काठमाडौं: नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ।
रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ले प्रथम पुरस्कार जितेको हो। रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गर्यो। विभिन्न देशका फिल्महरु प्रतिस्पर्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको छ।
‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरुका लागि ठूलो सम्मान हो।’ ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो। गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो। घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।
हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन्। साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको स्क्रिप्ट पनि पाण्डेले नै लेखेका हुन्।
