PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

विराटनगरमा नोबेल र मुन्दडा समूहले पीसीआर प्रयोगशाला १० दिनभित्र सञ्चालनमा ल्याउँदै



अनन्तराज न्यौपाने

विराटनगरमा नोबेल र मुन्दडा समूहले पीसीआर प्रयोगशाला १० दिनभित्र सञ्चालनमा ल्याउँदै

विराटनगर : विराटनगरमा निजी क्षेत्रका २ समूहले २ भिन्नाभिन्नै ठाउँमा पीसीआर परीक्षणका लागि प्रयोगशालाको सञ्चालनमा ल्याउने भएका छन्।

विराटनगरको नोबेल मेडिकल कलेज र देबेनरा मुन्दडा समूहले पीसीआर परीक्षणको प्रयोगशाला सञ्चालन गर्ने भएका हुन्। विराटनगरमा हाल कोशी अस्पताल र प्रदेश सरकारको प्रयोगशाला गरी २ ठाउँमा पीसीआर परीक्षण भइरहेको छ।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार प्रयोगशालाका लागि सबै मेसिन ल्याउने काम भइसकेको छ। मेसिन राख्ने ठाउँको निर्माण भइरहेको छ। नोबेल अस्पतालकै परिसरमा पीसीआर प्रयोगशाला हुनेछ।

नोबेलमा कम्तीमा १० दिनभित्र प्रयोगशाला सञ्चालनमा आइसक्ने प्रबन्धक दाहालले बताए।

दाहालले नोबेलले पीसीआर परीक्षणको शुल्क तय गर्न बाँकी रहेको उल्लेख गरे।

‘पहिले हामीले २ हजार ५ सय ९ रुपैयाँमा परीक्षण गर्न सकिने अनुमान गरेका थियौँ’, उनले भने, ‘तर सबै मेसिन ल्याउँदा लगानी ठूलो लाग्ने रहेछ। त्यसैले अनुमान गरेभन्दा बढी शुल्क लाग्ने देखिएको छ। निर्धारण गर्न बाँकी छ।’

देबेनरा मुन्दडा समूहले पनि १० दिनभित्र विराटनगरको वरगाछीमा प्रयोगशाला सञ्चालनमा ल्याइसक्ने प्रकाश मुन्दडाले जानकारी दिए। प्रयोगशालाको नाम ‘बी सियोर’ राखिएको छ।

‘पीसीआर, एक्स्ट्रयाक्ट लगायत सबै मेसिन आइसके’, व्यवसायी मुन्दडाले भने, ‘जडानका लागि इन्जिनियरहरू लागिरहनु भएको छ।’

मुन्दडाले सरकारले तोकेको दरमा एक जनाको पीसीआर परीक्षण ४ हजार ४ सय रुपैयाँमा गरिने स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell