नयाँ दिल्ली : एकै दिन संक्रमित पहिचान संख्यामा भारतले वर्ल्ड रेकर्ड कायम गरेको छ। शनिवार भारतमा झन्डै ७९ हजार नयाँ संक्रमित फेला परेका छन्। २४ घन्टामा विश्वक कुनै पनि मुलुकमा भेटिएका संक्रमितको यो सबैभन्दा धेरै संख्या हो। यससँगै भारतमा कोभिड १९ का संक्रमितको संख्या ३५ लाख पार भएको छ।
शनिवार ७८ हजार ९ सय ३ जना नयाँ संक्रमित भारतमा थपिए। जुलाई २५ मा अमेरिकामा ७८ हजार ४ सय २७ जना संक्रमित भेटिँदा त्यो विश्वकै सबैभन्दा धेरै संक्रमित फेला परेको दिन बनेको थियो। त्यसलाई शनिवार भारतले उछिनेको हो।
गएको एक सातालाई हेर्ने हो भने भारत कति खराब अवस्थाबाट गुज्रिँदैछ भन्ने देखाउँछ। एक सातामा भारतमा ४ लाख ९६ हजार ७० वटा केस फेला परेको छ। एक सातामा प्रतिदिन औशत ७० हजार ८ सय ६७ जना नयाँ संक्रमित थपिए। एक सातामा थपिएका संक्रमितको संख्यामा पनि यो वर्ल्ड रेकर्ड नै हो।
महाराष्ट्रमा मात्रै हिजो १६ हजार ८ सय ६७ जनामा संक्रमण देखियो। यसअघि महाराष्ट्रमा अगस्ट २६ मा १४ हजार ८ सय ८८ जना संक्रमित थपिँदा त्यो राज्यकै सबैभन्दा उच्च संक्रमण फिगर थियो।
शनिवारमात्र नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा ५ हजार ६ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्। यसले नेपालमा कोभिड १९ को जोखिम कायमै रहने संकेत गर्छ। शनिवार आन्द्र प्रदेशमा १० हजार ५ सय ४८ जना नयाँ संक्रमित थपिए भने कर्नाटकमा ८ हजार ३ सय २४ जना।
कोरोना भाइरसको संक्रमण सुरु भएदेखि यताको १ सय ७४ दिनमा महाराष्ट्रमा मात्रै ७ लाख ५० हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। महाराष्ट्रको मुम्बई अझै पनि भारतको सबैभन्दा ठूलो हट स्पट कायम छ।
