PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भक्तपुरमा होम आइसोलेसनमै मृत्यु, संक्रमितको शव यसरी भयो व्यवस्थापन

भक्तपुरमा होम आइसोलेसनमै मृत्यु, संक्रमितको शव यसरी भयो व्यवस्थापन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भक्तपुर नगरपालिकाको वडा १ दुधपाटीका एक जना कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भयो।

शुक्रवार संक्रमण पुष्टि भएका उनको आइतवार बिहान मृत्यु भएको हो।

उनको मृत्युपछि दुधपाटीमा रहेको घरमा उनका आफन्त भेला भइसकेका थिए। शुभचिन्तक र स्थानीयलाई उक्त घरमा प्रवेश निषेध थियो। घरको भित्तामै लेखिएको थियो कोभिड- १९ संक्रमित क्षेत्र- प्रवेश निषेध।

दिउँसो करिब २ बजेतिर सेनाको शव व्यवस्थापन टोली आइपुग्यो। शव व्यवस्थापन चिनिएको भक्तपुरको आरएनए १६ टोली पनि आइपुग्यो।

मृतकका आफन्त भेला भइसकेका थिए।

शव व्यवस्थापन टोलीले त्यहाँ उपस्थित भएकालाई सचेत गराउँदै घरभित्र पसे।

टोली एकैछिनमा  र्‍याप गरिएको शव बोकेर सडकमा आइपुगे।

उनीहरुले आफन्तहरुलाई फूलहरु चढाउन लगाए। नेवारी परम्पराअनुसार आफन्तहरुले श्रद्धाञ्जली दिए।

६५ वर्षीय ती पुरुषलाई कोभिड संक्रमण देखिएपछि घरमै राखेर उपचार गर्दै आएका थिए। उनी मधुमेह र प्रेसरको रोगी रहेको भक्तपुर नगरपालिकाको वडा १ दुधपाटीका वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए।

भक्तपुर स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारकाअनुसार ती पुरुष भदौ ११ गतेदेखि होमआइसोलेनमा थिए। 

'संक्रमितले आफू घरमै बस्न चाहेकाले होम आइसोलेसनमा बस्न अनुमति दिइएको हो। उहाँमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन,' मिजारले भने।

ती पुरुषको पशुपतिस्थित विद्युतीय शवदाहमा अन्तिम दाहसंस्कार गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell