भारत र चीनका सैनिकबीच शनिवार/आइतवार राती पूर्वी लद्दाखमा झडप भएको छ। २९/३० अगस्टको राती पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच धकेलाधकेल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन्। ‘हामीले चीनलाई अघि बढ्न दिएनौं। यो इलाकामा तैनाथी बढाएका छौं,’ प्रवक्ताले भने।
झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको छ। झडपमा हताहती भएको बारे कुनै जानकारी प्राप्त भएको छैन। अहिलेसम्म सबै जवान सुरक्षित रहेको बताइएको छ।
यसअघि जुन १५ मा गलवान घाटीमा भएको हिंस्रक झडपमा मेजरसहित २० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता भारत र चीन सम्बन्धमा तनाव सिर्जना भएको छ। सो घटनापछि भारत चीन बोर्डरमा अहिले दोस्रो पटक ठूलो घटना भएको हो।
भारतले यो घटनापछि चीनले सम्झौता तोडेको आरोप लगाएको छ।
भारतीय सेनाका पीआरओ कर्नल अमन आनन्ले भारतीय सेना सम्वादका माध्यमबाट सीमामा शान्ति कायम राख्न चाहेको र आफ्नो देशको रक्षाका लागि उतिकै संकल्पबद्ध रहेको पनि बताएका छन्।
प्याङ्गोङ ताल विवाद
१३४ किलोमिटर लामो प्याङ्गोङ ताल ६०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो ताल ६ किलोमिटर चौडा छ। १४ हजार २७० फिट (४ हजार ३५० मिटर) उचाईमा छ। जाडोमा यहाँ तापक्रम शून्यभन्दा पनि निकै तल झर्छ। ताल जमेर हिउँ बन्छ।
प्याङ्गोङ ताल तिब्बतदेखि भारतीय क्षेत्रसम्म फैलिएको छ। यसको पूर्वी भाग तिब्बतमा छ। ८९ किलोमिटर अर्थात करीब दुई तिहाई हिस्सामा चीनको नियन्त्रण छ। तालको ४५ किलोमिटर पश्चिमी भागमा करीब एक तिहाई क्षेत्रफल भारतको नियन्त्रणमा छ।
चीनले प्याङ्गोङ ताल क्षेत्रमा स्थायी सैन्य संरचना निर्माण गरेको छ। तालको किनारै किनार भारी र सैन्य वाहन पनि ओहोर दोहोर गर्न सक्ने सडक बनाएको छ।
मे महिनादेखि यहाँ तनाव सुरु भएपछि भारतले पनि प्याङ्गोङको दक्षिणी किनार चुशुल सेक्टरमा सैन्य उपस्थिति बढाएको छ।
प्याङ्गोङ तालले सीमामा दुबै देशलाई छुनु नै विवादको कारण हो। कहिले भारत चीनतिरको ताल क्षेत्रमा आउने र कहिले चिनियाँ सेना भारततिर तालमा जाने भएकाले बेला बेला विवाद हुने गरेको छ।
हिउँ परिरहने र सीमा एकीन गर्न पनि यहाँ समस्या हुने गरेको भारतीय सञ्चारमाध्यमका रिपोर्टले देखाउँछ।
