काठमाडौं : पछिल्लो २४ घण्टामा ४२ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५ सय १६ नमुना परीक्षणका क्रममा २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जना कोभिड-१९ का संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ जना कोभिड-१९ का संक्रमित थपिएका छन्।
काठमाडौंमा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा १९ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रस्तुत तथ्यांक अनुसार वागमती प्रदेशमा २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। वागमती प्रदेशमा काठमाडौंपछि धेरै चितवनमा ५७ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश २ मा २ सय ८१ जना कोभिड-१९ का संक्रमित थप भएका छन्। जसमध्ये सर्लाहीमा ८३ र पर्सामा ७३ जना छन्।
प्रदेश १ मा ९८ जना संक्रमित थपिँदा मोरङका सबैभन्दा धेरै ३१ जनामा संक्रमण पुष्टि भएको छ। सुदुरपश्चिम प्रदेशमा ८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश ५ मा ६८ र गण्डकी प्रदेशमा ५५ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा कम कर्णाली प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ।

