होलान् त? यो मुख्य प्रश्न हो।
हुन त कोभिड १९ महामारीको एक फाइदा भनेको हरेक क्षेत्रमा प्रविधिको प्रयोग गर्ने अवसर जुटेको छ। मिलेसम्म घरबाट काम र मिल्दै नमिलेमात्र कार्यालय जाने जाने ‘ट्रेण्ड’ नै विकास भएको छ।
अझ शिक्षा क्षेत्रमा त केही समय अघिसम्म असम्भव ठानिएको भर्चुअल कक्षाहरु धमाधम चलिरहेको छ। स्नाकोत्तरतहमा सेमेस्टर प्रणाली भएकाले केही सजिलो भएको छ। अनलाइन कक्षाहरु नियमित भइरहेका छन्। सीमित विद्यार्थी हुने भएकोले व्यवस्थापनमा पनि गाह्रो छैन। तर यसको मतलब यो होइन कि शतप्रतिशत विद्यार्थीहरुले कक्षामा उपस्थिति जनाइरहेका छन्।
केही विद्यार्थीहरुले उपस्थिति जनाउन सकेका छैनन्। भर्चुअल कक्षा हुँदै गर्दा पहुँच नहुने देखेर नै उनीहरु चुप लागेका हुन्। यदि उनीहरुको पहुँच हुने थियो भने आफ्नो कक्षा चल्दै गर्दा ‘कक्षामा उपस्थिति जनाउनु’ भनेर छुट्टै उर्दी चाहिन्न पनि थियो होला।
नेपाल विद्यार्थी संघले विद्यार्थी प्रतिको जिम्मेवारी र आफ्नो दायित्व निर्वाह गर्न असमर्थ असक्षम पदाधिकारीहरुले भरिएको त्रिभुवन विश्वविद्यालयको वर्तमान समयमा देखिएको मौनता र अकर्मण्यता प्रति असन्तुष्टि जनाएको छ।
निराकरणका उपाय खोज्नुपर्ने बेला पदाधिकारीबाट थप बिकृति र बिसंगतिबाहेक केही आशा गर्न नसिकने नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले बताए।
उनको प्रश्न छ, 'वर्तमान पदाधिकारी को अर्कमणयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोना को कहर भन्दा ठूलो छ।यसको जिम्मेवार कसले लिने?'
त्रिविले हाल स्नातकलगायत सबै तहका विद्यार्थीलाई भर्चुअल माध्यमबाटै समेट्ने तयारी गरेको देखिन्छ। यसबाट विभिन्न संकायका विभागलाई समेत चुनौती थपिने जानकारहरु बताउँछन्।
‘डिपर्टमेन्ट हेडले पनि कति जनालाई फोन गरुन्? कुनै बेला आत्तिएर खर्च गरेरै फोन पनि गरेकै हुन्। अब इङ्लिस इकोनमिक्स जस्ता विषयमा विद्यार्थी पनि धेरै हुन्छन्। अब कति गरुन्? क्याम्पसले भत्ता भनेर त्यही ५ सय त हाल्दिएको होला?’ एक जना प्राध्यापकले भने।
दशैं अघि नै स्थगित परीक्षा सञ्चालन गराउन उद्दत देखिएको छ त्रिभुवन विश्वविद्यालय। लकडाउन खुलेसँगै परीक्षाको तयारी गरेको त्रिविले महामारी बढ्दै जाँदा परीक्षा संचालन गर्न ‘नसकिने रहेछ’ भन्ने मनस्थितिमा पुगिसकेको छ। तर ‘वैकल्पिक’ शिक्षणलाई ‘अनिवार्य’ गराउन खोज्दा विद्यार्थी समेट्ने चुनौती भने त्यतिकै छ।
अर्को कुरा कोरोनाको प्रकोप फैलिँदै गर्दा मानसिक रुपमा विद्यार्थी पनि गलेकै छन् जति अरु मानिसहरु गलेका छन्। विद्यार्थीको परिवेशमा पनि त्यति नै अन्य चुनौती र समस्याहरु छन् जति पेशा गुमाउँदै गएका मानिसहरुको छ। त्यसैले उर्दी नै जारी गरे पनि तमाम समस्यासँग जुधिरहेको र आर्थिक रुपमा कमजोर विद्यार्थीलाई भर्चुअल कक्षामात्र भनेर अरु विकल्प नदिइ दबाव दिने हो भने धेरै विद्यार्थी ‘यो साल यस्तै भयो’ भनेर चित्त बुझाउने मनस्थितिमा पुग्नेछन्।
अर्को कुरा स्नातकोत्तरमा सेमेस्टरमा अन्तर्क्रिया गराएर पढाए जस्तो अवस्थामा छैन - स्नातक तहको पढाइ। एक त सामान्य विषय अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ठूलो छ भने विभागले चाहेर पनि समन्वय गराउन सम्भव देखिँदैन अहिलेको अवस्थामा।
‘यहाँ यत्रो त्रास छ। बैंकमा गएर पैसा निकालेर ल्याउन पनि डरमर्दो भइरहेको छ। यस्तो अवस्थामा परीक्षाका लागि किन जबरजस्ती? विद्यार्थीको मनोविज्ञान भन्ने पनि हुन्छ होला नि?’ एक जना प्राध्यापकले भने, ‘कहिले परीक्षाको तालिका निस्कन्छ र फेरि स्थगित हुन्छ। अनि फेरि अनलाइनबाटै पढ्न पनि भनेको छ परीक्षाकै लागि? यो आतंक मच्चाएजस्तो भएन र?’
यद्यपि केही प्राध्यापकहरु भने त्रिविको पछिल्लो कदमलाई सकारात्मक रुपमा लिन्छन्।
‘सबै प्राध्यापक, कर्मचारी र विद्यार्थीको इमेल आइडी बनेकै छ क्यारे। कतिपय विषयका त टिम पनि बनेकै छन् जस्तो लाग्छ। प्राध्यापकका लागि तालिम पनि संचालन भएकै हो। विभागीय प्रमुखहरुको अनलाइन बैठक बसेर अनलाइन कक्षा संचालन गर्ने कुरा पनि भएकै हो,’ भर्चुअल कक्षाबाट अध्यापन गराउँदै आएका अंग्रेजी शिक्षाका सहप्राध्यापक अरुण नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनलाइन कक्षासम्बन्धी विश्वविद्यालयले जारी गरेका निर्देशिकाहरुका सम्बन्धमा समेत छलफल भएकै हो। विश्वविद्यालयका पदाधिकारी, क्याम्पस प्रमुख र प्राध्यापकहरुका बीचमा अनलाइन कक्षासम्बन्धी पटकपटक छलफल पनि भएकै हो। उक्त छलफलकै क्रममा विद्यार्थीसँग सम्पर्क गर्न सबैजना आआफ्ना ठाउँबाट जुट्ने कुरा पनि भएकै हो जस्तो लाग्छ!'
नेपालले थप लेखेका छन्, ‘क्याम्पस प्रमुखकै उपस्थितिमा झन्डै दुई हप्ता जति अनलाइन कक्षासम्बन्धी अनौपचारिक अभ्यास पनि भएकै हो! उक्त छलफल बमोजिम केही अनलाइन कक्षा हुन शुरु भएकै पनि हो। तर सबै विद्यार्थी समेटिएपछि मात्र अनलाइन कक्षा शुरु गर्ने आवाज उठेपछि अनलाइन कक्षासम्बन्धी भए गरेका ती सम्पूर्ण तयारी यसै निस्क्रिय भएजस्तो लाग्छ! त्यसकारण अब सबै सरोकारवाला सक्रिय भएर विद्यार्थीहरुसँग सम्पर्क गर्ने कुरामा पो विशेष जोड दिनुपर्ने हो कि?’
यता स्नातकोत्तरको सम्बन्धमा भने अझै अनलाइन कक्षाबाट मात्र सिकाउँछु भन्न खोज्नु गल्ती हुने तर्कसमेत आउने गरेको छ। स्नातकोत्तरका सबै विषयहरुमा सेमेस्टर प्रणाली लागू नभएकोले सामान्य विषयहरुमा एउटा विषयमा अत्याधिक संख्यामा विद्यार्थी हुने र विद्यार्थीहरु छरिएर रहने भएकाले कठिन हुने तर्कहरु पनि अघि सरिएका छन्।
यद्यपि यस अवस्थामा केही नगरी बस्नुभन्दा नयाँ उपायहरु ल्याउनु राम्रो त हो नै। तर भर्चुअल कक्षा अनिवार्य गराउँदा त्यसको विकल्पलाई पनि सँगसँगै अघि बढाउनुपर्ने कुरा महत्वपूर्ण हो। विद्यार्थीहरुले पनि एक कदम अघि बढेर आफ्नो शैक्षिक सत्र जोगाउनेबारे योजनासहित आउनुपर्छ। महामारी छ, त्यसैले केही गर्नु हुन्न, अभाव छ भनेर टाल्दै बस्ने हो भने त्यसले देशको शैक्षिक क्षेत्रलाई नै प्रभाव त पार्छ नै विद्यार्थी स्वयंको भविष्यमा समेत असर गर्छ।
फेरि नेपालकै भनाइलाई सापटी लिने हो भने: सम्भव हुने जति विद्यार्थी अनलाइन कक्षामा जोडिदै सम्भव नहुने विद्यार्थीका लागि के कस्ता विकल्प उचित होलान् भनेर विभिन्न विकल्प खोज्दै जानु उचित होइन र? कि अनिश्चित कालसम्म यसरी नै कुनै प्रयास नै नगरी प्राध्यापक र विद्यार्थी दुवै कानमा तेल हालेर बसिरहने?