PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

संक्रमितलाई अब ‘सिस्टर रोबोट’ले खाना र औषधि पुर्‍याउने, वीरगंजको कोभिड अस्पताललाई हस्तान्तरण



राधेश्याम पटेल

संक्रमितलाई अब ‘सिस्टर रोबोट’ले खाना र औषधि पुर्‍याउने, वीरगंजको कोभिड अस्पताललाई हस्तान्तरण

वीरगंज: कोभिड १९ का संक्रमितलाई मेसिनका माध्यमबाट सेवा दिन सिस्टर रोबोट तयार पारिएको छ।

सानो पाइला संस्था वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा तयार पारेको सिस्टर रोबोटले वीरगंजको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुको लागि खाना, औषधि तथा अत्यावश्यक समान पुर्‍याई दिने भएको हो।

सानो पाइलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीको रोहबरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरलाई एक थान विद्युतीय सिस्टर रोबोट प्रदान गरेको छ।

सानो पाइला संस्थाका कर्मचारी तथा भौतिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले कोभिड महामारीमा अस्पतालमा काम गर्ने धातुबाट बनेको विद्युतीय सिस्टर रोबोट आविष्कार गरेको संस्थाका कार्यकारी निर्देशक कन्चन झाले जानकारी दिए।

‘संक्रमितलाई खाना, नास्ता, पानी, औषधिलगायत कामको लागि स्वास्थ्यकर्मीहरु अब संक्रमित नजिक नगए पनि हुन्छ,’ उनले भने, ‘सिस्टर रोबोटमा समान राखेर कोभिड अस्पतालका कोठामा हरेक बेडसँग पठाउन सकिने सुविधा छ।’

सिस्टर रोबोटमा भएको ब्याट्री चार्ज गरेपछि दैनिक रुपमा त्यसले काम गर्छ। सिस्टर रोबोट उपलब्ध गराएकोमा नारायणी अस्पताल वीरगंजले सहयोगी संस्थालाई धन्यवाद दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell