काठमाडौं : सडकमा नै खटिएर 'सेलिब्रेटी' छवि बनाएको नाम हो सितारामा हाछेथु। तीन दशक नेपाल प्रहरी जागिरे जीवन बिताए उनले, त्यसमा पनि २९ वर्ष त ट्राफिक प्रहरीमा मात्रै।
ट्राफिक व्यवस्था सम्बन्धि राम्रो ज्ञान भएका पूर्व प्रहरी निरीक्षक हाछेथुलाई ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखको रुपमा नियुक्त गरेको छ।
आइतवार ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले उनलाई नयाँ जिम्मेवारी सुम्पिएका हुन्। पूर्व प्रहरी निरीक्षक हाछेथुबाट ललितपुर क्षेत्रको फुटपाथदेखि नगर प्रहरी गर्ने अन्य कामहरुमा सुधार हुने अपेक्षा राखेका छन्।
'जनतालाई निरास पार्दिन। मेरा केही योजनाहरु छन् त्यसलाई लागू गर्छु,' नवनियुक्त नगर प्रहरी प्रमुख हाछेथुले भने।
उनीसँग नेपाल प्रहरीमा रहँदा काठमाडौंको कोटेश्वर, गौशाला, कालीमाटी, सातदोबाटो, दरबारमार्ग लगायतका स्थानमा ट्राफिक व्यवस्थापन गर्दाको राम्रो अनुभव छ। पछिल्लो समय नगर प्रहरीलाई आम मानिसले हेर्दे दृष्टिकोण नकारात्मक भएकाले त्यसलाई परिवर्तन गर्नु पहिलो प्राथमिकता रहेको हाछेथुले बताए।
'बरु भाटभटेनीको गार्डलाई मानिसले सम्मान गर्छ तर नगर प्रहरीको त्यो पनि हैसियत छैन। किन भने उनीहरुले आम मानिसलाई दु:ख दिएका छन्। आर्थिक पारदर्शिता छैन। मेरो कार्यकालमा त्यसो हुन दिन्न। नगर प्रहरीलाई मानिसले हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिन्छु,' हाछेथुले भने। उनले २०७५ मंसिरमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका थिए।
