बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा सीबीआईले प्रेमिका रिया चक्रवर्तीमाथि अनुसन्धान केन्द्रित गरेको छ। रियासँग चार दिनदेखि लगातार सीबीआईले सोधपुछ गरिरहेको छ। रियाका फरक फरक बयान तथा अन्य व्यक्तिहरुको फरक बयानले यो मुद्दा जटिल बन्न पुगेको हो। सीबीआई साँचो कुरा के भन्ने पत्ता लगाउने कसरतमा छ।
सीबीआईले जाँच सुरु गरेको आज ११ दिन पुगेको छ। तर, घटनाको कुनै क्लू भेटिएको वा नभेटिएकोबारे केही खुलेको छैन। तर, लगातार चार दिनदेखि रियामाथि भइरहेको सोधपुछले अनुसन्धान उनीतर्फ केन्द्रित भएको देखिन्छ।
सुशान्त प्रकरणमा सीबीआईले मृत्युको दिन उनको घरमा रहेका सिद्धार्थ पिठानी, नीरज, दिपेशसँग पनि लगातार सोधपुछ गरिरहेको छ।
सीबीआईले आज सुशान्तकी बहिनी मीतु सिंहसँग सोधपुछ गर्ने तयारी गरेको छ। सुशान्तको मृत्युअघि ८ देखि १२ जुनमा के भएको थियो भन्नेबारे उनीसँग सोधपुछ हुनेछ।
भारतीय मिडियाले रिया र मीतुलाई सँगै राखेर सोधपुछ गर्ने तयारी सीबीआईले गरिरहेको उल्लेख गरेका छन्।
यो केसलाई सीबीआईका अलावा एनसीबी र इडीले पनि जाँच गरिरहेको छ।
