PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दम्पतीमा देखियो कोरोना भाइरस : दुई बैंक बन्द!



रासस

दम्पतीमा देखियो कोरोना भाइरस : दुई बैंक बन्द!

दमौली : तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। भानु नगरपालिकामा आइतवार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन्। गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

'बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ,' थापाले भने, 'सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ।' यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताए।

भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्यरत थिए। बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतवार खुले पनि दुवै जना बैङ्कमा भने आएका थिएनन्। 'तर पनि उहाँहरुको बैङ्कमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी गरेका छौँ, रिपोर्ट नआइन्जेल बैङ्क बन्द गर्न भनेका छौँ,' अध्यक्ष थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell