PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिममा ९ महिनाकी शिशु र दुई प्रहरीसहित २६ जना कोरोना संक्रमित थपिए



एम बम

सुदूरपश्चिममा ९ महिनाकी शिशु र दुई प्रहरीसहित २६ जना कोरोना संक्रमित थपिए

कैलाली : सुदूरपश्चिममा थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जना र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ र १ का २/२ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, कैलालीकै लम्किचुहा नगरपालिका-१०, बर्दगोरीया गाउँपालिका-२, जानकी गाउँपालिका-३ का एक/एक जनामा कोरोना संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए।

धनगढीमा आज कोरोना संक्रमण पुष्टि भएका कसैको पनि बाह्य ट्राभल हिस्ट्री छैन। सूचना अधिकारी श्रेष्ठले वडा नम्बर ५ का चार महिला र पाँच पुरुष गरी नौ जनामा संक्रमण भएको बताए।

जसमध्ये ८ जना यसअघि कोरोना संक्रमण पुष्टि भएका सेती अस्पतालका एम्बुलेन्स चालकको सम्पर्कमा आएका थिए। एम्बुलेन्स चालकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भएको हो। वडा नम्बर ५ कै अर्का संक्रमित भने कानुन व्यवसायी हुन्।

आज वडा नम्बर ३ का नौ महिनाकी शिशु र २५ वर्षीय युवकमा संक्रमण पुष्टि भएको छ। यसअघि धनगढीको बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएकोमा आज उनकी नौ महिनाकी छोरीमा पनि संक्रमण देखिएको हो।

यस्तै, आज नै वडा नम्बर १ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। दुवै पुरुष भने जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हुन्। योसँगै धनगढीमा हालसम्म ७६ जनाको ट्राभल हिस्ट्री नदेखिएको धनगढी उप-महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

त्यसैगरी, धनगढीमै गरिएको परीक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का एक जना र कञ्चनपुरकै बेदकोट नगरपालिकाका एक जनामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६ सय ९३ जनाको परीक्षण गरिएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ५ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार डोटीको आर्दश गाउँपालिका-३ का २ जना, अछामको मंगलसेन नगरपालिका-१ का ३ जना, मंगलसेनकै वडा नम्बर ४ र ८ का एकरएक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell