PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगरमा सञ्चालनमा आए दुई निजी कोभिड अस्पताल, पीसीआर ल्याब पनि सञ्चालन गरिने



अनन्तराज न्यौपाने

विराटनगरमा सञ्चालनमा आए दुई निजी कोभिड अस्पताल, पीसीआर ल्याब पनि सञ्चालन गरिने

विराटनगर : मेडिकल हबका रूपमा चिनिँदै आएको विराटनगरका दुई निजी अस्पतालले भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन्।

विराट मेडिकल कलेजले मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको विराट अस्पताल र विराटनगरको न्यूरो अस्पतालले मदर एन्ड चाइल्ड अस्पतालमा कोभिड अस्पताल सञ्चालनमा ल्याएका हुन्। विराट अस्पतालका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले १०० शय्याको कोभिड अस्पताल एक हप्ताअघि सञ्चालनमा आएको जानकारी दिए। अस्पतालमा ६ वटा भेन्टिलेटरसहितका शय्या छन्।

अध्यक्ष कार्कीका अनुसार हाल अस्पतालमा ३६ जना उपचाररत छन्। जसमध्ये २ बिरामी भेन्टिलेटरमा छन्। उनले विराट अस्पतालमा यही हप्तादेखि पीसीआर प्रयोगशाला पनि सञ्चालनमा ल्याइने जानकारी दिए।

त्यस्तै, न्यूरोले ४२ शय्याको जनरल वार्ड, ७ शय्याको आइसीयू र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको प्रबन्धक राजेश भट्टराईले बताए। न्यूरोले केही दिनभित्र पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गर्ने प्रबन्धक भट्टराईले जानकारी दिए।

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सोमवार न्यूरोको कोभिड अस्पताल उद्घाटन गरेका हुन्। सरकारले निजी क्षेत्रबाट सञ्चालित कोभिड अस्पताललाई संक्रमितको अवस्था विश्लेषणका आधारमा सहयोग उपलब्ध गराउने भएपछि निजी कोभिड अस्पताल सञ्चालन गर्ने लहर शुरु भएको हो।

मन्त्रिपरिषद्को गत असार १५ गतेको बैठकले संक्रमितको उपचारका लागि नेपाल सरकारले अनुदानस्वरूप सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। जसअनुसार नेपाल सरकारले लक्षण नभएका, भएका, सामान्य वा मध्यम प्रकृतिको लक्षण भएका तथा गम्भीर प्रकृतिका बिरामीलाई न्यूनतम दुई सय रुपैयाँदेखि १५ हजार रुँपैयासम्मको उपचार खर्च सहयोग गर्नेछ।

सरकारले लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीलाई स्वास्थ्यकर्मीले घरमा क्लिनिकल निगरानी गर्दा १ बिरामीलाई प्रति दिन २ सय रुपैयाँ र आइसोलेसनमा राखेर निगरानी गर्दा १ बिरामीलाई २ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

सामान्य लक्षण भएका बिरामी उपचारका निम्ति निजी स्तरबाट सञ्चालित कोभिड अस्पतालमा भर्ना भए भने सरकारले तीन हजार ५ सय रुपैयाँ र मध्यम प्रकृतिका बिरामी भर्ना हुँदा ७ हजार रुपैयाँ सरकारले प्रदान गर्नेछ। जटिल तथा क्रिटिकल बिरामीका लागि भने सरकारले १५ हजार सहयोग गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell