PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

दुई प्रहरीसहित सुदूरपश्चिममा थपिए एक सय जना कोरोना संक्रमित



एम बम

दुई प्रहरीसहित सुदूरपश्चिममा थपिए एक सय जना कोरोना संक्रमित

कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक सय जनामा संक्रमण पुष्टि भएको हो।

धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका-१२ जना, कैलालीको धनगढी उपमहानगरपालिकाका-१० जना, अछामकै रामारोशन गाउँपालिकाका-६ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, कैलालीको गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर गाउँपालिकाका दुई जना र कैलारी गाउँपालिकामा एक जनामा पनि कोरोना पुष्टि भएको छ। यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका-५ जना र वेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यसमध्ये जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ। तर, उनी कार्यालयमा हाजिर थिएनन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक बिष्टले उनले केही समय अगाडि उपचारको लागि बिदा लिएर काठमाडौं गएको र पुनः हाजिर हुन आएपछि पीसीआर परीक्षण आवश्यक पर्ने भएकोले परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताए। अहिलेसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत चार जना प्रहरीमा संक्रमण देखिएको छ।

उता, डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताए। दार्चुलाका संक्रमितमध्ये एक जना जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हुन्।

काठमाडौंबाट सरुवा भई आएर क्वारेन्टाइनमा बसेका उनको स्वाब संकलन गरेर डडेल्धुरा पठाइएकोमा आइतवार ती जवानको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले बताए।

यस्तै, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ती सबै संक्रमित डोटीकै हुन्।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार नौ सय तीन पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell