PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पीसीआर रिपोर्ट नपर्खी अप्रेसन गरेका बिरामीमा जब देखियो कोरोना…



प्रकाश भण्डारी

पीसीआर रिपोर्ट नपर्खी अप्रेसन गरेका बिरामीमा जब देखियो कोरोना…
प्रतीकात्मक फोटो : raft.g2hp.net/

काठमाडौं :  भदौ ९ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षको माहोल एकाएक बदलियो। बिरामीको छटपटाहटले आकस्मिक कक्षमा भएकाहरुको मन पनि अमिलो बनायो।

स्वास्थ्यकर्मी र चिकित्सक धर्मसंकटमा परे। बिरामीको उपचार गर्ने कि कोरोना परीक्षण गर्ने। कोभिड-१९ को महामारीले उनीहरुलाई तत्कालै गएर बिरामीलाई छोइहाल्न पनि नमिल्ने। एकातिर बिरामी बचाउनुपर्ने र अर्कोतिर संक्रमणबाट आफू जोगिनुपर्ने।

चिकित्सकको धर्म कसरी निभाउने - दोधारमै रुमल्लिए केही समय। कस्ता बिरामी थिए त चिकित्सक नै अलमलमा पर्ने?

मोरङका ७८ वर्षका वृद्धलाई दुई वर्षदेखि प्रोस्टेटको समस्या सताइरहेको थियो।

रोग बल्झदै गएपछि विराटनगरको एक अस्पतालमा अप्रेसन भयो। तर ठीक भएन। बरु पीडाले झनै छट्पटाउन थाले। त्यसपछि आफन्तले दौडाए बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान।

७ घण्टादेखि बिरामीले पिसाब फेर्न सकेका थिएनन्। यही पीडाको छट्पटी थियो बिरामीलाई। चिकित्सकलाई ढिला गर्ने छुट थिएन - उपचारमा ढिलाइ भए बिरामीको ज्यान तलमाथि हुन्छ। कोरोनाको महामारी भए पनि चिकित्सकलाई भने पेसाको धर्मले भाग्न दिएन। पीसीआर गर्नु जरुरी थियो। तर पीसीआरको रिपोर्ट कुर्दा बिरामीको मृत्यु हुनसक्ने खतरा थियो, डाक्टरका लागि। दोधारबीच निर्णय गर्नुपर्ने भयो। केहीबेरको अलमलपछि निर्णय भयो- जसरी पनि बिरामी बचाउने।

नेतृत्वमा थिए, युरोलोजी विभागका प्रमुख डा. सुधिर सिंह। आफ्ना सहकर्मीलाई अप्रेसनका लागि तयार रहन भने। 'बिरामीलाई कोरोना संक्रमण पनि हुनसक्छ तर हामीले अब उहाँको ज्यान बचाउने धर्मबाट भाग्न मिल्दैन,' उनले शल्यक्रियाका लागि तैनाथ स्वास्थ्यकर्मीलाई सुनाए। मुत्रथैलीमा रगत जम्ने समस्याको समाधान गर्नु थियो चिकित्सकलाई। अप्रेसन नगरी समस्या हल हुँदैन थियो। अप्रेसन जटिल भने थिएन।

'अप्रेसन त्यस्तो कम्प्लेक्स होइन। तर करोनाको बेला भएकोले अप्ठेरो परेको हो। सावधानी अपनाएर अप्रेसन तत्कालै गर्ने निर्णय भयो,' उनले भने। अर्को अस्पतालबाट आएका बिरामीलाई पीसीआर नगरी चिकित्सकले नहेर्ने भन्ने अस्पतालको नियम नै थियो तर चिकित्सकले पीसीआर रिपोर्ट पर्खने छुट थिएन। 'पीसीआरको रिपोर्ट पर्खेर उपचार गरौंला भनेको भए आज बिरामीको ज्यान रहँदैन थियो। हामीले आँट गर्‍यौ,' उनले भने। केही समयमै अप्रेसन सफल भयो।

सिंहको टोलीले राहतको सास फेर्‍यो। तर, जब अप्रेसन गरेका बिरामीको रिपोर्ट आयो। उनीहरु क्वारेन्टाइन जानुपर्ने अवस्था आइलाग्यो।

बिरामीको पीसीआर रिपोर्ट पोजेटिभ आयो। सिंहको टोली क्वारेन्टाइन पुगे। उनीहरुको पनि जाँच भयो कोभिड-१९। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी कसैलाई पनि संक्रमण देखिएन। 'हामीले सबैखालका सुरक्षाका उपाए अपनाएका थियौं। अर्को कुरा भाग्य नै भन्नुपर्छ। कसैलाई पनि संक्रमण भएन, 'सिंहले भने।

६ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भए बिरामी। सिंहको टोलीले भने सन्तोषको सास फेर्‍यो। अहिले बिरामी होम आइसोलेसनमै छन्। उनको स्वास्थ्य ठीकठाक छ। सिंहको टोलीलाई भने नयाँ अनुभव भयो। उनी आफू एकदमै खुसी भएको बताएछन्।' चिकित्सक डाक्टरका लागि पो बिरामी थिए। उनको परिवारका लागि त उनी सारा संसार थिए नि। हरेकका आफन्तले आफ्नो बिरामी जसरी पनि बचोस् भन्ने कामना गरेको हुन्छ। त्यसैले उनको ज्यान बच्यो यसमा हामी एकदमै खुसी छौ,' उनले भने।

युरिनसम्बन्धी धेरै खालका बिरामीको उपचार गरेको भएपनि ती वृद्धको उपचारले भने आफूलाई नयाँ अनुभव भएको उनले सुनाए। 'यस्तो अवस्थामा अप्रेसन यसरी रिक्स लिएर गरेको यो हाम्रो लागि नयाँ अनुभव पनि हो। हुन त हामीले त्यस्तो ठुलो केही काम गरेका हौइनौं। तैपनि बिरामी बचाउनु नै हाम्रो धर्म हो। त्यसमा हामी सफल भयौ,' उनी भन्छन्।

सिंह जस्तोसुकै बिरामीको चिकित्सकले तत्काल उपचार गर्नुपर्ने तर्क गर्छन्। कोरोनाको वाहना बनाएर डाक्टर भाग्दा बिरामीको मृत्यु भइरहेको उनको धारणा छ। 'सबैखाले सुरक्षा अपनाउँदा कोरोना पर्खेर बस्नुपर्दैन। उपचार गर्दा हुन्छ,' उनले भने। चिकित्सकको पहिलो काम नै बिरामीको उपचार भएकाले वाहना बनाउन नमिल्ने सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell