काठमाडौँ: भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै उपचारमा रहेका उनको अस्पतालमा नै मृत्यु भएको हो। ८४ वर्षका मुखर्जीको ब्रेन सर्जरीसमेत भएको थियो। 'डीप कोमा'मा रहेका उनको अस्पतालमा उपचार भइरहेको थियो।
मृत्युपछि नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेताहरुले श्रद्धाञ्जाली व्यक्त गर्दै मुखर्जीको नेपाल भ्रमणको स्मरण गरेका छन्।
मुखर्जीको नेपाल नाता
भारतबाट लामो समय राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको अवस्थामा प्रणव मुखर्जीले टुटेको भ्रमण जोडेका थिए। केआर नारायणनपछि नेपालमा राष्ट्रपतिको भ्रमण हुन सकेको थिएन। २०७३ साल कात्तिक १७ गते मुखर्जीले राष्ट्रपतिको हैसियतले राजकीय भ्रमण गरेका थिए। उनको नेपाल भ्रमण हुँदा प्रधानमन्त्री थिए प्रचण्ड।
प्रचण्डले उनको निधनमा भनेका छन्-
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ। उहाँको दुखद् निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी वौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ। मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अवसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
सन् १९९८ मा भारतीय राष्ट्रपति केआर नारायणनले नेपाल भ्रमण गरेपछि टुटेको उच्चस्तरीय भ्रमणको कडी १८ वर्षपछि मुखर्जीले जोडेका थिए। केआर नारायणन अगाडि राष्ट्रपति बनेका गणतन्त्र भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसाददेखि भीभी गिरी र जाकिर हुसेन र शंकरदयाल शर्माले पनि नेपालको भ्रमण गरेका थिए। त्यसपछि राष्ट्रपति बनेका डाक्टर एपीजे अब्दुल कलाम र प्रतिभादेवी सिंह पाटिलले नेपालको भ्रमण गरेका थिएनन्।
मुखर्जी राष्ट्रपति हुँदा मात्र होइन त्यसअघि पनि भारतीय राजनीतिमा नेपाल नजिकका नेता मानिन्छन्।
मुखर्जीले सन् २००८ मा भारतीय विदेशमन्त्रीको हैसियतमा नेपाल भ्रमण गरेका थिए। त्यति बेला पनि प्रचण्ड प्रधानमन्त्री थिए।
त्यसअघि २००६ मा पनि उनले विदेशमन्त्रीको हैसियतमै नेपाल भ्रमण गरेका थिए।
जनआन्दोलन २ पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालामा भएको उक्त भ्रमणमा मुखर्जीले कोइरालालाई भारत भ्रमणको निम्तो दिएका थिए। त्यति बेला परराष्ट्रमन्त्रीको हैसियतामा हालका प्रधानमन्त्री केपी शर्मा ओली थिए। उनले ओलीसँग पनि भेट गरेका थिए।
त्यति बेला उनले तत्कालीन माओवादीका नेताहरुलाई भने भेट गरेका थिएनन्। सोही भ्रमणका क्रममा हिन्दुस्तान टाइम्सका पत्रकार अनिर्वान रोयले नेपालमा मुखर्जीलाई सोधेका थिए- हामीले बुझ्न सकेनौँ कि किन तपाईँले माओवादी नेताहरुलाई भेट्नु भएन्? के भारतका लागि माओवादीहरु अझै ‘अछुत’ नै हुन्? किन भने हामीले देख्यौँ मेनन (तत्कालीन विदेश शचिव शिवसंकर मेनन्) ले पनि माओवादी नेताहरुसँगको भेटबाट टाढै रहे? स्मरण रहोस नेपालमा लोकतन्त्र स्थापनापछि विदेश सचिव मेननले नेपाल भ्रमण गरेका थिए।
जवाफमा मुखर्जीले भनेका थिए-
यहाँ अछुतको कुरै छैन। मूलधारको राजनीतिमा आउने माओवादीको निर्णयलाई हामीले स्वागत गरेका छौँ र यो एउटा वुद्धिमतापूर्ण निर्णय हो। तर, एउटा सरकारको प्रतिनिधिको रुपमा आउँदा हामी सरकारको राजनीतिक प्रणालीभित्र रहेका व्यक्तिहरुसँग भेट गर्छौँ। छलफल गर्छौँ। त्यसैले पनि हामीले सरकारमा सहभागी नभएका पार्टीका नेतासँग भेट गरेका छैनौँ। जुन बेला माओवादी सरकारमा सहभागी हुन्छ त्यति बेला उनीहरुलाई नभेट्ने भन्ने कुरै आउँदैन्।
त्यति बेला मुखर्जीलाई सोधिएको अर्को प्रश्नमा उनले माओवादीले राष्ट्रिय राजनीतिमा सहभागी हुनु र सरकारमा सहभागी हुनुले अन्य क्षेत्रमा रहेका माओवादीहरुलाई पनि मूलधारमा आउन प्रेरणा दिने बताएका थिए। उनले भारतमा रहेका माओवादी समूहलाई त्यति बेला इंगित गरेका थिए।
त्यसको दूई वर्षपछि पुन: विदेशमन्त्रीको हैसियतमा नेपाल भ्रमण गरी उनले प्रचण्डसँग भेट गरेका थिए।
त्यस्तै २००९ मा नेपाल भ्रमणका क्रममा कालापानी र सुस्तासहितका दुई देशबीचको सीमा विवादलाई सम्वादका माध्यमबाट समाधान गर्न सहमति जनाएका थिए।
उनको नेपाल साइनो त्यति मात्र सीमित छैन्। सन् १९९६ मा उनले महाकाली सन्धिको प्रारम्भिक सहमतिमा नेपालका समकक्षी डा. प्रकाशचन्द्र लोहनीसँगै हस्ताक्षर गरेका थिए। उनले १९९६ जनवरीमा नेपालको भ्रमण गरेका थिए।