PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

वीरगंजसँगै नेपालमै आस्थालिन औषधिको अभाव, स्वास्थ्यकर्मीलाई समेत पाउन छाड्यो



राधेश्याम पटेल

वीरगंजसँगै नेपालमै आस्थालिन औषधिको अभाव, स्वास्थ्यकर्मीलाई समेत पाउन छाड्यो

वीरगंज : स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर सोमवार विहानैदेखि तनावमा छन्। निजकी ३६ वर्षीया श्रीमति पनि स्वास्थ्यकर्मी हुन्। उनी र १४ वर्षे छोरामा कोरोना पोजेटिभ देखिएको छ। पत्नीलाई श्वासप्रश्वासमा समस्या आएपछि नेबुलाइजरले बाफ लिने उपचार सेवा दिने योजना बनाए। नारायणी अस्पतालकै क्वार्टरमा बसेका तीनै जनाको परिवारलाई नेबुलाइजर मेसिन एक जना स्वास्थ्यकर्मीले पुर्‍याए। तर त्यसमा काम लाग्ने आस्थालिन रेस्पेरेटेर सोलुशन औषधि वीरगंजमा कति औषधि पसलमा धाउँदा पनि पाइएन।

त्यसपछि थाहा भयो, वीरगंजमा यो औषधिको अहिले अभाव छ। विगत डेढ महिनादेखि वीरगंजमा यो औषधिको अभाव भएको चिकित्सकहरुले बताएका छन्। नारायणी अस्पतलाका डा. अरुणकुमार सिंहले यो औषधि दम रोगी तथा सिओपिडी विरामीको लागि राहत दिने औषधि भएकोले अहिलेको अवस्थामा सहज आपूर्ति नभए कोरोना संक्रमित तथा अन्य दम रोगीको लागि अप्ठेरो अवस्था सृजना हुन सक्ने बताए।

‘श्वासप्रश्वासमा समस्या देखिएका विरामीले १० मिनेट नेबुलाइजरले बाफ लिएपछि राहत मिल्छ,’ उनले भने, ‘धेरै महगो पनि छैन, सरकार तथा औषधि व्यवसायीहरुले आपूर्तिमा गम्भीर बन्नु पर्छ।’ उनले पछिल्लो एक महिनादेखि वीरगंजमा कोरोना संक्रमितको संख्यामा आएको वृद्धि र अन्य रोगीको लागि पनि यो औषधि चाहिने भएकोले वीरगंज तथा अन्य शहरमा पनि यो औषधिको अभाव भएको हुन सक्ने उनको आंकलन छ। उनले वीरगंजको कोभिड अस्पतालमा पनि यो औषधि आवश्यकता अनुसार दिँदा केही संक्रमितलाई राहत मिल्ने विश्वास व्यक्त गरे। अहिले संक्रमितलाई औषधि अभावमै स्टाफ नर्सहरुले यो औषधिसहितको बाफ दिन छोडेका छन्।

कोरोना संकटले गर्दा नेपाल भारतमा यातायात तथा आवतजावतमा समस्या भइरहेकोले अति आवश्यक औषधिको आयातमा पनि असर परेको औषधि व्यवसायीहरुले बताएका छन्। नेपाल औषधि व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले नेपाल–भारतको विभिन्न सरकारी कार्यालयको जालझेल तथा विविध कारणले औषधि आयात पहिलेभन्दा असहज बन्दै गएको आरोप लगाए। सरकारले आवश्यक औषधि आपूर्तिमा विशेष ध्यान नदिए कोभिड र ननकोभिड सबै प्रकारका विरामीको लागि कठिन अवस्था सृजना हुन सक्ने बताए।

आस्थालिनको १५ एमएलको झोलको सिरप नेपालमा भारतको मुम्बईमा सञ्चालित सिपलाले निर्यात गर्दै आएको छ। सिपलाका नेपाल प्रमुख नृपराज जोशीका अनुसार पछिल्लो समय भारतकै उद्योगमा उत्पादन प्रभावित भइरहेकोले नेपालमा पनि मागको अधारमा औषधि आयात हुन नसकेको बताए।

‘भारतको उद्योगमा मजदुरहरुमा कोरोना देखिँदा ५ दिन उद्योग बन्द गर्नु परिरहेको छ, भारतमा पनि उत्पादन र माग बढि छ, त्यसमा पनि पहिले जस्तो आवागमन तथा यातायात सहज नहुँदा नेपालमा पनि अभाव सृजना हुँदै गएको हो,’ उनले भने, ‘तर नेपालमा मासिक ५० हजार पिसको खपत हुने गरेकोमा नेपालमा अहिले ३० हजार थान औषधि स्टक रहेको छ।’

उनले नेपालमा औषधि स्टक रहे पनि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको कारण चालक तथा ढुवानीकर्ता औषधि ढुवानीमा निस्कृय छन्। जसले गर्दा सहज औषधि आपूर्ति गर्न कठिनाई भइरहेको बताए।

नेपालमा यो औषधि १५ एमएलको नेपाली रु ३० पर्छ। वीरगंज र जनकपुर क्षेत्रमा मात्रै यो औषधिको विगतमा करिब १० हजार पिसको खपत हुने गरेको सिपलाका वीरगंजस्थित बजार प्रतिनिधि सन्दीप गुप्ताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell