काठमाडौं : कोभिड-१९ महामारीका कारण चाडपर्व तथा पूजाआजा पनि प्रभावित हुँदै आएका छन्। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपक्षमा गरिने महालय श्राद्ध पनि प्रभावित हुँदै छ।
भदौ १७ गतेबाट शुरु हुने सोह्र श्राद्धमा संक्रमण नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले मापदण्ड तयार पारेको छ। नगरपालिकाले एक जना पुरोहितले एक दिनमा धेरै जनाकोमा गई श्राद्ध नगर्न भनेको छ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्तो मापदण्ड सार्वजनिक गरेको हो। 'एक जना पूरोहित सोह्र श्राद्ध कार्यमा एकै दिनमा समेत धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यस पटक विशेष परिस्थितिका कारण यथासक्य वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) माध्यमबाट सोह्रश्राद्ध गर्ने /गराउने व्यवस्था मिलाउने,' मापदण्डमा उल्लेख छ।
त्यस्तै सोह्र श्राद्ध (पितृपूजन) कार्यमा आफन्त, छरछिमेकी, ईष्टमित्र, बन्धुवान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्र सामेल हुने व्यवस्था मिलाउन भनिएको छ।
महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्म, पूजा जस्ता कार्यहरु जगेर्ना गर्ने हामी सबैको परम कर्तव्य भएकाले तोकिएकै तिथिमा गर्नुपर्ने सोह्रश्राद्ध कार्यमा यसपटक वैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरु पूरोहितहरुले समेत यस विषम परिस्थितिमा प्रविधिको उच्चतम प्रयोग गरी समयमै आफ्ना यजमानहरुसँग परामर्श गरी सोही बमोजिम तयार रहनका लागि नगरपालिकाले अनुरोध गरेको छ।
त्यस्तै जन्म, न्वारान, व्रतवन्ध, विवाह, मृत्युसंस्कार लगायतका पारिवारिक तथा सामाजिक जमघट जस्ता क्रियाकलापहरुमा सहभागिता न्यून गर्ने गराउने व्यवस्था मिलाएर संभावित कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन सहयोग गर्ने सूचनामा उल्लेख छ।
