PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

कोरोनालाई नियन्त्रण गर्दै पाकिस्तान, स्कुल खुलाउने तयारी



पहिलोपोस्ट

कोरोनालाई नियन्त्रण गर्दै पाकिस्तान, स्कुल खुलाउने तयारी

इस्लामावाद : पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार ३ सय ४२ पुग्दा त्यहाँ ठीक हुनेको संख्या २ लाख ८० हजार ३ सय ४० पुगेको छ। अर्थात् १५ हजार २ एक्टिभ केसमात्र बाँकी छ पाकिस्तानमा। सेप्टेम्बर १५ देखि स्कुल खोल्ने घोषणासमेत गरेको छ पाकिस्तानले।

अहिलेसम्म यहाँ ६ हजार २ सय ८४ जनाले ज्यान गुमाइसकेका छन्। कोभिड १९ को संक्रमणलाई नियन्त्रण उन्मुख रहेको पाकिस्तानले यसै महिनाको सुरुवातमा छिट्टै रेस्टुराँहरु खुल्ने जनायो भने स्कुलहरु पनि पुन संचालनमा ल्याइने जनायो। ज्यादै न्युन परीक्षण गरेको पाकिस्तानमा संक्रमितको संख्या कसरी भयो त नियन्त्रित?

पाकिस्तानमा हरेक १० लाख जनसंख्यामा जम्मा ९ हजार ८ सय ७८ जनाको मात्र पीसीआर परीक्षण गरिएको छ। जबकि १० लाख जनसंख्यामध्ये भारतमा १८ हजार ८ सय ३१ र अमेरिकामा २ लाख २ हजार १ सय ६ जनामा परीक्षण भएको छ। संयुक्त अरब इमिरेटमा १० लाख जनसंख्यामध्ये ५ लाख ६८ हजार २ सय २३ जनामा परीक्षण भएको छ, जुन संसारकै सबैभन्दा धेरै हो। थोरै परीक्षण भए पनि पाकिस्तानमा संक्रमितको संख्या कसरी नियन्त्रणमा आइरहेको छ त?

दक्षिण एसियाली मुलुकहरुमध्ये सुरुमा संक्रमितको संख्या र मृत्युमा भारतभन्दा अगाडि थियो पाकिस्तान। तर, नियन्त्रणको चरणमा जाँदा पाकिस्तानले अन्य मुलुकको तुलनामा आफूलाई अब्बल सावित गरेको छ।

पाकिस्तानी रणनीति के थियो?

पाकिस्तानमा संक्रमित फैलन नदिन मुल रणनीति थियो - स्मार्ट लकडाउन। जुन ठाउँमा कोरोनाको हटस्पट देखियो त्यही क्षेत्रलाई मात्र पूर्ण रुपमा उसले लकडाउन गर्‍यो। धेरै सानो क्षेत्रमा लकडाउन गर्दा त्यसले अति आवश्यक वस्तु आपूर्तिमा सहज बनायो भने त्यसको असर अरु क्षेत्रमा परेन। यसले मुलुकमात्र होइन, प्रान्तकै अर्थव्यवस्थालाई ठूलो असर पारेन।

कोभिड १९ को परीक्षण नगराए पनि मानिसहरुलाई आइसोलेसनमा बस्न प्रेरित गरियो जसलाई उनीहरुले स्वीकारे। 'सुरुमा त मानिसहरुले यसलाई पेन्डामिकको रुपमा नै स्वीकारेनन् किनकि उनीहरु यसबारे सिरियस थिएनन,' कराँचीको इन्दुस अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर अब्दुल बारीले भने, 'त्यसमाथि सोसल मिडियाले अनेकखाले आशंका बढाउन उत्प्रेरकको भूमिका खेल्यो। हामीले इदको १० दिन अघि लकडाउन केही खुकुलो बनायौं। त्यसको असर संक्रमितको संख्या पिकमा पुग्यो। त्यसपछिमात्रै मानिसहरु सचेत बने। उनीहरुलाई लाग्यो अब होसियार हुनुपर्छ।'

मानिसहरु सचेत भइरहँदा सरकारले पनि पर्याप्ट टेस्टिङ, ट्रेसिङ र क्वारेन्टाइनिङ गराउन सक्यो। एक जना संक्रमित भेटिँदा औशतमा ३० जनासम्म मानिसहरु ट्रेसिङमा परे। पाकिस्तानले धार्मिक क्षेत्रलाई बन्द गरेन तर त्यहाँ सामाजिक दुरी र मास्कको प्रयोगलाई प्रेरित गरियो। शिक्षितहरु महिनौंसम्म मस्जिदतिर गएनन्।

स्मार्ट लकडाउन, आइसोलेसन वार्डको तयारी नै मुख्य कारण रह्यो जसले पाकिस्तानलाई क्रमश: सुरक्षित बनाउँदै लग्यो। यतिसम्म कि जति आइसोलेसन बेड तयार गरियो, त्यसलाई पूर्ण रुपमा प्रयोगमा समेत ल्याउन आवश्यक परेको छैन यहाँ। अवस्था नियन्त्रणमा लिँदै पाकिस्तानले विद्यालयहरु पुन खोल्ने घोषणा गरेको छ। संक्रमणको संख्यामा आएको नियन्त्रणलाई आगामी दिनमा पाकिस्तानले कसरी अगाडि बढाउँछ त्यो सबैतिर चासोको विषय बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell