आइपीएल खेल्न संयुक्त अरब इमिरेट्स पुगेका चेन्नइ सुपर किंग्सका अनुभवी ब्याट्सम्यान सुरेश रैना प्रतियोगिता सुरु नहुँदै फर्किए। उनी किन फर्किए? धेरैखाले अनुमानहरु बाहरिए। जसमध्ये उनको फुपू र फुपाजुमाथि पञ्जावमा आक्रमण भएको घटनालाई जोडेर हेरियो। त्यस घटनामा एकजनाको मृत्यु र अर्का एकजना गम्भीर घाइते भएका थिए। त्यसैका कारण उनी फर्किएको लख काटिएको थियो।
तर, उनी फर्किएको कारण न त आक्रमण थियो न त श्रीमती र बच्चासँग नै सम्बन्धित थियो। उनले टिम छोडेर आउनुको मुल कारण टिम ब्यवस्थापनसँग होटलको 'रुम'बारेको विवाद भएको बताइएको छ। उनले राखेको माग टिम ब्यवस्थापनले वेवास्ता गरेपछि उनी फर्किएका हुन्।
यो थियो विवाद
चेन्नइ सुपर किंग्स २१ अगस्टमा दुबई पुगेको थियो। होटलमा दिइएको कोठा रैनालाई मन परेको थिएन। उनी कोरोनालाई लिएर कडा प्रोटोकल चाहन्थे। अझ उनी त्यस्तै कोठाको माग गरिरहेका थिए जुन महेन्द्र सिंह धोनीलाई दिइएको थियो। भारतीय मिडियाका अनुसार जहाँ रैनालाई कोठा दिएको थियो त्यसमा बाल्कोनीसमेत थिएन।
धोनीले पनि रैनालाई ‘कन्भिस’ गराउन प्रयास गरे पनि रैना मान्न तयार नभएको बताइएको छ। अझ टिमका २ खेलाडीसहित १३ जनामा कोरोना पोजेटिभ भेटिएपछि रैना धेरै डराएका थिए। सीएसकेका मालिक तथा बीसीसीआईका पूर्वअध्यक्ष श्रीनिवासनले रैनाले अचानक टिम छाडेर जाँदा टिममा धक्का परे पनि धोनीले स्थितिलाई सम्हालेको बताएका छन्।
‘मेरो विचारमा तपाईं अनिच्छुक हुनुहुन्छ या खुशी हुनुहुन्न भने पछि हट्न सक्नुहुन्छ। म कसैलाई पनि केही गर्नका लागि दवाब दिन सक्दिन। कहिलेकाहीँ सफलता शिरमा चड्छ,’ श्रीनिवासनले भनेका छन्, ‘मैले धोनीसँग कुरा गरेको छु। उनले मलाई यदि टिममा कोरोना संक्रमणको केस बढेको खण्डमा पनि टिमको स्थिति नियन्त्रणमै रहने विश्वास दिलाएका छन्।’
उनले धोनीले जुम कल मार्फत् खेलाडीहरुसँग समन्वय गरिरहेकाले डराउनु पर्ने अवस्था केही नरहेको बताएका छन्।
चेन्नइका फास्ट बलर दीपक चाहर र विकेट किपर ब्याट्सम्यान ऋतुराज गायकवाडमा कोरोना पुष्टि भएको थियो।
‘सुरेश रैना फर्किनु गायकवाडका लागि भने राम्रो हुन सक्छ। उनी एक सानदार ब्याट्सम्यान हुन र उनलाई अब अवसर मिल्न सक्छ,’ उनले भनेका छन्। उनले रैनाले आफूले के गुमाएँ भन्ने महसुस हुने र उनको अनुपस्थितिले टिममा खास फरक नपर्ने समेत बताएका छन्। यद्यपि, आइपीएल अझै सुरु भइनसकेकाले रैनाले महसुस गरेर अझै फर्कने विश्वास उनले लिएको बताएका छन्।
रैना युएइ गएको १० दिनपछि शुक्रवार भारत फर्किएका थिए। जसबारे ट्वीटरमा चेन्नइ सुपरकिंग्सले उनी ब्यक्तिगत कारणले फर्किएको जनाएको थियो।
रैनाको विकल्पमा को?
इएसपीएन क्रिकइन्फोले रैनाको विकल्प बन्न सक्ने पाँच खेलाडीको सूची बनाएको छ। जसमा युसुफ पठान, मनोज तिवारी, ध्रुव सोरे, हनुमा विहारी र चेतेश्वर पुजारा रहेका छन्।
अनुभवी खेलाडीको खोजीमा रहेको चेन्नइका लागि ३८ वर्षे युसफ पठान उपयुक्त हुन सक्छन्। छोटो फर्म्याटमा २ सय ७५ खेल खेलेका उनी भन्दा धेरै भारतीय खेलाडीहरुमा विराट कोहली, दिनेश कार्तिक, महेन्द्र सिंह धोनी, सुरेश रैना र रोहित शर्माले मात्र खेलेका छन्।
त्यस्तै, पछिल्ला दुई अक्सनमा टिमहरुको ध्यानमा नपरेका मनोज तिवारी विकल्प हुनसक्ने बताइएको छ। उनी पछिल्लो समय कमेन्ट्रीमा लागेका छन्। सन् २०१८ मा चेन्नइ विजेता र २०१९ मा उपविजेता हुँदा टिममा रहेका थिए।
त्यस्तै, टेस्ट क्रिकेटमा चर्चित हनुमा बिहारी पनि विकल्पको रुपमा हेरिएको छ। उनले यसअघि दिल्ली र हैदरावादबाट खेलिसकेका छन्। त्यस्तै टेस्टमै सफल चेतेश्वर पुजारा पनि विकल्प हुनसक्ने इएसपीएनक्रिकइन्फोले जनाएको छ।
