PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वीपीमा १० वर्षीया बालिकाको दुरवीन प्रविधिबाट दुर्लभ शल्यक्रिया



फूलमाया पुरी

विराटनगर: सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक दुर्लभ शल्यक्रिया सफल भएको छ।

१० वर्षीया बालिकाको अण्डायसको दुरविन प्रविधिबाट सफल उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

प्रवक्ता डा.सापकोटाका अनुसार ती बालिका एक साताअघि पेटको समस्या लिएर प्रतिष्ठान पुगेकै दिइन्। उनको सिटिस्कान गर्दा पेटमा दुवै अण्डासयमा ट्यूमर रहेको पुष्टि भएको थियो।

बालिकामा ट्यूमर देखिएपछि उनलाई अप्रेसनको मिति तय गरी दुरवीन विधिबाट अप्रेसन गर्न प्रतिष्ठानले सुझाएको थियो।

प्रतिष्ठानका डा.अजय अग्रवाल र डा.मदन खड्काको टोलीले बालिकाको पेटमा भएको ट्यूमरको सफल शल्यक्रिया गरेका हुन्।

प्रतिष्ठानमा यसअघि यस किसिमको शल्यक्रिया बालबालिकामा नभएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए।

सामान्यतया वयस्क महिलामा मात्र अण्डादानीमा ट्यूमर हुने गर्दछ। त्यसमा पनि महिनावारी नै नभएको बालिकामा त अत्यन्तै न्यून हुने डा.अजय अग्रवालले बताए।

डा.अग्रवालका अनुसार सुनसरीको इटहरीबाट आएकी बालिकामा एक महिनादेखि पेट सुन्निने समस्या थियो। प्रतिष्ठानमा आएपछि चिकित्सक टोलीले ट्यूमरको शंका गरी सिटीस्क्यान गराएका थिए।

सिटीस्क्यान गरी हेर्दा बालिकाको अण्डकोषमा दुवैपट्टी ट्यूमर देखिएको थियो। एक पट्टीकोमा १० सेन्टीमिटर र अर्कोपट्टी १५ सेन्टीमिटरको।

‘ट्यूमर भएकाले औषधि खाएर मात्र निको हुँदैन त्यसैले अप्रेशन नै गर्नुपर्थ्यौ’ डा.अग्रवालले भने ‘तर दुरवीन प्रविधिको प्रयोगबाट यति कम उमेरको बालबालिकाको अप्रेशन हामीले पनि यसअघि गरेका थिएनौं, यो नै हाम्रो पहिले प्रयास हो।’

शुक्रवार शल्यक्रिया गरिएको बालिकाको दुवै अण्डकोष बचाउनु अर्को चुनौती थियो। तर दुवै अण्डकोषलाई सुरक्षित राख्न सफल भएको उनले बताए।

बालिकामा क्यान्सर नभएका कारण दुवै अण्डकोस बचाउन सकिएको डा.अग्रवालको भनाइ छ।

‘कहिले काहीँ हर्मनको कारणले यस्तो समस्या देखिन्छ भने क्यान्सर देखिँदा पनि यस्तो समस्या आउँछ’ उनले भने ‘तर यी बालिकामा कुनै क्यान्सर नभइ अण्डकोसको दुवैपटी ट्यूमरण भएको थियो।’

अहिले बालिकाको अवस्था सामान्य छ शनिवार नै डिस्चार्ज गर्न सकेपनि पारिवारिक अवस्थाका कारण आइतवार मात्रै अस्पतालबाट बालिकाले डिस्चार्ज लिएको डा.अग्रवालले जानकारी दिए।

त्यसो त अस्पतालले बालिकालाई दुई सातापछि फलोअफमा बोलाएको छ। ‘ट्यूमर निकालेको रिपोर्ट आउन बाँकी छ त्यसैले हामीले दुईसातापछि उनलाई फलोअपमा बोलाएका छौं’ डा.अग्रवालले भने।

दुरवीन प्रविधिबाट गरिने शल्यक्रिया सामान्य तहमा महङ्गो हुने गर्दछ। यस प्रविधिमम विशेष उपकरण र शीपको आवश्यकता पर्ने प्रतिष्ठानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell