इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको टी२० सिरिज अन्तर्गतको दोस्रो खेलमा इङ्ग्ल्याण्डले जित निकालेको छ। गएराति म्यानचेस्टरमा भएको खेलमा इङ्ग्ल्याण्डले ५ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। जसका लागि मोहम्मद हफिजले सर्वाधिक ६९ रन बनाउँदा कप्तान बाबर आजमले ५६ र फखर जमानले ३६ रन बनाएका थिए। इङ्ग्ल्याण्डका अदिल रासिदले २ विकेट तथा क्रिस जोर्डन र टम करनले समान १/१ विकेट लिएका थिए।
१९६ रनको ठूलो लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। जसका लागि कप्तान इयोन मोर्गानले ३३ बलमा सर्वाधिक ६६ रन बनाए। त्यस्तै डेविड मलानले अभिजित ५४ रन, जोनी बेइर्ट्रोले ४४ रन तथा टम ब्यान्टनले २० रन बनाए। पाकिस्तानका लागि सहाब खानले ३ विकेट र हरिस रउफले २ विकेट लिए पनि इङ्ग्ल्याण्डलाई रोक्न त्यो पर्याप्त रहेन।
जितसँगै तीनम्याचको सिरिजमा इङ्ग्ल्याण्डले १-० को अग्रता लिएको छ। सिरिजको पहिलो खेल वर्षाका कारण नतिजाबिहीन रहेको थियो।
