PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

साँघुरो कोठामा ८१ वर्षीय मदनको शव, दुई दिन भयो, न लिइयो स्वाब, न बढ्यो अन्त्येष्टिको काम



सविन ढकाल

साँघुरो कोठामा ८१ वर्षीय मदनको शव, दुई दिन भयो, न लिइयो स्वाब, न बढ्यो अन्त्येष्टिको काम

काठमाडौं : सामान्य दिनमा ८१ वर्षीय मदन (नाम परिवर्तन) सबेरै उठ्थे। तर, शनिवार बिहान त्यसो भएन। घाम झन्डै धुरीमाथि आइसक्दा पनि उनी उठेनन्। नजिकै बसेको परिवारले मदनको परिस्थिति नियालिरहेको थियो। त्यही परिवारका एक बालक कोठा नजिकै पुगे। र, मदनलाई बोलाए। तर, उनी बोलेनन्।

नजिकका सबैको मनामा शंका पलायो। प्रहरीलाई खबर गरियो। महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली घटनास्थलमा पुग्यो। त्यहाँ पुगेका प्रहरीले झ्यालबाट चिहाएर हेरे। अनि चर्को आवाजमा बोलाए। तर, उनी बोलेनन्। उनले जवाफमात्र नदिएको होइन, शरीरको हलचल केही देखिएन। त्यसपछि सबैजना एउटै निर्णयमा पुगे- मदनले सधैंको लागि आँखा चिम्लिए।

उनको कोठाभित्र छिरेर हेर्ने हिम्मत कसैमा थिएन। परिस्थिति यस्तो बनेको छ कि हिम्मत देखाउने हिम्मत पनि जुट्ने कुरै भएन। समय नै यस्तै।

यो घटनाक्रम हो - काठमाडौं तिलगङ्गास्थित शान्ति सेवा गृहभित्रको। देशभर कोभिड-१९ का कारण मानिस मर्ने दर दिनदिनै बढिरहेको छ। मदनको मृत्युले पनि त्यस्तै संकेत गरिरहेको थियो। त्यसैले पनि शवको नजिक जाने वातावरण बनेन।

प्रहरीले पनि त्यही गर्‍यो जुन सेवा गृहका स्टाफहरुले गरेका थिए। वृद्धमा कोभिड १९ सँग मिल्दा केही लक्षणहरु देखिएको थियो। तर, कोभिड नै भन्नका लागि परीक्षण भएको थिएन। ८१ वर्षीय वृद्धमा केही दिनदेखि उच्च ज्वरो थियो।

'केही दिनदेखि बिरामी हुनुहुन्थ्यो। हामीले उहाँलाई राम्रो केयर र खानपानको व्यवस्था मिलाएका थियौं। तर शनिवार बिहानै एक्कासी बितेको देख्नु पर्‍यो,' शान्ति सेवा गृहका कार्यक्रम संयोजक विजेन्द्र कुँवरले भने।

केही दिनअघि मदनलाई ज्वरो आएपछि उनीसँगै बसेका अन्य दुई जनालाई अन्यन्त्र कोठामा सिफ्ट गरिएको थियो। उनीहरु दुई जनाको कोभिड-१९ परीक्षणका लागि स्वाब पठाइसकिएको छ। तर, वृद्ध मदनले भने जीवितैछँदा स्वाब जँचाउन पनि पाएनन्।

अब उनको मृत्युको कारण कोभिड १९ हो या होइन, अन्योल छ। उनको मृत्यु भएको २४ घण्टा बितिसक्दा पनि शव उठ्न सकेको छैन। शनिवार बिहान १० बजेर ४५ मिनेटमा बुझ्दा मदनको मृत्यु भइसकेको थियो। घरको दुईवटा भर्‍याङ चढेर दुई घरको कुनामा मदन बस्ने कोठा छ। सहजै घामको प्रकाश पनि छिर्न सक्दैन त्यहाँ। साँधुरो कोठामा बाहिरबाट चुक्कुल लगाइएको छ। झ्याल खुल्लै छ। शनिवार बिहानदेखि कोठामा कोही पनि छिरेका छैनन्।

झ्यालबाट देखिन्छ भुइँमा लत्रिएको हात। अचल शरीरले उनी मरेको अनुमान गरिएको छ। एकातिर उनको शव उठेको छैन, अर्कोतिर भित्रबाट नराम्रो गन्ध आइरहेको छ।

त्यहाँका कर्मचारी र स्थानीयले पटकपटक उनको स्वाब संकलनका लागि गुहार लगाइसकेका छन्। प्रहरीले पनि स्वाब संकलनका लागि अनुरोध गरेको छ। तर, न त स्वाब परीक्षणका लागि यहाँ कोही पुगेको छ। न त आफैं जलाउन निर्देशन नै पाएका छन्।

'हामीले कोभिड १९ लागेका मानिसको झैं व्यवस्थित तरिकाले अन्त्येष्टि गर्ने सबै तयारी गरेका छौं। तर, केही निर्देशन नै आएको छैन। राज्यले हामीलाई नै अन्योलमा पारेको छ,' कार्यक्रम संयोजक कुँवरले भने।

मदनको मृत्युमा प्रहरी समेत निरीह देखिएको छ। उसलाई शव व्यवस्थापन गर्ने अधिकार छैन। स्थानीय जनप्रतिनिधि समेत मुकदर्शक बनिरहेका छन्।।

'मैले हिजोदेखि प्रयास गरेको भएन। खै काठमाडौंका मेयरसँग पनि प्रयास गरेको हो। केही जानकारी आएन,' काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेश कुमार डंगोलले भने।

स्वाब संकलनका लागि प्रहरी र स्थानीय प्रतिनिधिहरुले जिल्लाको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)लाई पनि खबर गरिसकेको हो। त्यसपछि स्वास्थ्य मन्त्रालयको केन्द्रीय हेल्प डेस्कमा पनि खबर गरियो। तर, त्यहाँबाट पनि आश्वासनमात्र आयो, स्वाब संकलन गर्न कोही पनि आएनन्।

प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई पनि खबर गर्‍यो। उनले पनि पहल गरे। तर, पहल पहलमा नै सीमित भयो। २४ घण्टा बित्यो कोही आएनन्, शव अलपत्रमात्रै।

'हामीले घटनास्थल गएर बुझ्दा कोभिडको लक्षण समेत देखेकाले केही गर्ने कुरा भएन। तर आजसम्म पनि शव उठेको छैन। स्वाब संकलन पनि भएको छैन। हामीले सम्बन्धित निकायमा जानकारी दिएका छौं,' महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेतले भने।

भदौको गर्मीमा शवबाट गन्ध आउनु ठूलो कुरा होइन। तर, त्यसले त्रासमाथि त्रास थपेको छ। उसै त मानिसहरु कोरोनाका कारण त्रासित छन्। उनको स्वाब परीक्षण गरेर संक्रमण देखिएन भने सजिलै दाह संस्कारमा लैजान मिल्छ। संक्रमण देखियो भने शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिनेछ। तर, स्वाब नै परीक्षण नगरिएकाले शव कहिले उठ्ला? उत्तर कसैसँग छैन।

ती वृद्ध २५ वर्षदेखि शान्ति गृहमा बन्दै आएका हुन्। पोखराका उनी अनाथ भएपछि यहाँ पुर्‍याइएका थिए। २५ वर्षपछि उनको शव फेरि 'अनाथ' बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell